'यहाँ एउटा जङ्गल थियो' एक उत्कृष्ट पर्यावरणी उपन्यास
- रुद्र बराल
'यहाँ एउटा जङ्गल थियो' अनुराधा शर्मा पूजारीद्वारा सिर्जित र असम शोणिपपुरकी कवयित्री पूजा आचार्यद्वारा अनूदित पर्यावरण सङ्कटलाई लिएर लेखेको एक सामाजिक यथार्थवादी उपन्यास हो।
अनुवादक पूजा आचार्य पछिल्लो समयमा कविता लेखेर चिनिएको र आफ्नो पहिलो साहित्यिक कृति 'अनुहारभित्रको अनुहार' प्रकाशनमा ल्याएर निकै चर्चामा आएकी कवयित्री हुन्। एक सक्रिय सामाजिक कार्यकर्ताका रूपमा पनि उनी छुट्टै परिचय छ। यता, मूल रचनाकार अनुराधा शर्मा पूजारी समकालीन असमिया आख्यान साहित्यकी एक चर्चित र समादृत लेखक हुन्। उनले असमिया भाषामा लेखेको मूल उपन्यासकृति 'इयात एखन अरण्य आसिल' सन् २०२१ को साहित्य अकादमी अनुवाद पुरस्कारद्वारा सम्मानित भइसकेको छ।
सर्जक पूजारीका तेह्रवटा उपन्यासका प्राय: सबै नै निक्कै चर्चामा छन्, कैयौँ संस्करणहरू बजारमा निस्किसकेका छन्। अनुवादको लागि यस्ती एक चर्चित लेखकको धेरै चर्चित पुस्तक चयन गर्नु अनुवादक पूजाको पहिलो सफलता हो।
हुन् त असमेली नेपाली साहित्यको माटो अनुवादको बाली उमार्न निकै उर्वर छ। असमेली नेपाली अनुवाद साहित्यमा पन्ध्रचोटि साहित्य अकादमी अनुवाद पुरस्कार आइसकेको छ। असमेली नेपाली अनुवादकद्वारा अन्यभाषाकाधेरै पुस्तक नेपालीमा अनूदित भइसकेका छन्। उसैगरी भानुभक्तको रामायण, देवकोटाको मुनामदन, पारिजातको शिरीषको फूल, लीलबहादुर क्षत्रीका बसाइँ, ब्रह्मपुत्रका छेउछाउलगायत धेरै नेपाली कृति असमियामा अनुवाद भइसकेका छन्।
असमेली अनुवादकहरूले यी अनुवादहरू विभिन्न भाषाबाट गरिएको भए तापनि धेरजसोकै स्रोतभाषा असमिया रहेको पाइन्छ। यसको मुख्य कारण हो असमेली नेपाली प्राय: सबै नै साहित्यकार असमिया माध्यममा पढेका हुन् र असमिया यहाँका नेपाली साहित्यकारहरूको दोस्रो मातृभाषा भन्न सकिन्छ। असमेली अन्यान्य नेपाली अनुवादकहरूकै सरह पूजा आचार्यले पनि यही परम्परा अपनाएर एक उत्कृष्ट असमिया पुस्तक नेपालीमा अनुवाद गरेकी छन्।
अनुवाद सन्दर्भमा साहित्यका विज्ञजनहरूबिच मतान्तर पाइन्छ। कसैले अनुवादलाई अर्काको कृतिको भाषान्तर मात्र हो भनेर खासै गुरुत्व दिँदैनन्, अनुवादकहरूलाई मौलिक लेखकको मर्यादा दिन चाहँदैनन्। विभिन्न भाषामा गरेका धेरै अनुवादमा मूल सिर्जनाको आत्मालाई हत्या गरिएको पाइन्छ भन्ने आरोप पनि सुनिन्छ। फेरि, अर्को एक श्रेणीले अनुवादलाई अनुसृजना भनेर मौलिककै बराबर महत्व दिने गर्छन्। यति मात्र कहाँ हो र? 'हर्कुलिसको गदा खोस्नुभन्दा होमरलाई अनुवाद गर्न कठिन छ' भनेर विज्ञहरूले अनुवाद कार्य सजिलो होइन भन्ने स्पष्ट पार्न पनि खोजेको समेत देखिन्छ। पूजा आचार्यले यही कठिन कामलाई मिहिनेतले गरेर एक पठनीय पुस्तक उपहार दिएकी छन्।
