चार अमर प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’प्रदान गरिने
झापा १२ फागुन /नइ एकेडेमीले चार जना अमर प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।
अमर प्राज्ञहरू महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, प्रा.शिवगोपाल रिसाल, प्रा.डा.चूडामणि बन्धु र प्रा.डा.दयाराम श्रेष्ठलाई जनही ५० हजार रुपैयाँ राशिसहित ‘नइ प्रज्ञा पुरस्कार’बाट विभूषित गरिने भएको हो।
नइ एकेडेमीकी कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
त्रिभुवन विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान र सिर्जनाका माध्यमबाट नेपाली भाषासाहित्यको श्रीवृद्धिमा ऐतिहासिक एवम् कालजयी योगदानका लागि उनीहरूलाई सो पुरस्कार समर्पण गर्न लागिएको एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए।
एकेडेमीका अनुसार नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको उचाइ अभिवृद्धिमा समेत उनीहरूको विशिष्ट भूमिका छ। महासमालोक प्रा.त्रिपाठीको प्राज्ञिक नेतृत्वमा नइ एकेडेमीले २०८२ साल चैत २७,२८ र २९ गते नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन गर्ने भएको छ। यी पुरस्कार सोही अवसरमा समर्पण गरिनेछन्।