आवाज
आवाज
✍️मञ्जुला तामङ सुब्बा
लिङ्ग परिक्षणपछि
आमाको गर्भमा भ्रुणहत्याको डर
चाहदैँनन् छोरीले धरती टेकोस्
चाहना हुन्छ,
प्रत्येक घरमा आमा होस्
माता सरस्वती लक्ष्मी दुर्गा पुज्छन् यो देशमा।
आगो एसिड दाउजो बलात्कार छोरीको भागमा।
सुनसान बाटो र जङ्गलको के दोष
सुनिदिन्छ उसले त्यो ध्वनी त्यो चित्कार
समेटेर आफ्नो छात्ती भरि भरि
दुर्भाग्य दुर्घटनाहरूको साक्षी बनी।
दानव र देवको भिन्नता छुटाओस कसरी?
कलिलो मष्तिष्क र अज्ञानतामा
*मानव स्पर्श* र * दानव स्पर्शहरू*
जब
जब दगुर्छ अविकसित
अबोध शरीरका अङ्गहरू भएर
रजस्वला अघि नै रक्त बहन्छ आँशुसङ्गै
अनौठौ दुखाईहरूमा।
लाचार आमाको आँचलमा
अस्पताल उपचार अनेकौ उब्जन्छ
डरहरू कोमल मनभरि
आमाको अनुनय विनय, बाध्यता ममता
भित्रका हिक्काहरू••••
दफनाइन्छ बालिका बलात्कारको अध्यायहरू
बड़ाउँदै सामन्ती जुँगाको तावहरू।
कहिले जलाइयो सतीप्रथाको चितामा
गगनभेदी ढोल र नगड़ाले दबाइयो
जीउँदो मुर्दाको बाँच्न चाहने क्रन्दनहरू।
दाइजोको बलिमा पड्किन्छ स्टोभहरू
पङ्खा गह्रौ बन्दछ उसैको दुपट्टासङ्ग
बिष खुवाइन्छ
शरिरभरि विचित्र दागहरूअङ्कित छ
अनि आत्माहत्याको मोहोर लागाइन्छ।
मनचला आवाराहरूको मनपरी एसिड प्रहारले
अनुहारको भूगोलमा न्याय सुतिरहन्छ।
देशकै मनिषा
देशकै अभया
अनेकौ नारी
सामूहिक बलात्कारको शिकार हुँदछ
विरोधका आवाजहरू कालेण्डर बन्दछ।
दोष खोजिरहन्छ
गवाही उभाइ रहन्छ
फुल झै छोरी अकालमै खरानी बन्दछ।
सुरक्षा कहाँ छ, कुन ठाँउमा छ?
विश्वास कहाँ छ? को सित छ?
नर्वदाको छात्तीमा किन नारीले हाँसेर जलसमाधि लिन्छ?
वंश चाहनेहरू!
बर्बरताको रेखा नाधेर भ्रुण परिक्षण गर्नेहरू!
छोरीले अब
प्रत्येक आँगनमा कुश्तीको आखाड़ा निर्माण गर्न गरी
झाँसीवाली हिम्मत बटुल्दै
स्वयंलाई न्यायाधीश सरह सक्षम बनाएर
बलात्कारीलाई उग्रभिड़मा सुम्पिनु पर्छ
अपराधिको मनमा त्रास उब्जाउनु पर्छ
असहाय चित्कारको साटो हुँकार भर्दै
अलकन्दा , टिस्टा, उर्ले जसरी
विस्फोटित अग्नीज्वाला लाभा बहे उसरी
नारी महाशक्तिहरू
समाज सचेतकहरू
नारी भोग विलासिताको बिरोधमा
स्वच्छ बिचारधाराको मुल फुटाउन
प्रत्येक नारीको एउटै आवाज हुनुपर्दछ।
प्रत्येक सभ्य मानवको एउटै आवाज हुनुपर्दछ।
सोनादह,दार्जिलिङ