बिन्दु’को सम्पादकमा भाषाविद् तथा साहित्यकार डा. खगेन शर्मा

दिलिप घिमिरे · असोज २४, २०८३ १०:५५ AM
Cover Image for News

झापा २४असोज /आसामबाट  प्रकाशित त्रैमासिक नेपाली पत्रिका ‘बिन्दु’को सम्पादकमा साहित्यकार डा. खगेन शर्मालाई  जिम्मेवारी दिइएको छ।

के.बी. नेपालीको निवासमा इन्द्रेणी प्रकाशनको आयोजनामा स्रष्टासँग भलाकुसारी कार्यक्रममा यो ऐतिहासिक जिम्मेवारी  विगत २ अक्टोबर २०२६ का दिन हस्तान्तरण कार्य सम्पन्न भएको हो।
के.बी. नेपालीद्वारा सन १९६१ देखि लामडिङ, आसामबाट निरन्तर प्रकाशित हुँदै आएको त्रैमासिक नेपाली पत्रिका ‘बिन्दु’ले १५० अङ्कको गौरवपूर्ण यात्रा पूरा गरेको छ। 

यो जिम्मेवारी ग्रहण गर्दै शर्माले भने ´यो केवल अङ्कहरूको गणना होइन—दशकौँदेखि नेपाली भाषा, साहित्य, संस्कृति र सामुदायिक चेतनालाई जोड्दै आएको एउटा जीवित इतिहास हो। आजदेखि १५१औँ अङ्कको प्रकाशनसँगै यसको जिम्मेवारी मेरो काँधमा आएको छ।
यो केवल पत्रिकाको हस्तान्तरण होइन—एक पुस्ताले आफ्नो अनुभव, साधना, स्मृति र विश्वास अर्को पुस्तालाई सुम्पिएको क्षण हो। ‘बिन्दु’ले अनेकौँ लेखक, पाठक र साहित्यप्रेमी पुस्तालाई जोड्दै आएको छ; यसका प्रत्येक पृष्ठमा समयको पदचाप, समुदायको आवाज र नेपाली पहिचानको उज्यालो सुरक्षित छ। आज त्यो विरासत मेरो हातमा आउँदा मनमा एउटै प्रश्न गुञ्जियो—‘के म यो विश्वासको योग्य बन्न सकुँला?’ के.बी. नेपालीको यो विश्वास मेरा लागि सम्मानसँगै गहिरो आत्मीयता र ठुलो व्यक्तिगत जिम्मेवारी पनि हो।´

कार्यक्रममा रुद्र बराल, ढाकाराम काफ्ले, मोहन सुवेदी, कृष्ण नील कार्की, अर्जुन निरौला, नैना अधिकारी, पुरुषोत्तम दाहाल, रमाकाम्त पौड्याल, अनुपा शर्मा, अस्मिता भरद्वाज, अमित अधिकारी, ज्योति, होमागाईँ, कृष्ण भट्टराई, गणेश छेत्री लगायत के.बी. नेपालीज्यूको परिवार, पुष्पधर शर्मा, सभापति, साहित्य विभाग,असम गोर्खा सम्मेलन, स्थानीय असम गोर्खा सम्मेलन स्थानीय शाखाका कार्यकर्ताहरू तथा सिलगढीबाट आउनुभएको डा. सुकराज दिवालीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियोे । 

के.बी. नेपालीले साहित्यिक पत्रकारिताको निरन्तरता कायम राख्न र ‘बिन्दु’ पत्रिकालाई अझ प्रभावकारी रूपमा अघि बढाउन साहित्यकार डा.खगेन शर्मालाई जिम्मेवारी सुम्पिएको बताएका छन्। नेपालीले नयाँ नेतृत्वले पत्रिकाको प्रकाशनलाई निरन्तरता दिँदै नेपाली भाषा, साहित्य र साहित्यिक पत्रकारिताको उत्थानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छन्। साथै, यस जिम्मेवारी हस्तान्तरणलाई उनले केवल प्रकाशनको नेतृत्व परिवर्तनका रूपमा नभई नेपाली साहित्यिक सेवाको निरन्तरता र पुस्तान्तरणका रूपमा लिएको देखिन्छ। 

शर्मासँगको जानकारीअनुसार ऐतिहासिक ‘बिन्दु’ पत्रिकाको १५१औँ अङ्क १० डिसेम्बर २०२६ मा प्रकाशन गरी बजारमा ल्याउने तयारी गर्नुभएको छ। नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा जातीय जीवनसम्बन्धी विविध धाराहरू सुरु गर्दै लेख–रचनाका लागि देश–विदेशका स्रष्टाहरूलाई आह्वान गर्ने उहाँको योजना छ। पत्रिकाको निरन्तर प्रकाशन, आर्थिक सहयोग तथा प्रकाशन र वितरणमा सहकार्यका लागि व्यक्ति, संस्था र शुभचिन्तकहरूलाई उहाँले अपिल गर्नुभएको छ। लेख–रचना तथा सुझाव [email protected] मा पठाउन सकिनेछ।

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।