ध्रुवतारा माविमा ऐतिहासिक शैक्षिक प्रदर्शनी सम्पन्न
झापा ८ फागुन/झापाको शिवसताक्षी नगरपालिका दुधे स्थित ध्रुवतारा माध्यमिक विद्यालयले विद्यार्थीको व्यावहारिक सिकाइलाई उजागर गर्ने उद्देश्यले ऐतिहासिक प्रथम शैक्षिक प्रदर्शनीको आयोजना गरेको छ।
विद्यालय प्राङ्गणमा आयोजित कक्षा १ देखि १०सम्मका विद्यार्थीले सहभागिता जनाएको प्रदर्शनीमा विद्यार्थीले कक्षा कोठामा सिकेका ज्ञानलाई परियोजना,मोडल,चार्ट तथा विभिन्न सिर्जनात्मक सामग्रीमार्फत प्रस्तुत गरेका थिए।प्रदर्शनीमा शिक्षा,राजनीतिज्ञ,अभिभावक,पत्रकार, प्रहरी,कर्मचारी र समाजसेवाका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। 
प्रदर्शनीसँगै विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमले समारोहलाई उत्सवमय बनाएको थियो। जसमा विषयगत रूपमा नेपाली,अंग्रेजी, विज्ञान तथा प्रविधि,गणित र सामाजिक, स्वास्थ्य तथा शारीरिक शिक्षा एवम् सिर्जनात्मक कला विषयको व्यावहारिक अध्ययन अध्यापनका लागि विशेष उपयोगी हुने सामग्री राखिएको थियो।
आधारभूत तहका विद्यार्थीलाई गीत,नृत्य र खेलकुदको माध्यमबाट पढाउने गरिन्छ।गीत,सङ्गित र खेल खेलाएर पढाउँदा साना बालबालिका पढाइप्रति उत्साहित हुने गरेका छन्। शिक्षक,शिक्षिका र विद्यार्थीसँगै नाचगान र खेलेर पठनपाठन गराउँदा वातावरण रमाइलो र प्रभावकारी हुने गरेको ध्रुवतारा माध्यमिक विद्यालयलका गुरुआमाहरुको भनाइ छ। 
शिक्षक,विद्यार्थी र अभिभावकहरूको अन्तर्निहित प्रतिभा पहिचान,सिकाई आदानप्रदान र प्रचारप्रसार गर्ने उद्देश्यले शैक्षिक प्रदर्शनी मेलाको आयोजना गरिएको ध्रुवतारा माध्यमिक विद्यालयलका प्रधानाध्यापक डम्बर खड्काले जानकारी दिनुभयो।
विद्यार्थीहरूले विभिन्न खानाका खाद्य परिकारहरू, नेपाली लोक बाजागाजाहरूमा प्रयोग हुने लोक अर्केष्ट्रा र जातजातिका भेषभुषा समेत प्रदर्शनी गरिएको थियो।
शैक्षिक प्रदर्शनी कार्यक्रममा शिवसताक्षी नगर प्रमुख मेघाहाङ्ग थोप्रा,शिक्षाविद् वेगेन्द्र सुब्बा,क्याम्ब्रिज सेकेन्डरी स्कुलका प्रअ तथा शिवसताक्षी प्याब्सन अध्यक्ष रामप्रसाद सुहाङ,धरमपुर प्रज्ञा पाठशालाका प्रअ चन्द्रमकुमार मादेम्बा,किरात याक्थुङ चुम्लुङ नगर अध्यक्ष वीरबल जवेगु लगायतको उपस्थिति रहेको थियोे ।
एक दिवसीय शैक्षिक प्रदर्शनीमा करिव ५००० भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गरेका थिए ।