प्रस्तुत उपन्यास एक पर्यावरणीय उपन्यास हो। गुवाहाटीका पहाडहरूको अवैध उत्खनन्, वन-जङ्गल ध्वंसको परिणामस्वरूप जन्मिएका पर्यावरणीय समस्या, जन्तु-जनावरको विपत्ति, मानिस र वन्यजन्तुबिचको सङ्घात र अवैध जमिनबाट मानिसको आबादी हटाउन गरिएको सरकारी उच्छेदको घटना नै यस उपन्यासको केन्द्रीय विषय रहेको छ। परिवेशसूचक स्थानको रूपमा मुख्यत गुवाहाटी सहरको पूर्वी प्रान्त रहेको छ।
एक वास्तविक घटनाको आधारमा संस्मरणात्मक शैलीमा लेखिएको यस उपन्यासकी केन्द्रीय चरित्र उपन्यासकार स्वयम् हुन् र अन्यान्य सहभागीसँगको संवादको माध्यमले यहाँ कथानकलाई अघि बढाइएको पाइन्छ। यो एक आञ्चलिक समस्या हुनाले, पात्रको भिड देखिनाले, स्थानीय भाषाहरूको प्रभावले गर्दा यसलाई एक आञ्चलिकतावादी उपन्यास पनि भन्न मिल्छ। मोठ छब्बिसवटा परिच्छेतमा विभक्त छ प्रस्तुत उपन्यास र यसका हरेक परिच्छेदको एकेक शीर्षक राखिएको छ।
एकातिर स्थायी बसोबास गरेका गरिब, श्रमजीवी मानिस उच्छेदित भएको पीडा अर्कोतिर वन विनाशले ल्याएका बहुआयामिक पर्यावरणीय समस्यालाई उपन्यासकारले मानवीय र पर्यावरणीय दुवै दृष्टिकोणले हेरेकी छन्। यद्यपि सामान्य पर्यावरणवादीहरूले यस्तो सन्तुलित दृष्टिकोण राखेको देखिँदैन। यसैले यो एक उत्कृष्ट पर्यावरणीय उपन्यासका साथै एक संवेदनशील मानवतावादी उपन्यास पनि बन्न पुगेको छ।
उपन्यासमा उच्छेदको नोटिस पाएका श्रमजीवी र सुखुमवासी बाबला, विष्णु, मनसुर, मालतिको पक्षमा उपन्यासकार व्यथित बनेकी छन् भने अर्कातिर मानिसले वन मासेको, वन्यजन्तुको चोरी सिकार गरेको, खोलानाला पुरेको र बेहिसाव जताततै महल खडा गरेर कार्यको उनले विरोध गरेकी छन्।
उनी स्याल, हात्ती, कस्तुरी बिराला, चरीबाघ आदि बेघर भएको पनि सहन सक्तिनन्। उपन्यासकार अनुराधा शर्मा पूजारी वन विनाश र मानिसलाई उच्छेत गरेको यो दुई विपरीतमुखी समस्याप्रति टतस्थ छन् भन्न मिल्दैन, उनको झुकाउ वन संरक्षणप्रति नै रहेको छ। तर, गरिब, सुखुमवासी मानिसहरू उच्छेद हुनुपरेको पीडा, राजनैक दाउपेच, प्रशासनको लापरबाही, वन विभागभित्रको भ्रष्टाचार आदिले लेखकको मन पिरोलेको छ, उनको संवेदनशील मनभित्रको अन्तर्द्वन्द्वले उपन्यासलाई नयाँ मात्रा प्रदान गरेको छ।
यही उपन्यास चयन गरिन् पूजाले र सर्जकको शुभकामनासहित प्रकाशनमा ल्याइन। अनुवादकको विषय आफ्नो हुँदैन, मूल लेखकको हुन्छ। तर भाषाशैली आ-आफ्नै हुन्छ जसले उपन्यासलाई पठनीय पार्छ। दुई भिन्न भाषाका वैयाकरणिक संरचनामा फरक हुन्छन्, संस्कृति र परम्परामा फरक विशेषताहरू हुने गर्छन्। त्यसैले वाक्य वाक्यहरू अनुवाद गरेर जोड्दै गएको अनुवाद सलल्ल बग्दैन। तर, पूजाको अनुवाद शब्दानुवाद होइन, भावानुवाद हो। भावानुवाद गर्न जाँदा धेरैले मौलिक कृतिका जटिल विषयहरूलाई कौशलपूर्ण तरिकाले पन्साएका हुन्छन्। तर पूजा आचार्यले यस्तो सजिलो बाटो रोजेकी छैनन्। उनले अनुवाद गर्न जाँदा शब्दकोश, गुगल चहार्नुका अतिरिक्त दुवै भाषाका विज्ञजनको सहयोग लिएको कुराको आफ्नो भनाइमा उल्लेख गरेकी छन्।
