‘याङरुप’ उपन्यास : ग्रामीण जीवन संघर्षको सामाजिक उत्खनन्
‘याङरुप’ उपन्यास : ग्रामीण जीवन संघर्षको सामाजिक उत्खनन्
• ज्योतिकिरण
नेपाली साहित्यमा थुप्रै सामाजिक यथार्थवादी उपन्यासहरु लेखिएका छन् । पछिल्लो समय उपन्यासकार ज्ञानु बूढाथोकीद्वारा लिखित उपन्यास 'याङ् रूप' सिद्धान्ततनै सामाजिक यथार्थवादी धाराबाट प्रेरित हुनुले आजको सामाजिक जीवनकालागि हिजोको सामाजिक यथर्थलाई बुझाउने विशिष्ट कडीको रूपमा देखा परेको छ। लेखनको मूल विषयवस्तु समुदायको जीवनशैली, परम्परा, संस्कृति र त्यहाँको सामाजिक-आर्थिक अवस्थामा केन्द्रित छ।
यसमा विशेषगरी 'याङरूप' (जसको अर्थ लिम्बु भाषामा 'गाउँ' वा 'बस्ती' हुन्छ) भन्ने पूर्वीनेपालको पहाडी भूगोललाई मुख्य परिवेश बनाइएको छ।
गाउँले जीवनका साना ठुला सुख-दुःख र सरल तथा जटिल पक्षहरूलाई यथार्थ ढङ्गले प्रस्तुत गरिएको छ। समाजको परम्परागत मूल्यमान्यता र आधुनिकीकरणको द्वन्द्व, गरिबी, अशिक्षा र चेतनाको अभावमा अन्धविश्वासले निम्त्याएका समस्याहरूलाई कलात्मक रूपमा उठाइएको छ। धामी झाँक्री, देखि चाडपर्व, रीतिरिवाज र उनीहरूको विशिष्ट पहिचानलाई कथामा समेटिएको छ।
उपन्यासको विशेषता:
'याङरूप' उपन्यास ज्ञानु बुढाथोकीद्वारा लिखित एक सामाजिक तथा यथार्थवादी उपन्यास हो। यस उपन्यासमा विशेषगरी पूर्वी नेपालको पहाडमा अवस्थित समुदायको सामाजिक, सांस्कृतिक र आर्थिक जीवनलाई नजिकबाट चित्रण गरिएको पाइन्छ। उपन्यास भित्र समाजमा विद्यमान चालु घटना, रीतिरिवाज, परम्परा, संस्कार, रहनसहन, आचरण र व्यवहारको इमान्दारीपूर्वक यथातथ्य वर्णन गरिएको छ।
सामाजिक यथार्थवादी धाराको दृष्टिकोणबाट सामाजिक जीवनको जटिलतालाई प्रस्तुत गरिएको यो उपन्यासमा सामाजिक समस्याको प्रमुखता गरीबी, शोषण, दमन, लैङ्गिक विभेद, जातीय भेदभाव, अन्धविश्वास, विकृति, नैतिक पतन जस्ता समसामयिक सामाजिक समस्याहरू मुख्य विषयवस्तु बनेर आएका छन् । जटिल सामाजिक समस्याहरूको यथार्थ प्रस्तुति प्रदर्शन गर्नु यस उपन्यासको प्रमुख उद्देश्य रहेको देखिन्छ।
वर्गीय र प्रतिनिधि पात्रहरूको प्रयोग:
उपन्यासका पात्रहरूले निश्चित सामाजिक वर्ग समूह र मनोवृत्तिको प्रतिनिधित्व गरेका छन् । पूर्णिमा, माल्दाइ,सदसे काका, होक्सिरी बाबै, सचिव भिनाजु , जेठाबा, बास्कोटा वडाउ,कान्छाउ, साइँली, मैया, भद्रिका ,कान्छी, राममायाँ,लाहुरे काका, प्रधानपञ्च, यामे, बाँझोघरे सुब्बा, चन्द्रमाया, जस्ता सबै पात्रहरू स्वतन्त्र, सक्रिय र सजीव भई समाजसँगको सङ्घर्षमा क्रियाशील देखिन्छन्। पात्रहरूको मानसिक, सामाजिक र आर्थिक अवस्था बिचको अन्तरसम्बन्ध अत्यन्त पारदर्शी देखिन्छ। सामाजिक कुरीति, विकृति, विसङ्गति र शोषणको संकटलाई समाजबाट निर्मूल गर्नुपर्ने चाहना उपन्यासमा अभिव्यञ्जित भएको छ ।
उपन्यासका पात्रहरू जीवन्त र स्वाभाविक छन्। उनीहरूले तत्कालीन समाजको प्रतिनिधित्व गर्छन्। जीवन व्यवहारका संघर्ष र कठिनाइहरुसँग अन्तर्घुलनमा रहेका पात्रका चरित्रहरूको मनोविज्ञान र उनीहरूका आन्तरिक सङ्घर्ष, गरिबी र ग्रामीण समाजको सम्बन्धलाई गहिराइमा देखाइएको छ । जसले गर्दा पाठकहरू उनीहरूसँग भावनात्मक रूपमा जोडिन सक्छन्।
यथार्थपरक र सरल भाषा:
