हिरण्यकुमारी पाठक, मधुवन पौडेल र डा. बद्री पोखरेल सम्मानित
२०८३ असोज २७, झापा ।
वासु शशी स्मृति परिषद्, काठमाडौंले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याएका साहित्यकारहरु हिरण्यकुमारी पाठक, मधुवन पौडेल र डा. बद्री पोखरेललाई ‘वासु शशी साहित्य सम्मान २०८३’ बाट सम्मानित गरेको छ।
परिषद्ले ३४औँ सम्मान समारोहका अवसरमा सोमबार काठमाडौंको अनामनगरस्थित डालो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा तीनै जना स्रष्टालाई जनही १० हजार रुपैयाँसहित सम्मान गरेको हो।
परिषद्का कार्यवाहक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्व तथा गीतकार एवं चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आयोजक संस्थाका सदस्य सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। उनले परिषद्ले साहित्यकारहरूलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै आएको र हालसम्म ६० जनाभन्दा बढी स्रष्टा सम्मानित भइसकेको जानकारी गराए।
कार्यक्रममा परिषद्का सल्लाहकार राधेश्याम लेकालीले शुभकामना मन्तव्य व्यक्त गर्दै साहित्यकारहरूको योगदानको कदर गर्ने यस्ता कार्यक्रमको महत्त्वमाथि प्रकाश पारे।
सम्मान ग्रहणपछि पुरस्कृत स्रष्टाहरूका तर्फबाट मन्तव्य व्यक्त गर्दै डा. बद्री पोखरेलले साहित्यकारहरूलाई सम्मान गर्ने परम्पराको प्रशंसा गरे। उनले वासु शशीको साहित्यिक कृतित्वको चर्चा गर्दै आफूलाई सम्मानित गरेकोमा परिषद्प्रति आभार व्यक्त गरे।
अर्का सम्मानित स्रष्टा मधुवन पौडेलले सम्मान प्राप्त गरेकोमा खुसी व्यक्त गरे।
हिरण्यकुमारी पाठकले दिवंगत साहित्यकार वासु शशीसँग आफ्नो जीवनकालमा पटकपटक सहकार्य गर्ने अवसर प्राप्त भएको स्मरण गर्दै उनको साहित्य साधनाप्रति उच्च सम्मान व्यक्त गरिन्।
कार्यक्रममा कलाकार मिथिला शर्माले वासु शशीको कथा ‘माया’ मा आफूले अभिनय गरेको स्मरण गर्दै सम्मानित स्रष्टाहरूलाई बधाई दिइन्।
त्यसैगरी कलाकार मदनदास श्रेष्ठले वासु शशीसँग आफ्नो निकट सम्बन्ध रहेको उल्लेख गर्दै उनका कथामा आधारित टेलिचलचित्र निर्माण गर्ने कार्यमा समेत आफू संलग्न भएको अनुभव सुनाए। दसैँको अवसरमा रेडियो नेपालबाट प्रसारण हुने उनले निर्देशन गरेका नाटकको महिषासुर पात्रको अभिनय प्रस्तुत गरेका थिए।
प्रमुख अतिथि यादव खरेलले वासु शशीसँग आफ्नो घनिष्ठ सम्बन्ध रहेको स्मरण गर्दै उनको ५७ वर्षको अल्पायुमै निधन हुनुलाई दुःखद् घटनाका रूपमा उल्लेख गरे। उनले वासु शशीको व्यक्तित्व र साहित्यिक योगदानको स्मरण गर्दै उनको नाममा स्थापित सम्मानको महत्त्व रहेको बताए।
कार्यक्रमका सभापति श्रीओम श्रेष्ठ रोदनले उपस्थित सबैलाई दसैँको शुभकामना व्यक्त गर्दै नेपाली साहित्यमा पुरस्कार र सम्मानको अभाव नभए पनि सम्मानको गरिमा जोगाउनुपर्ने आवश्यकता औँल्याए। उनले कतिपय अवस्थामा सम्मानकै अपमान हुने र प्राप्त सम्मानसमेत घरमा झुन्ड्याएर राख्न नसक्ने अवस्था देखिन थालेको टिप्पणी गरे। वासु शशीजस्ता सम्मानित स्रष्टाको नाममा प्रदान गरिने पुरस्कारको आफ्नै विशिष्ट महत्त्व र गरिमा रहेको उनको भनाइ थियो।
वासु शशीको साहित्यिक योगदानको स्मरण तथा नेपाली साहित्यमा योगदान पुर्याउने स्रष्टाहरूको सम्मानका लागि आयोजित समारोहमा साहित्यकार, कलाकार तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन संचारकर्मी एवम् साहित्यकार ठाकुर बेलबासेले गरेको समाचार स्रष्टा राधेश्याम लेकालीबाट प्राप्त भएको छ ।