सांस्कृतिक र भौगोलिक भिन्नताले गर्दा एक भाषाका अनेक शब्द अर्को भाषामा पाइँदैनन्। यस्ता शब्दहरूको अर्थ उनले कौष्ठकभित्र राखेकी छन्। असममा व्यापक रूपले प्रचलनमा रहेका केही शब्द जस्तै जलफाई, तामुल, मेखेला, नामघर आदिमा सोही शब्द व्यवहार गरे पनि यथास्थानमा तिनीहरूको नेपाली अर्थ दिन चुकेकी छैनन्। त्यस्तै मिस्त्री बुझाउन प्रयोग हुने सिकर्मी, डकर्मी जस्ता शब्द पनि असममा प्रचलित शब्दकै रूपमा राखेर यी शब्दहरूको नेपाली अर्थ कौष्ठकभित्र राखेकी छन् भने 'टेकेली पिठा' (भक्का रोटी) जस्ता शब्दको नेपाली अर्थ खोजेर यसलाई बुझाउन कौष्ठकभित्र असमिया शब्द राखेकी छन्। यसो गर्दा असम तथा असमबाहिरका नेपाली पाठकलाई विषय बुझ्न निकै सजिलो भएको छ।
नेपाली धन्यात्मक, अनुकरणात्मक र ठेट शब्दहरू प्रस्तुत अनुवादमा भरमार पाइन्छन्। यसले कृतिलाई एकातिर नेपालीपन दिएको छ भने अर्कोतिर अनुवाद हो भन्ने पाठकलाई बिर्साई दिन्छ। उखान तुक्काको अनुवाद गर्दा उनले सही नेपाली उखानको अनुसन्धान गरेर निकालेकी छन्, आदरार्थीको प्रयोग नेपाली मान्यता अनुरूप छ, ! उनले नेपाली जनजिब्रोको बोलीलाई महत्व दिएरै होला 'पहाड' नलेखेर 'पाहाड' लेखेकी छन्। यति हुँदाहुँदै पनि मूल लेखकको भावनामा कतै चोट पुगेको छैन।
प्रस्तुत कृति नेपालीमा अनुवाद गर्नुका तिनटा कारण हुन सक्छन् - पहिलो, अनुवादक आफै एक पर्यावरण विनासको विरुद्धमा कलम चलाउने कवि हुन्, एक मानवतावादी सामाजिक कार्यकर्ताका रूपले पनि उनी निकै परिचित छन्। यी दुइटै विषय यस उपन्यासले समेटेको कुरा अघि उल्लेख गरिएको छ। दोस्रो, यस कृतिमा मोहन गुरुङ, उनकी छोरी, विष्णुकी श्रीमती, सञ्जय गुरुङ, बहादुर, मनोमती आदि धेरै गोर्खाली पात्र छन् र यी पात्रहरूलाई यहाँ सकारत्मक पात्रका रूपमा उभ्याइएको छ।
उपन्यासकारले नेपाली मानिसको बफादारी र साहसले गर्दा उनीहरूले 'बहादुर' उपाधि पाएका हुन् भन्ने उल्लेख गरेकी छन्। उनले नेपाली मानिसलाई रैथाने मानिस भनेर पनि उल्लेख गरेकी छन्। तेस्रो कारण यो एक चर्चिर लेखकको बहु चर्चित उपन्यास हो।
सालाखालामा भन्नु हो भने पूजा आचार्यद्वारा अनूदित र इन्द्रेनी प्रकाशन, असमद्वारा गत मे महिनामा प्रकाशित १९६ पृष्ठको २०० रुपियाँ मोल तोकिएको यो अनुवाद कृति अत्यन्त सुन्दर भएको छ। मुद्रणका सामान्य त्रुटि छन्। भाषा कतै कतै खड्किएको छ। परिच्छेदहरूका अक्षरहरू सबैतिर बराबर छैनन्। दुई-एक नेपाली शब्दमा अनुवादको अन्योल रजेको छ। यति हुँदाहुँदै पनि उपन्यासको भाषा मिठो छ, रसिलो छ, कसिलो पनि छ। असमिया कृति पढिसकेका पाठकहरूले यसको प्रमाण प्रस्तुत कृति पढ्दा अवश्य पाउने छन्। लेखक र अनुवादक दुवैलाई बधाइ।