अर्को उल्लेख्य कृति : 'भद्रपुरको प्रतिबिम्ब'
बाँझिन लागेको झापाभूमिलाई केही जाँगरिला कलमीहरूले पुनः ऊर्बर तुल्याउन थालेका सुखद आभास हुन थालेको छ । साहित्य लेखनका विभिन्न बिधा-फाँटमा गत एक वर्षयता केही पठनीय र समय-अपेक्षित सन्देशप्रदायी पुस्तकहरू प्रकाशमा आएका छन् । तीमध्ये निरोज कट्टेलको '२०२८ : झापा विद्रोहको अन्तर्कथा', देशको भावी कर्णधार किशोर-किशोरी र युवा-युवतीका 'प्राकृत नेपाली सुमति'-मा डढेलो लगाइरहेको 'लागू पदार्थ'-को विनाशकारी व्यसन बिरुद्ध चेतना नेपाल नामक संस्था नै स्थापित गरी अथक अभियान चलाइरहनु भएका अभियन्ता इन्द्रप्रसाद ओलीको 'दिव्य दृष्टि' तथा श्रमशील पत्रकार एवम् सूचना-सेवा (सञ्चार)-का सारभूत सिद्धान्तका अनुपूरक विषय उठान र विश्लेषणमा केही दशकदेखि उदित तारामणि सापकोटाको 'आमसञ्चार र समावेशी पत्रकारिता' जस्ता झापाली कलमकर्मीका पुस्तकहरू २०८०-'८१ सालका उल्लेख्य झापाली पुस्तकाकार उत्सर्जन हुन् । र, अहिले फेरि, सानो भए पनि, अख्तियार गरिएको विषयका हकमा लगभग पूर्ण पुस्तक (complete book) मान्न सकिने पुस्तक, निकै ठूलो परिश्रम गरेर, खेमराज दाहालले 'भद्रपुरकाे प्रतिविम्ब' नामलाई 'तथ्याङ्कमा भद्रपुर, झापा र नेपाल देख्न सकिने उपयाेगी पुस्तक'-को दोसल्ला ओडाएर प्रकाशमा ल्याउनु भएको छ । पुस्तकले अँगालेकाे विषयका हकमा यो पुस्तक पनि यस अवधिको उत्कृष्ट र यस किसिमको पुस्तक तयार गर्ने जाँगर, दाहिने-देब्रे नहेरी, उच्च प्रशंस्य त हुन्छ नै, मात्र होइन, हुनै पर्दछ ।
यस अघि पनि, यसै समयावधि (२०८०- '८१ साल)-मा दाहालका दुई कृति यसै विधा-परिधि अँगालेर प्रकाशमा आएका छन् - 'झापाको प्रतिविम्ब' र 'गौरादहको प्रतिविम्ब' । यी दुईमध्ये 'झापाको प्रतिविम्ब' चाहिँ लामो र ठूलो २० पृष्ठको भित्तेपात्रो (calendar)-को रूपमा छापिएको छ, जो झापालाई जान्न चाहनेका लागि सायद पूर्ण-सम्पूर्ण (complete whole) जानकारीहरूले लटरम्मै र झरिलो कृति हो भनेर नमानिनु न्याय हुदैन । 'गौरादहको प्रतिविम्ब' चाहिँ ठीक त्यस्तै छ जस्तो 'भद्रपुरको प्रतिविम्ब' छ । यी तीनवटै कृतिमा एकै प्रकारले 'प्रतिबिम्ब'-को हिज्जे (spelling) पनि 'प्रतिविम्ब'-मा अन्यायपूर्वक थेचारिएका छन् । लिखित कृतिको नाम पनि 'संज्ञा ' नै त हो नि भनेर नबुझिदिने हो भने 'प्रतिविम्ब' शब्दभित्र 'वि'-को प्रयाेग गलत देखिन्छ । तर, कृतिकाे समग्र स्वरूपलाई त्यति जाबो गल्तीले धमिल्याउँदैन, धमिल्याउन दिनु हुँदैन ।
