विवश पोखरेलका दस मुक्तक
विवश पोखरेलका दस मुक्तक
तिम्रो यादमा हराउनु पनि, एउटा लत भएको छ
सायद त्यसैले होला, यो मुटु सधैं आहत भएको छ
लाग्छ, मेरो सास हौ तिमी, धड्कन हौ जिन्दगीको
हरपल तिमीलाई सम्झिनु पनि,एउटा आदत भएको छ ।
टाटी ह्वाङ्गै छ , ढोकामा चुकुल लाएर के गर्नु
पानी नभएको खोलामा , पुल बनाएर के गर्नु
व्यर्थै समय, श्रम र पसिनाको विनास मात्र हो
बाँदरको बस्तीमा, फलफुल उब्जाएर के गर्नु ?
सोध्नेहरू सोध्छन् , ओ कवि, जिन्दगी कस्तो छ ?
सायद प्रेमजस्तै महँगो र नागरिकजस्तै सस्तो छ
तर पनि म ढुक्क छु, प्रिय कविता !आनन्दित छु
तिमी छौ र त यो जिन्दगी,साँंच्चै ! जिन्दगी जस्तो छ।
सधैं स्नेहको एउटा छाया , छेउमै भए जस्तो लाग्छ
मुटुको हरेक धड्कनमा, ऊ नै रहे जस्तो लाग्छ
समयले यति क्रूर प्रहार गर्ला भन्ने सोचेको थिइनँ
किनार टोल्हाइरहेछ, नजिकै प्रेम नदी बहे जस्तो लाग्छ ।
हिउँ थिएँ प्रेमले छोयौ , पग्लिएर पानी पानी भएँ
चन्दन नचिनी बाल्यौ तिमीले, जल्दाजल्दै खरानी भएँ
सिमलको भुवा थिएँ कि, बगरको काँसको फूल थिएँ
उड्दा उड्दै बिलाएँ आफै, एकादेशको।कहानी भएँ ।
६
आगो झोस्छ्न् र मुटु डढिसकेपछि, पानी हाल्न आउँछन्
फूलैफूलको बिछ्यौनामा, काँडाको सिरानी हाल्न आउँछन्
सायद जिन्दगीदेखि विरक्तिएर जोगी भयो भन्ने थाहा भएर होला
भिक्षाटनको कमन्डलुमा चामलको साटो खरानी हाल्न आउंँछ्न् ।
७
कहिले विश्वास बोक्ने मुटु पनि, अविश्वासले चिरा चिरा भेटिन्छ
परिपक्व मान्छे खोज्दा, प्रायःजसो ठेट्ना र कट्मिरा भेटिन्छ
जीवनका हरेक प्राप्ति , आफूले सोचेजस्तो कहाँ हुन्छ र!
कहिलेकाहीँ त कोमल फूलको बोटमा पनि झुसिल्किरा भेटिन्छ ।
८
मूर्खहरू असिना र बरफ बटुलेर, हिमाल बनाउने कुरा गर्छन्
शिशाझैं फुटेकाहरू, एकताको राष्ट्रिय सन्जाल बनाउने कुरा गर्छन्
यिनका कुरा, कति पत्याउनु कति नपत्याउनु , साँच्चै बुझ्नै गाह्रो छ
आफै मान्छे बन्न नसकेकाहरू, अचेल नेपाल बनाउने कुरा गर्छन् ।
९
जीवनमा केही सम्बन्ध पूर्ण हुन्छन् , केही आधी हुन्छन्
कमै मात्र तातो घाममा छाता र झरीमा बर्सादी हुन्छन्
निरन्तर पढिरहेको छु मान्छे नामको अप्ठ्यारो पुस्तक
सबै कहाँ प्रेमिल हुन्छन् ? अधिकांश अवसरवादी हुन्छन् ।
१०
राजनीतिको दोकानमा, खोटो ढक असन्तुलित पल्ला छ
परस्पर खिचातानी र अनावश्यक हल्ला छ
समय चुपचाप सौन्दर्य कोरल्न ओथारा बसेको छ
उपलब्धि भने मुजुरको अन्डामा, गिद्धको चल्ला छ।
००००