पाँच मुक्तक
पाँच मुक्तक
- शिव अधिकारी "इलामे जेठो"
(१)
खरीजुका,नाम्ले जुका, उस्तैछन् यी जुका!
कोही भित्र,कोही बाहिर, घुस्तैछन् यी जुका ।
झार्न खोज्दा झर्दैनन् यी,औषधिले छुन्न,
अङ्गभरि छान्दै रगत, चुस्तैछन् यी जुका!
(२)
फिक्री किन गर्नु र काँध,हाल्छन् जनताले!
भिख माग्नै पर्दैन नि, पाल्छन् जनताले!
सार्वभौम जनता हुन्,अहंकार बढेपछि,
गोबर फाले जस्तै गरी,फाल्छन् जनताले !
(३)
अन्धाधुन्ध पर्दाभित्रै,को कसरी ढुकेको छ ?
पर्गेल्नु छ कसरी कुन्,कहाँ कहाँ चुकेको छ ?
देखाउने, चपाउने, बेग्ला बेग्लै दाँत जस्तो,
आन्दोलनको षड्यन्त्र, गर्भभित्रै लुकेको छ।
(४)
के गर्ने र नगर्ने के? छ्यान् खोई सरकार ?
म त संरक्षक पो हो भन्ने, ज्ञान् खोइ सरकार ?
भोलि देश निर्माण गर्न, कम्मर कसी उदाएका,
निहत्था यी विद्यार्थीको, ज्यान् खोई सरकार ?
(५)
यता सुन् तँ भ्रष्ट सरकार,आँसु खाइस् जनताको ।
अपराधी छद्म वेशी,जासु खाइस् जनताको ।
सुशासन र न्याय माग्दा, उल्टै गोली ठोकी ठोकी,
हिंस्रक पशुले झैँ रगत्,मासु खाइस् जनताको ।
माई नगरपालिका -१०,लुम्बाक, इलाम