अनलाइन मिडिया तथा फित्कौली डटकमद्वारा होम सुवेदी सहित चार स्रष्टा सम्मानित हुने
२२ कात्तिक, झापा । फित्कौली अनलाइन मिडिया तथा फित्कौली डटकमले साहित्यकार तथा हास्यव्यङ्ग्यकार होम सुवेदी सहित चार स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । झापामा बसेर भाषा तथा साहित्यको निरन्तर साधना गरिरहनु भएका सुवेदीलाई यस वर्षको फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान प्रदान गरिने भएको हो ।
नेपाली हास्यव्यङ्ग्य सम्वर्द्धनका निम्ति क्रियाशील रहँदै आएको फित्कौली अनलाइन मिडिया तथा फित्कौली डटकमले हरेक वर्ष प्रदान गर्दै आएको यी पाँच पुरस्कार यसवर्ष
० फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान २०८३ का लागि : हास्यव्यङ्ग्यकार होम सुवेदी (झापा)
० गोविन्द–विजया
फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कारका लागि : राजकुमार लामिछाने (हेटौडा)
० फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कारका लागि : रामप्रसाद पन्थी (गुल्मी)
० फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कारका लागि : राजेन्द्रप्रसाद अधिकारी (काठमाडौं)
० मुकुन्द–मुना फित्कौली राष्ट्रिय बुुढ्यौली साहित्य पुरस्कारका लागि : रमेशमोहन अधिकारी (मकवानपुर)
लाई प्रदान गर्ने भएको हो ।
हास्यव्यङ्ग्यकार होम सुवेदीलाई नगद रु. २०,१०५।–, सम्मानपत्र र दोसल्ला अर्पण गरिने छ । पुरस्कृत हास्यव्यङ्ग्यकार व्यक्तित्वहरू राजकुमार लामिछाने, रामप्रसाद पन्थी, राजेन्द्रप्रसाद अधिकारी र रमेशमोहन अधिकारीलाई जनही नगद रु १५,१०५।– र सम्मानपत्र समर्पण गरिने छ ।
फित्कौली अनलाइन मिडियामार्फत स्थापित र व्यवस्थित यी सम्मान र पुरस्कारद्वारा यस वर्ष सम्मानित एवम् पुरस्कृत व्यक्तित्व चयनका लागि चट्याङ मास्टरको संयोजकत्वमा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे एवम् प्रा.डा. मुकेशकुमार चालिसे रहनुभएको छनोट समिति गठन गरिएको थियो ।
समितिको २०८३ कार्तिक २० गते बसेको अन्तिम बैठकले उपर्युक्त नामहरू सर्वसम्मत रुपमा चयन गरी सिफारिसको निर्णय गरेको थियो । सिफारिस प्राप्त तिनै नामलाई अनुमोदन गरी फित्कौली अनलाइन मिडियाले सम्मानित तथा पुरस्कृत गर्ने निर्णय गरेको जनाइएको छ ।
सम्मान र पुरस्कार आगामि मङ्सिर ५ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा आयोजना गरिने विशेष समारोहमा समर्पण गरिने छ ।