भुवनेश्वरी शोककाव्यको काव्यात्मक समीक्षा
साहित्यकार स्पदनविनोदको शोककव्य भुवनेश्वरीको स्रष्टा बिन्दु दहाल मूकदर्शक द्वारा गरिएको काव्यात्मक समीक्षा
माया प्रेम गरेर पुस्तक दियौ सम्झेर आफ्नै भनी
लेख्यौ यो भुवनेश्वरी हृदयले पढ्दै छु मात्रा गनी
यो हो काव्य दुखान्तको विरहको अत्यासको चोटको
आमाको ममता पवित्र दिलको यो प्रेमको बोट हो ।१
तिम्री हुन् हजुरी तथापि जहिले आमा भनी सम्झियौ
आमाकै मनभित्र हर्दम पसी सर्वोच्च सेवा दियौ
पोख्यौ प्रेम सधैँ अजस्र दिलको आदर्श छोरा बनी
हुन्थ्यौ देश सुदूरमा तर तिमी बन्थ्यौ मुमाको धनी ।२
भोकी छिन् कि मुमा कि प्यास उनमा बढ्दै छ चर्को अझै
गर्थ्यौ नित्य विचार पुत्रमनले कर्तव्य सम्झी सधैँ
सानैदेखि हिँड्यौ मुमापछि तिमी पछ्याउँदैथ्यौ खुद
यो आसे छ भनी सुटुक्क जननी दिन्थिन् मिठाई दुध ।३
आमा छोड्नु परे हुरुक्क जहिले हुन्थ्यौ दुखी भावुक
आमासाथ हुँदा सबै प्रकृतिका भुल्थ्यौ भएका दुख
आमाभक्त थियौ र जन्मजननी को हुन् बुझ्यौ मर्मले
राम्रो सभ्य सुपुत्र सज्जन तिमी हौ भन्छ त्यो कर्मले ।४
आमा भाष्कर हुन् प्रदीप घरकी पार्छिन् उज्यालो बुझ्यौ
आमा मातृधरा सधैँ हृदयले सम्झी रमाई पुज्यौ
आमा छोड्नु परे जली विरहले पार्थ्यौ अमिल्चो मन
आमाले पनि पार्दथिन् दिल सधैँ कालोअँध्यारो तन ।५
बिरामी आमा ती घिटघिट थिइन् हस्पिटलमा
तिमी जानै पर्ने परमुलुकमा कर्मथलमा
कथाजस्तो पीडा सहनु कसरी हो मुटु जले
अहो झन्डै झन्डै प्रिय कवि खुदै स्पन्दन ढले ।६
उनी आए फर्की झटपट विमानस्थलतिर
त्यहीँ आइन् आमा धुरुधुरु रुँदै हा कति पिर
मनाइन् सारा डाक्टर सुत गयो भेट्छु म भनी
उठी आइन् आमा करबिच लिई स्लाइन पनि ।७
रोयौ फेरि विनोद धर्धर गरी देखेर आमा त्यहाँ
यस्तो मार्मिक दृश्यले सब जना आश्चर्य माने जहाँ
आशीर्वाद दिइन् रुँदै विरहले सन्नाट छायो जतै
साँच्चै भावुक अम्बिका पनि बनिन् हालिन् अँगालो रुँदै।८
हेर्दा हेर्दै उड्यो प्लेन अस्पताल मुमा फिरिन्
आईसियु थियो कोठा रुँदैरुँदै त्यहीँ छिरिन् ।९
केही दिन बसी फेरि घरतर्फ गइन् उनी
विनोद अम्बिका टाढा पुगे उस्तै धरा घुमी ।१०
केही काल बित्यो आमा धर्ती छोडी गइन् पर
फेरि विनोद अम्बिका हुन्छन् आखिर धर्धर ।११
आमाको ममता अन्त्य भयो सधैँ सधैँभरि
निष्ठुरी सृष्टिको खेल चलेको छ यसैगरी ।१२
यो काव्य राम्ररी पढ्दा हियो खुबै रसाउँछ
वियोगको कथा पढ्दा अश्रुधारा खसाउँछ ।१३
कहिले मृत्तिकामाथि पोख्दछ्न् ममता यिनी
कहिले पुत्रकर्तव्य सुझाउँछन् मुमा चिनी ।१४
जिन्दगी कसरी चल्छ काव्यले नै बताउँछ
शब्द शब्द गढेदेखि सत्कार्यमा खटाउँछ ।१५
उकाली छ कतै यात्रा ओराली पनि झर्दछ
हाँस्ने रुने कहाँ कस्तो जिन्दगी खुद गर्दछ ।१६
पुत्रको कर्तव्य पूरा गरे विनोदले यहाँ
यस्ता परिश्रमी पुत्र पाइँदैनन् जहाँतहाँ ।१७
अनुप्रास अलङ्कार उपमा अनि रूपक
कताकति छ वृत्यानु श्लेष श्रुत्यानु निर्धक ।१८
भाषा प्राञ्जल देखिन्छ शब्दशैली मनोहर
अर्थहीन कुनै शब्द छैनन् प्रयोग दुस्तर ।१९
वाक्य वाक्य मिलेका छन् गहिरो भाव बोक्दछन्
वाक्य र शब्दमा स्रष्टा के हो मातृत्व खोज्दछन् ।२०
वातावरण पीडाको शोककाव्य भएपछि
कसले मन थाम्ला र आमा स्वर्ग गएपछि ।२१
परिवेश छ जीवन्त भरिएको छ मर्मले
मानिस पूज्य बन्छन् ती सुकर्मका स्वकर्मले ।२२
नौवटा खण्डमा काव्य हिँडेको छ सरासर
भावविह्वल पार्ने छ पढ्नेलाई बरोबर ।२३
आमा आमा भनी आमा कराउँछ्न् विनोद ती
हरेक खण्डमा आफैँ हराउँछन् विनोद ती ।२४
तिम्रा पुस्तक छन् अन्य पठाऊ सब पढ्दछु
भलो होस् जय होस् तिम्रो मनमा नित्य गड्दछु ।२५