अतः यी तीनवटै कृतिलाई मिसमास गरेर गाँस बनाउने हो भने यी तीनवटै कृतिलाई 'खोज-पत्रकारिता' (investigative journalism)-को अब्बल उत्पादन मान्ने रहर हरहर हुन्छ । खेमराज दाहालका यी तीनवटा कृतिले मात्र होइन - निरोज कट्टेल, इन्द्रप्रसाद ओली र तारामणि सापकोटाका, माथि उल्लिखित, कृतिहरूले पनि खोज-पत्रकारिताको घरमा न्यानो आतिथ्य पाउने हक राख्छन् भन्ने याे टिप्पणीकारको अदम्य दाबी छ ।
भद्रपुरको साँच्चै 'प्रतिबिम्ब'-को रूपमा प्रकाशमा आएको पुस्तक 'भद्रपुरको प्रतिविम्ब'-ले भद्रपुरको भूगोलभित्रको जानकारी के चाहिँ दिन बाँकी राखेको छ र ? इण्डियन जनसंख्या अतिक्रमणको ठेलमठेलले वर्तमानलाई भन्दा भावी चिन्तालाई क्रमिकरूपमा अव्यक्त रूपमा अझ-अझ आक्रान्त बनाउँदै लैजाने क्रममा भद्रपुरको सो 'वर्णशंकरे भीड'-भित्रका जतिजनाले यो पुस्तक पढ्लान् त्यतिलाई भद्रपुरको भूगोलभित्र के-के कहाँ-कहाँ छन् र के-कस्ता स्थितिमा छन् इत्यादि साङ्गोपाङ्गो जान्न कतै अल्मलिनु पर्दैन । आजभन्दा १०७ वर्षअघि (वि.सं.१९७४)-सम्म 'धुपगाछी' नामले चिनिने बेलादेखि आजको अवस्थासम्मको भद्रपुरको इतिवृत्तान्त यस पुस्तकमा पढेर जान्न पाइन्छ । यसका साथै, यो ६२+९=७१ पृष्ठको २१×१४ से. मि. आकारको पुस्तकमा भद्रपुरलाई जीवन्त देख्न सकिन्छ । र थप, भद्रपुर बाहिरका अत्यावश्यक जानकारीहरू समेत समाविष्ट छन् यसमा ।
सामाजिक सञ्जालको बढ्दो प्रभावकारिता किशोर, युवा र वयस्कहरूका लागि सहज ग्रह्य भएका कारण पनि र यसले सबै उमेर समूहका लागि आ-आफ्नै किसिमले 'फेसन'-को आकर्षक रूप लिँदै गएका कारण पनि 'पुस्तक पढ्ने चलन' क्रमिकरूपमा घट्तै गएको छ । अर्थात् , यसरी पनि पुस्तक पढ्नेको संख्या घट्तो अवस्थामा छ र अक्षर-खेतीमा मनोवैज्ञानिक खडेरी पर्दै गइरहेको आभास हुँदैछ - जसरी 'आफ्नो बारीको' प्राङ्गारिक होइन 'पारि'-को प्रदुषित साग-सब्जी खाने चलन हाम्रा चूलाहरूमा पसिसकेको छ । यद्यपि, कलमीहरू आफ्ना कृति जीवनोपयोगी, सरस र आकर्षक बनाउन तल्लिन र तदारुक पनि छँदैछन् । यो साँच्चै धितमर्दो विषय हो मात्र होइन मौलिक नेपाली नश्लका झापालीले गौरव गर्नुपर्ने विषय नै हो ।
कलमका जाँगरिला उद्यमी खेमराज दाहाल र यी कृतिका सम्पादक कवयित्री खगिन्द्रा खुशी लगायत प्रकाशकहरू समेतमा आभ्यन्तरिक निश्शेष धन्यवाद तथा उहाँहरूको यो र यस्तो जाँगर अजम्मरी रहोस् भन्ने स्निग्ध शुभकामना !
नकुल काजी
प्राज्ञ टोल, भद्रपुर (झापा)
कुशे ओैंसी, २०८१