दियोको अन्तिम लप्का’देखि ‘शरद्का पहेँला पातहरू’सम्म : दीपाको कृतिमाथि विमर्श

दिलिप घिमिरे · भदौ ७, २०८३ १०:२९ PM
Cover Image for News

झापा ७भाद्र/इलाममा कवि दिपा राई पुनका कविता कृति ‘दियोको अन्तिम लप्का’ र ‘शरद्का पहेँला पातहरू’ माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ।

इलाम नगरपालिका तथा साहित्य, कला, सङ्गीत प्रतिष्ठान इलामको आयोजनामा २०८३ साल भदौ ५ गते शुक्रबार इलामस्थित अरनिको सङ्ग्रहालय, पुरानो दरबारमा कार्यक्रम आयोजना गरिएको हो। 

कार्यक्रममा डा. मधुराज केरुङ र बिमल वैद्यले कवि दिपा राई पुनका उक्त कविता कृतिमाथि विमर्श गरेका थिए। कार्यक्रममा इलाम नगरपालिका प्रमुख केदार थापा प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने साहित्यकार तथा कवि दिपा राई पुन, इतिहासकार युद्धप्रसाद वैद्य र समाजसेवी तोयानाथ भट्टराईको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता प्रकाश थामसुवाङले गरेका थिए भने सञ्चालन जयनारायण भट्टराईले गरेका थिए। कार्यक्रमको उद्घाटन दीप प्रज्वलन गरी गरिएको थियो।
विमर्श कार्यक्रममा सहभागी विभिन्न व्यक्तित्वहरूले कवि दिपा राई पुनका कविता कृतिका विषयवस्तु, भाव, शैली, सामाजिक चेतना तथा साहित्यिक पक्षमाथि आ–आफ्ना धारणा राखेका थिए। कार्यक्रममा साहित्यप्रेमी, लेखक, कवि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।

फोटो
समालोचनात्मक दृष्टिले हेर्दा कृतिमा प्रकृति केवल सौन्दर्यको वर्णनका रूपमा सीमित नभई जीवन र मानवीय अनुभूति अभिव्यक्त गर्ने माध्यम बनेको देखिन्छ। दियो, पात, उज्यालो, अँध्यारोजस्ता बिम्ब तथा प्रतीकमार्फत समय, जीवन, आशा, पीडा र अस्तित्वका अनुभूतिलाई प्रस्तुत गरिएको छ। कवितामा व्यक्तिगत अनुभूति र सामाजिक यथार्थको संयोजनसँगै परदेशको अनुभव, आफ्नो माटो र पहिचानप्रतिको आत्मीयता पनि प्रतिध्वनित हुन्छ।

कविताको भाषा सहज, संवेदनशील र बिम्बात्मक हुनु कृतिको अर्को विशेषता मान्न सकिन्छ। प्रकृतिसँग नजिक रहेर अनुभूतिलाई सरल तर गहिरो रूपमा अभिव्यक्त गर्ने प्रवृत्तिले कवितालाई पाठकसँग आत्मीय बनाएको देखिन्छ। यस अर्थमा कृति केवल प्रकृतिप्रधान कविता सङ्ग्रह नभई प्रकृतिमार्फत मानिस, समाज र जीवनलाई बुझ्ने कविको दृष्टिकोणका रूपमा समेत लिन सकिन्छ।

पाँचथरमा जन्मिएकी कवि दीपा राई पुनको वैवाहिक सम्बन्ध पोखरासँग जोडिएको र काठमाडौँमा घर रहेको जानकारी दिइएको छ। उहाँ हाल अमेरिकामा बसोबास गर्दै आउनुभएको छ। परदेशमा रहेर पनि नेपाली भाषा,साहित्य र सिर्जनासँग निरन्तर जोडिँदै आउनुभएको छ।

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।