राधिका फाउण्डेसनमा झापाली कविहरूको कविगोष्ठी
झापा, मंसिर ८। राधिका फाउण्डेसनको आयोजनामा कनकाई नगरपालिका–६, मनसापुरस्थित निर्माणाधीन आश्रम परिसरमा झापाली कविहरूको सहभागितामा कविगोष्ठी सम्पन्न भएको छ।
फाउण्डेसनकी संस्थापक तथा अध्यक्ष एवं प्रसिद्ध भागवत कथावाचिका राधिका दासीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रिफला राष्ट्रिय पुस्तकालयका राष्ट्रिय अध्यक्ष तथा पुस्तकालय संघ कोशी प्रदेशका अध्यक्ष प्रेमप्रकाश ‘फलाहारी’ प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा कविहरू जयप्रसाद आचार्य, केशव भट्टराई, कृष्ण सुवेदी ‘निराकार’, विनोद खनाल, उषा गुरुङ, हरिप्रसाद रिमाल, मेघनाथ बन्धु, कृष्णप्रसाद मिश्र, तुलसीप्रसाद भट्टराई, हिम्मत नेम्वाङ, अच्युत दाहाल, गोपाल दाहाल, मोक्षा खतिवडा, देवीचरण भण्डारी र सरोजले आ–आफ्ना कविता तथा साहित्यिक सिर्जना वाचन गर्नुभएको थियो।
कार्यक्रममा बुढ्यौली साहित्य समाज झापाका संयोजक हरिप्रसाद रिमाल, कार्यक्रम संयोजक मुक्तिप्रसाद तिम्सिना तथा समीक्षकका रूपमा स्रष्टा विष्णुप्रसाद कोइरालाको उपस्थिति रहेको थियो।
स्वागत मन्तव्यका क्रममा अध्यक्ष राधिका दासीले आर्थिक रूपमा विपन्न तथा असहाय बालबालिकालाई संस्कारसहितको आधुनिक शिक्षा प्रदान गर्दै आएको फाउण्डेसनको उद्देश्यबारे जानकारी गराउनुभयो। आश्रममा आश्रित बालबालिकाको शिक्षा–दीक्षा र निर्माणाधीन भवनको निर्माण सम्पन्न गर्न सहयोग जुटाउने उद्देश्यले आगामी मंसिर १२ देखि २१ गतेसम्म श्रीमद्भागवत नवाह धनधान्याञ्चल महायज्ञ आयोजना गर्न लागिएको उहाँले बताउनुभयो।
महायज्ञको प्रचारप्रसार तथा सामाजिक अभियानमा साहित्यिक क्षेत्रको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले कविगोष्ठी आयोजना गरिएको उहाँको भनाइ थियो।
सञ्चारकर्मी तथा कवि केशव भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा लाइफ रिसर्च एण्ड पब्लिकेशनकी प्रोपाइटर रेणुका खरेल, शिक्षासेवी झलेन्द्र तिम्सिनालगायतको उपस्थिति रहेको थियो।
समग्रमा कार्यक्रम छिटो मिठो ढङ्गले सम्पन्न भयो अनि सबै कविहरूले आफ्ना रचना आनन्दसँग वाचन गर्न पाउनु भयो ।