अरूणा वैद्यद्वारा अनुदित 'इजुकी नर्तकी' जापानी आख्यानकृति लोकार्पण

खगिन्द्रा खुसी · असोज २८, २०८३ ९:४४ PM
Cover Image for News

२८ असोज, झापा । जापानका प्रसिद्ध साहित्यकार यासुनारी कावाबाताद्वारा लिखित तथा अरूणा वैद्यद्वारा अनुदित 'इजुकी नर्तकी'आख्यानकृतिको लोकार्पण भएको छ । नोबेल पुरस्कार विजेता समेत रहेका यासुनारीको सो अनुदित कृति असोज २८ नेपाल-जापान दौत्य सम्बन्धको ७० औँ वार्षिकोत्सवको अवसरमा नेपाल वाङ्मय फाउन्डेसनको आयोजना तथा नेपाल प्रज्ञाप्रतिष्ठानको सहकार्यमा भएको विशेष कार्यक्रममा लोकार्पण भएको हो । 

फाउन्डेसनद्वारा प्रकाशित सो कृतिको नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति कुमार नगरकोटी, पूर्वमन्त्री तथा साहित्यकार एस.पी.कोइराला, नेपालका लागि जापानी राजदूत तोओरू माएदा,जापानका लागि पूर्व राजदूतहरू डा. मदनकुमार भट्टराई र डा.दुर्गाबहादुर सुवेदी क्षेत्री, विश्व भाषा क्याम्पसका जापानी भाषा विभाग प्रमुख योसिहारू कामिमुरा, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धर तथा फाउन्डेसनका प्रमुख संरक्षक पूर्वराज्यमन्त्री उमेश श्रेष्ठद्वारा सामूहिक रूपमा कृति लोकार्पण गरिएको हो।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति कुमार नगरकोटीले जापानी साहित्यकारहरूको चर्चा गर्दै जापानिज साहित्य अब विश्वमा खोजीको विषय बनेको बताए। जापानी भाषामा लेखिएको विश्वप्रसिद्ध लेखक नोबेल पुरस्कार विजेता कावाबाताको कृतिलाई नेपाली भाषामा अनुवाद गरेर नेपाल र जापानबीच साहित्यिक पुल बाँध्ने काम गरेकोमा अरूणा वैद्यलाई बधाई दिँदै उनको योगदान स्तुत्य भएको बताए। हाल नेपाल प्रज्ञा प्रतिष्ठानबाट चाइनिज भाषाका उपन्यासहरू नेपालीमा अनुवाद गर्दै आएको बताउँदै उनले हाम्रा छ वटा पुस्तकहरू पनि चाइना भ्रमणमा लैजान लागेको बताएका थिए । 

नेपाल वाङ्मय फाउन्डेसनका सल्लाहकार तथा कार्यक्रमका सभाध्यक्ष साहित्यकार तथा पूर्वमन्त्री एस.पी.कोइरालाले धेरै वर्षपहिले गरेको जापान भ्रमणको चर्चा गर्दै जापानले भोतिक प्रगति मात्र नगरी भाषा, साहित्य र संस्कृतिमा समेत अतुलनीय प्रगति गरेको बताए। जापान सरकारले नेपाललाई गरेको सहयोग र सहकार्यको प्रसङ्ग उल्लेख गर्दै सृजनाको सहकार्यप्रति खुशी प्रकट गरेका थिए। नेपाल-जापान बीच दौत्य सम्बन्धको ७० औँ वार्षिकोत्सवको चर्चा गर्दै उनलेे जापानका विश्वप्रसिद्ध साहित्यकार यासुनारी कावाबाताको उत्कृष्ट आख्यानलाई नेपालीमा अनुवाद गरेर अरूणा वैद्यले ठूलो गुन लगाएको बताए। दुई देश बीच रहेको दौत्य सम्बन्ध अब साहित्यिक दृष्टिले समेत सुदृढ हुने बताए।

नेपालका लागि जापानका राजदूत तोओरू माएदाले जापानी साहित्य नेपाली भाषामा अनुदित हुनु खुशीको कुरा हो भन्दै यसको निरन्तरता हुनुपर्ने बताए । 

