क्लिभेज : एक प्रगतिशील प्रतिमानको आविष्कार - सरिता तिवारी
दिनमा
धुवाँदार कविता पाठ गरेर
प्रगतिशील काव्य उत्सवमा
फर्कियो एक अधबैंसे कवि
भट्टिमा
र सप्ताहन्तको यो मित्रमिलापलाई
रङरसले रोचक बनाउँदै
गर्यो कविताका नयाँ रुपकहरुबारे घण्टौं लामो वार्ता
मुस्किलले फिरेर घर
रातको मध्यान्तरमा
ओछ्यानमा पल्टिएपछि जसै देख्यो
कुनै युवा महिला कविको मेसेन्जरमा हरियो बत्ती
सक्रिय भए उसका कामाङ्ग,
स्खलित भए कल्पनामै सारा अतृप्ति
प्रोफाइल पिक्चरमा पुगेर
त्यसमाथि पचासौंपल्ट नजर-सम्भोग गरेपछि
चाट्यो कविले बडो तृप्तीसाथ
कठोर सिद्धान्तले लेप लगाइराखेको
आफ्नो रुखो,कलेटी ओठ
हिजो,अस्ति…अस्ति-अस्ति
जसरी गर्थ्यो
यस्तै अर्की कुनै युवा कविसँग
संवादको सुरुवात
लेख्यो मेसेज बक्समा
…के छ कविज्यू,अझैसम्म सुकला नभएको ?
हर रात
पुरानो,गहिरो अब्यक्त कामनाका लागि
फरक फरक हरियो बत्तीमाथि
परिक्षण गरेको छ उसले आफूलाई !
र प्रतिउत्तर आओस् नआओस्
दोहोर्याइरहेको छ कयौंपटक ‘…ज्युनार भयो?’, ’...सुकला नभएको?’
निज कवि
जो दिनमा पढ्थ्यो कविता
कि उसलाई मन पर्छन् क्रान्ति गरिरहेका स्त्रीहरू
रातो संकल्पले बुनिएका श्रृङ्गार बिनाका स्त्रीहरू
अझ मन पर्छन् उसलाई
निधारमा फेटा गुथेका, ज्यानमा कम्ब्याट सजाएका, पिठ्युँमा नानी बोकेका
छापामार स्त्रीहरू –कमरेडहरू
तर रात परेपछि
उसको दिल हरिरहेको छ
गोरी, ‘कोमलाङ्गी’ युवा कवियित्रीको
नयाँ प्रोफाइल पिक्चरमा
निर्वाध डटेर बसेको ‘सौन्दर्यमय’ क्लिभेजले
असंख्य पल्ट त्यही दृश्य जुम गर्दै
हेर्दा हेर्दा
आँखा रिमरिम भएर हो कि
वा साँच्चै स्त्री-मुक्तिको नयाँ रुप-मीमांशा जागेर हो
देख्दै छ कवि
क्रान्तिको एउटा नौलो आँधी यही क्लिभेजको गल्छीबाट उठिरहेको
आँधीले ढुन्मुनिएको अर्धचेतनमा
बिम्बहरू बिर्सिइने खतरा नटर्दै
ओच्छ्यानबाट उठेर लेख्यो निज कविले
‘‘…यसकारण, ’उपभोक्तावादी’ बन्नु नै पनि
होइन त्यस्तो उल्लेख्य ‘विचलन’
केही खास अर्थमा
हो यो आफैंमा
स्त्री शरीरको एउटा प्रगतिशील हस्तक्षेप
यसकारण…फेर्नुपर्ने छ स्त्री मुक्तिको भाष्यका पुराना प्रतिमान
कुँद्नुपर्ने छ नयाँ परिभाषा’’