बबरसिंह-देवकुमारी थापा गुठीबाट कवि ज्ञान उदास र निर्देशक सङ्गिता श्रेष्ठ पुरस्कृत
झापा ७ बैशाख/बबरसिंह-देवकुमारी थापा सेवा गुठी विराटनगरले साहित्य र कला क्षेत्रका दुई स्रष्टालाई शनिबार पुरस्कार तथा सम्मान समर्पण गरेको छ।
श्रीकृष्ण होटेलमा आयोजित कार्यक्रम गुठीका अध्यक्ष कविराज न्यौपानेको अध्यक्षता र प्राध्यापक डाक्टर रामबहादुर थापाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो।
प्रत्येक वर्ष प्रदान गरिंदै आएको यो सम्मान तथा पुरस्कार यस पटक `देवकुमारी थापा स्मृति सम्मान-२०८२´ बाट कवि ज्ञान उदास सम्मानित भएका हुन्।छ दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि उदासलाई पुरस्कार तथा सम्मान समर्पण गरिएको हो।उनका आधा दर्जन भन्दा बढी कृति प्रकाशित छ्न् ।
त्यस्तै दुई दशकभन्दा बढी समयदेखि चलचित्र र पत्रकारिता क्षेत्रमा दिएको योगदानका लागि सन्चारकर्मी तथा चलचित्र निर्देशक सङ्गिता श्रेष्ठलाई २०८२ सालको बबरसिंह थापा स्मृति सम्मान तथा पुरस्कार समर्पण गरिएको हो।दुई पुरस्कार तथा सम्मानको राशि क्रमश:एकाउन्न हजार र पच्चिस हजार रहेको छ ।
कार्यक्रममा पुरष्कृत स्रष्टा सङ्गिता श्रेष्ठको परिचय गुठीका सचिव दिनेश श्रेष्ठले र वरिष्ठ कथाकार देवकुमारी थापा र सम्मानित कवि ज्ञान उदासको परिचय कवि तथा समालोचक प्रमोद प्रधानले प्रस्तुत गरेका थिए।कार्यक्रममा साहित्यकार बलराम पोखरेल र खेम नेपालीले पुरस्कृत स्रष्टालाई शुभकामना व्यक्त गरे। 
साहित्य,कला र संस्कृति क्षेत्रका स्रष्टाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सञ्चालन कवि दिनेश सुवेदीले गरेका थिए।