कवि रीता खत्रीको ‘बाँच्नेहरूका नाममा’ कविता सङ्ग्रह सार्वजनिक

खगिन्द्रा खुसी · भदौ ७, २०८३ ९:१५ AM
Cover Image for News

७ भदौ, झापा । कवि रीता खत्रीको ‘बाँच्नेहरूका नाममा’ कविता सङ्ग्रह सार्वजनिक तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।साझा प्रकाशनद्वारा प्रकाशित उक्त कविता सङ्ग्रह सार्वजनिक तथा अन्तर्क्रिया कार्यक्रमलाई साझा प्रकाशन, विद्युतकर्मी साहित्यिक समाज र विश्व नेपाली वाङ्मय प्रतिष्ठानले संयुक्त आयोजना गरेका थिए ।  साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक शेखर गिरीको सभाध्ययक्षषतामा सम्पन्न कार्यक्रममा साहित्यकार  तथा समीक्षक डा. अशोक थापा र समकालीन कवि तथा समीक्षक प्रगति राईले ‘बाँच्नेहरूका नाममा’ कविता सङ्ग्रहका विविध पक्षमाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो। उहाँहरूले सङ्ग्रहमा समेटिएका कविताको भाव, विषयवस्तु, शिल्प, बिम्ब, भाषिक प्रयोग तथा समकालीन जीवनसँगको सम्बन्धका विषयमा चर्चा गर्नुभएको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूलाई विद्युतकर्मी साहित्यिक समाजकी उपाध्यक्ष शारदा पराजुलीले स्वागत गर्नुभएको थियो। उहाँले साहित्यिक समाजका तर्फबाट कवि रीता खत्रीलाई बधाई तथा शुभकामना दिँदै ‘बाँच्नेहरूका नाममा’ कविता सङ्ग्रहले नेपाली कविताको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने विश्वास व्यक्त गर्नुभएको थियो। साहित्य र विद्युत् सेवामा आबद्ध व्यक्तिहरूबीच सिर्जनात्मक सम्बन्ध विस्तार गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

कार्यक्रममा गुञ्जन नारी साहित्य संस्थाकी अध्यक्ष जलेश्वरी श्रेष्ठ, अग्रज साहित्यकार शैलेन्द्र साकार, साहित्यकार उषा शेरचन तथा कोशी प्रदेशसभा सदस्य एवं कवि मिना श्रेष्ठले शुभकामना मन्तव्य दिनुभएको थियो।

विमोचित कविता सङ्ग्रहबाट साझा प्रकाशन सञ्चालक समिति सदस्य तथा कवि जयन्ता पोखरेल, विद्युतकर्मी साहित्यिक समाजका पूर्वअध्यक्ष तथा कवि कृष्णदेव रिमाल ‘शब्दसेना’, कवि प्रोल्हास सिन्धुलीय, कवि पेशलकुमार लुईटेल, मुक्तककार उषा के.सी. तथा कवि एवं गजलकार बाबु त्रिपाठीलगायतले कविता वाचन गर्नुभएको थियो।

कवि रीता खत्रीले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा साहित्यप्रेमीलाई धन्यवाद ज्ञापन गर्दै सङ्ग्रहबाट एक कविता वाचन गर्नुभएको थियो।

कार्यक्रमको प्रारम्भ राष्ट्रिय गान तथा दीप प्रज्वलनबाट गरिएको थियो। 

कार्यक्रमको समापन गर्दै साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक शेखर गिरीले कवि रीता खत्रीका कविताले जीवन्त समस्यालाई उठान गर्दै समाजलाई नयाँ दृष्टिकोणबाट सोच्न अग्रसर गराएको बताउनुभयो।

नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विद्युतकर्मी साहित्यिक समाजका सचिव युवराज शर्माले गर्नुभएको थियो।

कार्यक्रममा साहित्यकार, समीक्षक, लेखक, कवि तथा साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको समाचार साहित्यकार राधेश्याम लेकालीबाट प्राप्त भएको छ ।

ट्यागहरू:
गजल literature news
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।