लोकार्पित कृति इजुकी नर्तकीमाथि समीक्षात्मक टिप्पणी गर्दै जापानका लागि पू्र्व नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी क्षेत्रीले नेपाल र जापान बीच दौत्य सम्बन्ध रहेको ७० वर्ष भए पनि धार्मिक, सामाजिक, संस्कृति,सांस्कृतिक सम्पदा,सभ्यता र नागरिक सम्बन्ध १२७ वर्षअघिदेखि नै रहेको बताए। जापानी भाषाका कृतिहरूको अनुवाद धेरैअघि नै हुँदै आएको बताउँदै क्षेत्रप्रताप अधिकारी, प्रा.डा.अभि सुवेदी, प्रा.डा.रामदयाल राकेश र प्रा.रामकुमार पाँडेको नाम लिएका थिए भने पछिल्लो समयमा डा. विप्लव ढकाल तथा अरूणा वैद्यको नाम थपेका थिए। जापानी साहित्य नेपाली भाषामा मात्र अनुवाद नभई नेपाली साहित्य पनि जापानी भाषामा अनुवाद भइसकेको प्रसङ्गमा उनलेे सेतो बाघ, नासो र माधवीको चर्चा गरेका थिए। हाइकु र तान्काको जन्मस्थान जापान भए पनि नेपालमा पनि हाइकु र तान्का फष्टाएको कुरा उनलेे बताए। कावाबाताको कृतिहरूको चर्चा गर्दै उनलेे इजुकी नर्तकीको उल्था गर्दा लेखकको मौलिकतामाथि न्याय भएको छ, मर्म मरेको छैन र कावाबाताको शैली पनि मरेको छैन भनेर बताए। 

कार्यक्रममा जापानका लागि पूर्व नेपाली राजदूत डा.मदन कुमार भट्टराई तथा सल्लाहकार पूर्वराज्यमन्त्री उमेश श्रेष्ठले शुभकामना मन्तव्य राख्दै नेपाल र जापान बीचको दौत्य सम्बन्ध र लोकार्पित पुस्तकमाथि संक्षेपमा प्रकाश पार्दै फाउन्डेसन र अनुवादक तथा कवि अरूणा वैद्यलाई बधाई र शुभकामना दिएका थिए।

विश्वभाषा क्याम्पसका जापान भाषा विभागका प्रमुख योसिहारू कामिमुराले नेपालमा मूल जापानी भाषाबाट अनुदित कृति नगन्य भएको बताउँदै यासुनारी कावाबाताको सुप्रसिद्ध कृति इजुकी नर्तकी नेपाली भाषामा अनुदित हुनु खुशीको कुरा भएको बताउँदै अरूणा वैद्यलाई बधाई दिएका थिए भने वैद्यको व्यक्तित्वमाथि पनि संक्षेपमा प्रकाश पारेका थिए।

फाउन्डेसनका अध्यक्ष डा.विप्लव ढकालले स्वागत मन्तव्य राख्दै नेपाल-जापान दौत्य सम्बन्धको ७० औँ वार्षिकोत्सव तथा फाउन्डेसनका क्रियाकलापका बारेमा संक्षेपमा प्रकाश पारेका थिए। लोकार्पित कृति 'इजुकी नर्तकी'का बारेमा बोल्दै उनलेे नोबेल पुरस्कार विजेता यासुनारी कावाबाताको उत्कृष्ट कृतिलाई नेपाली भाषामा भावपूर्ण अनुवाद गरेर दुई देश बीचको सम्बन्ध र नागरिक बीचको सम्बन्धमा हृदय जोड्ने पुलको काम गरेको बताए। फाउन्डेसनले विधागत रूपमा हाल कविता विधाको पुस्तकालय स्थापना गरेको बताउँदै फाउन्डेसनले बहुभाषिक वाङ्मय क्षेत्रमा रचनात्मक योगदान पुर्याउने उद्देश्य राखेको बताए।

नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको कार्यक्रमको सञ्चालन लभग्रिन नेपालकी अध्यक्ष अमिरा दलीले गरेकी थिइन्। 

 

ट्यागहरू:
samachar sahitya puraskar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।