पोखरामा सुझाव सङ्कलन कार्य सम्पन्न
२९ असोज,झापा । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यहरूले पोखरामा सुझाव सङ्कलन गरेका छन् । प्रतिष्ठानका प्राज्ञसभा सदस्य विनोद बानियाँ, दीपक पराजुली र परिवर्तनको अगुवाइमा भएको कार्यक्रममा पोखरामा क्रियाशील गीत, सङ्गीत, नाटक र संस्कृतिसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूले प्रज्ञा प्रतिष्ठानहरूले आफ्ना गतिविधिमार्फत परिवर्तनको सङ्केत दिनुपर्ने सुझाव दिइएको थियो ।
कार्यक्रममा प्राज्ञसभा सदस्य गायक विनोद बानियाँले आगामी प्राज्ञसभामा सम्बन्धित विषय विज्ञहरूको सुझाव लिएर नीति निर्माणका लागि सुझाव दिने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले आवश्यकता र नीतिको संयोजन गरी कार्यक्रम गर्न सकिए त्यसले गतिलो परिणाम ल्याउन सक्ने धारणा राख्नुभयो ।
प्राज्ञसभा सदस्य तथा ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष दीपक पराजुलीले प्राप्त सुझावहरू प्राज्ञसभामा राखिने बताउनुभयो । प्राज्ञसभा सदस्य तथा पोखरा थिएटरका अध्यक्ष, नाट्यकर्मी परिवर्तनले नीति निर्माणका तहमा आफूहरूले जोड दिने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष अनुराग अधिकारीले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा विशेष कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सो अवसरमा हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापा, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य गायक रामभक्त जोजिजू, पोखरा साङ्गीतिक कलाकार सङ्घका निवर्तमान अध्यक्ष सुनील थापा, उपाध्यक्ष तेज केसी, जोजिजू म्युजिक सेन्टरका प्रबन्धक विनित जोजिजू, पोखरा प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य दिलिप गायक, रेनेसा थिएटरकी रोशनी रामदाम, नाट्यकर्मी प्रमिला तुलाचन, गीतकार प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनिया, उपाध्यक्ष लाल कार्की ‘अञ्जान’, सचिव रुपिन्द्र प्रभावी, पोखरेली युवा सांस्कृतिक परिवारका सचिव एमडी काफ्ले, त्रिवेणी सङ्गीतालयका सुनील बरालले विद्यालय तहमा सङ्गीत, नाटक र संस्कृति पुग्न सक्ने गरी कार्यक्रम ल्याउने, प्रतिलिपि अधिकार र रोयल्टीसम्बन्धी नीतिगत व्यवस्था कार्यान्वयन गर्नेलगायत सुझाव दिनुभएको थियो ।
त्यसैगरी, कमला श्रेष्ठ, दलबहादुर गुरुङ, असीम शेरचन, डविन गुरुङ, निश्चल विमल, नेपालहरि रानाभाट, रामजी पौडेललगायतले सबैले अपनत्व महसुस गर्न सक्ने कार्यक्रम ल्याउन सुझाव दिनुभएको थियो ।