धुलाबारीमा तेराखको तेस्रो स्मृति दिवस मनाइयो
धुलाबारी, असार १६ । आज साहित्यकार तेजराज खतिवडा (तेराख) को तेस्रो स्मृति दिवसको अवसर पारेर धुलाबारीमा कविता वाचन तथा बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम प्रतिष्ठानको कार्यालय धुलाबारीमा सम्पन्न भएको थियो । झापाका १२ जना कविहरुले रचना वाचन गरिएको उक्त कार्यक्रममा प्रतिष्ठानको कार्यालय परिषरमा अम्बक फलको बिरुवा रोपण गरिएको थियो ।
साहित्यकार बिरही अधिकारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा, हरिचरण बानियाँ, सासंक प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडा, सिरो सन्दाई, टिका भट्टराई, चन्द्र भण्डारी लगायतले स्वर्गिय तेजराज खतिवडाको योगदानको चर्चा गर्नु भएको थियो । कार्यक्रममा साविक इरौंटार र शान्तिनगर क्षेत्रका अग्रज तथा देशलाई योगदान दिएकाहरुको जीवनी समेटेर पुस्तक प्रकासित गर्ने बिषयमा छबिलाल खतिवडाले र अब केन्द्र र मोफसल भन्ने कुरा नरहेको र केन्द्र भत्काउन सक्ने साहित्यकारहरु गाउँ गाउँमा नै रहेकोले अब गाउँ नै केन्द्र हो मोफसल होइन भन्ने धारणा ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा समीक्षक तारा विविधले तेराखका कृतिहरुको समीक्षा गर्नु भएको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष दुर्गा खतिवडाले स्वागत गर्नु भएको कार्यक्रममा प्रतिष्ठानका संरक्षक समेत रहनु भएका तेराखका जेठा छोरा लेखनाथ खतिवडाले तेराखको जिवनीका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम प्रतिष्ठानका सचिव जय भण्डारीद्वारा सञ्चालन गरिएको थियो ।