लेखकले सरल भाषा शैलीलाई प्रमुखताका साथ प्रयोग गरेका छन्, जसले कथालाई अझ विश्वसनीय र आञ्चलिक बनाएको छ। कथाको शैली यथार्थपरक छ, जसले नेपालको पूर्वी पहाडमा अवस्थित समाजको जनजीवन र रहनसहनको वास्तविक चित्र पाठकको सामुन्ने प्रस्तुत हुन सकेको छ । समाजको वास्तविक चित्रण गर्नका लागि सरल, सहज र बोधगम्य भाषाको प्रयोग हुनु र आम मानिसले दैनिक जीवनमा प्रयोग गर्ने चलनचल्तीका शब्दहरू र छोटा वाक्यहरू ले उपन्यासलाई बढी सम्प्रेषणीय बनाएको छ ।
भाषामा कृत्रिमता भन्दा स्वाभाविकता देखिन्छ भने । उपन्यासका पात्रहरूको वर्ग, लिङ्ग, भूगोल, शिक्षा र सामाजिक हैसियत अनुसार फरक-फरक भाषिक शैलीको प्रयोग भएको पाइन्छ ।
पात्र विशेषको भाषा औपचारिक र मानक छ भने वर्गीय पात्रको भाषामा अमानक क्षेत्रीय भाषिकाहरू र थेगोहरूको समेत प्रयोगले यथार्थता थपेको छ ।
पात्रहरूको संवादले उनीहरूको सामाजिक पृष्ठभूमिसँग मेल खाएको छ । भाषा शैली प्रत्यक्ष, स्पष्ट र विचार सम्प्रेषण गर्न सक्षम देखिएको छ।
विषय वस्तु:
विषयवस्तुका हिसाबले उपन्यासले अत्यन्तै विशिष्ट पृष्ठभूमि तयार गरेको छ। मुख्यत यो उपन्यासमाथि कुनै दिन शोध गर्न चाहने विद्यार्थीहरूका लागि यहाँ धेरै विषयहरू रोज्न सकिने अवस्था छ। ग्रामीण समाजमा एकल महिलाको अवस्था,बाल्य अवस्थामा नै अभिभावक गुमाएका बालबालिकाको स्थिति, गरिबी भित्रको सामाजिक सम्बन्ध,ग्रामीण जीवनले प्राप्त गर्ने सामाजिक अपनत्व वा समाजको वैदिक संस्कृती र धामी झाँक्री, जस्ता दर्जनौं शीर्षकका विषयहरु उठान गर्न र अध्ययन अनुसन्धानका सयौ प्रश्नहरू र शक्तिशाली तर्क वितर्कहरु प्रस्तुत गर्न सकिने अवस्था छ ।
सुझाव:
उपन्यासमा सामाजिक यथार्थ चित्रण गर्दा कलात्मकता र रोचकता गुम्ने खतराको जोखिममा परेको वास्तविकतालाई लेखकले स्वीकार्नु पर्ने देखिन्छ ।
अन्धविश्वासको शिकार भएको समाजमा पैदा हुने भाग्यवाद र भाग्यवादमा आकर्षित जीवनदृष्टिप्रति आवश्यक सुधार र प्रतिरोधको कमी हुँदा उपन्यासको मूल मर्म नै निसास्सिने समस्यालाई गहिरो बोध गर्नु पर्ने देखिएको छ। गरीबी, अभाव र विपन्नताले मात्र होइन, दमन, असमानता, विभेद, आशङ्का र पश्चात्तापजन्य मनोभावको विकृतिले समेत मानसिक विक्षिप्तताको अवस्थासम्म पुर्याउँछ।
उपन्यासमा पात्रको मानसिक समस्या र सामाजिक -आर्थिक अवस्थाको जटिल अन्तरसम्बन्धलाई सूक्ष्म रूपमा केलाउन सहज भए पनि त्यसको सैद्धान्तिक प्रष्टता र औचित्य स्थापित गर्नुपर्ने चुनौती देखिन्छ । सामाजिक उपन्यास समाजलाई बुझाउने र बदल्ने एक शक्तिशाली बौद्धिक हतियार हो, तर यसका लेखकले उपरोक्त विशेषताहरूलाई कलात्मक रूपमा प्रस्तुत गर्ने र समस्याहरूलाई वैचारिक प्रष्टताका साथ सम्बोधन गर्ने चुनौती स्वीकार गर्नु पर्ने देखिन्छ ।
निष्कर्ष:
'याङरूप' उपन्यासले पूर्वी नेपालको समाज र संस्कृतिलाई नेपाली साहित्यको मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ। यसले समुदायको पीडा, पहिचानको खोजी र अस्तित्वको सङ्घर्षलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ। केही पाठकलाई आञ्चलिक भाषा र संस्कृतिबारे विस्तृत ज्ञान नहुँदा बुझ्न केही कठिन हुन पनि सक्छ, यद्यपि यसले उपन्यासको मौलिकतालाई कायम राखेको छ।
समग्रमा, 'याङ् रूप' उपन्यास समाजको एउटा विशिष्ट सघर्ष र संस्कृतिको यथार्थपरक दस्ताबेज हो, जसले सामाजिक न्याय र जीवन सङ्घर्षका आयामहरुलाई सशक्त रूपमा उठाएको छ। प्रथम रुपमै यस्तो सशक्त उपन्यास मार्फत साहित्यिक उपस्थिति देखाउन सफल उपन्यासकार ज्ञानु बुढाथोकीलाई हार्दिक बधाई छ।