सावित्री सुन्दास र उनको ‘इच्छाको अवशेष’
सावित्री सुन्दास र उनको ‘इच्छाको अवशेष’
- देविका मंग्राती राई
भारतीय नेपाली साहित्यमा नारी हस्ताक्षरहरूको देनबारे हामीले कुरा गर्दा आँखाअगाड़ि आउँछन् कमला सांकृत्यायन, डा. लक्खीदेवी सुन्दास, सानुमति राई, सावित्री सुन्दास, गोमा शर्मा, चन्द्रकला नेवार, राधिका राया, बबुरानी गुरुङ, सुकेशी, बसुमति खतिवड़ा, विन्द्या सुब्बा, वीणा हाङखिम, स्नेहलता राई, खिरोदा खड़का, इन्द्रमणि दर्नाल, कमला राई, उर्मिला घिसिङ आदि धेरै नारी हस्ताक्षरहरू, जसले निरन्तर कलम चलाए, चलाइरहेका छन् र चलाइनै रहनेछन्। यहाँ सबैको नाम लेख्नु सम्भव छैन। पुरुषका हाराहारीमा लेख्ने नारी हस्ताक्षर भारतीय नेपाली नारी साहित्यकारहरू पनि मूल खाँबा नै हुन् हाम्रा।
हाल नारीहरूले सबै विधामा कलम चलाइरहेका छन्। डा. लक्खीदेवी सुन्दासको कविता ‘उत्सर्ग’ मैले दशौं श्रेणीमा पढ़ेकी थिएँ। त्यसरीनै सावित्री सुन्दासका कविताहरू पनि पढ़ियो। खरसाङको गोर्खा जन पुस्तकालयका साहित्यिक कार्यक्रमहरूतिर आइरहनुहुने साहित्यकारहरूमा एकजना थिइन् खरसाङकी वरिष्ठ नारी हस्ताक्षर सावित्री सुन्दास। खरसाङको पार्क लोकेशनमा उनको निजी वासस्थानमा थियो। उनको एउटा कविता सङ्ग्रह ‘इच्छाको अवशेष’ मेरो हातमा छ। उनले हाल लेखनमा दूरत्व कायम राखेको हामीले महसुस गरिरहेका छौं।
‘इच्छाको अवशेष’८० वटा उत्कृष्ट कविताहरूले सजिएको, १३८ पृष्ठ रहेको कविता सङ्कलन हो। युगपरिबोध, दार्जीलिङमार्फत लक्ष्मी प्रिटिंग प्रेस, आर.एन. सिंह पथ, दार्जीलिङद्वारा प्रथम संस्करण १९९६ मा प्रकाशित भएको पुस्तक हो। नरेद्र कुमार सुब्बाद्वारा तयार पारिएको सुन्दर आवरण चित्र रहेको पुस्तकको मूल्य रु. २५ मात्र रहेको छ। वाराणसीमा मुद्रित पुस्तकमा गुप्त प्रधान, सचिव युगपरिबोधद्वारा लिखित भूमिका खुबै स्तरीय छ जसमा एक ठाउँ लेखिएको छ- ‘आफ्ना समाज र साहित्यलाई भनेर आफ्नै समयहरू चढ़ाएर लेखिएका हुन् सावित्री सुन्दासद्वारा लिखित यी कविताहरू। उनका जीवनका विभिन्न अवधिलाई भावुकतावश आफ्नो साहित्यको निम्ति काममा लगाउन लाग्दा उनीबाट कविताहरू निस्के।’
त्यस समयमा नारी हस्ताक्षरको पातलो सहभागिता रहन्थ्यो, तर त्यस समयमा सावित्री सुन्दासको गहकिलो कविता सङ्कलन आउनु महत्त्वपूर्ण कुरा थियो। यसैले गुप्त प्रधान अझ लेख्छन् – ‘सावित्री सुन्दासलाई त्यही मर्यादामा हेरिनुपर्छ। समयलाई फारो गरेर चलाउने गर्दा आफ्नो उब्रिएको समयलाई कविताको रूप दिने उनको एकाग्र इच्छा, त्यही एकाग्रता सदैव जीवितता लिएर बाँच्ने गरेको प्रमाण हो यो ‘इच्छाको अवशेष’।’ गुप्त प्रधानज्यूले यो कृतिको सातौं प्रकाशन भएर आएको भनी लेखेका छन्।
कविले आफ्ना स्वर्गीय बुबा श्रीकण्ठ मल्ल र मुमा स्वर्गीय जयश्री मल्लप्रति कविता सङ्कलन समर्पण गर्दै यसरी लेखेकी छन्-‘जीवनको प्रथम भोगाइको समयदेखि पाइएका तीता-मीठा अनुभवहरूलाई सँगाली-सँगाली कविता बनाएर सश्रद्धा समर्पण।’ १९४० जन्मेकी अनि औपचारिक शिक्षामा म्याट्रिक अनि हिन्दीमा विशारदसम्मको शिक्षा प्राप्त गरेकी सावित्री सुन्दासको कर्मथलो दार्जीलिङमै रह्यो। सन् १९५४ -देखि आफ्नो काव्ययात्रा शुरू गरेर ‘नवप्रभात’, ‘भारती’, ‘दियालो’, ‘धुँवा’ जस्ता पत्र-पत्रिकाहरूमा धेरै कविताहरू प्रकाशित भएको पाइन्छ, तर कृति प्रकाशन भने धेरै पछि मात्र भयो। सन् १९७५ मा प्रकाशित काव्य कृति ‘भावभित्र’ अनि सन् १९९६ मा ‘इच्छाको अवशेष’ नेपाली साहित्यका पाठकहरूले पाए। सावित्री सुन्दासका कविताहरूमा उनले भोगेका, अनुभवहरू, जीवनका अनुभूतिहरू, सुख-दुःख, विद्रोह, यथार्थपरक भावहरू, समाजका विसङ्गति, शोषण, असमानता, भेदभाव, रङ्गभेद आदि दर्शनहरू पाइन्छ। उनका कविताहरू स्वच्छन्दतावादी धारामा लेखिएका पाउँछौं। पृष्ठ १० मा ‘इच्छाको अवशेष’ शीर्षक कवितामा यसरी लेख्छिन् –
तिमीले गरेको कल्पना
जीवनभरि देखेको सपना
गर्वसाथ बिताएको विपना
आज त्यसको
केवल अवशेष
मात्र हाँसिरहेछ।
आत्माको आत्मा, देहको गन्ध
मुटुको स्पन्दन, आँखाको ज्योति
यी सब, आज धमिलिएको होला।
धिक्कार तिमी धिक्कार, अन्तिम अंशमा
सारा वंश हरायो, तिम्रो मात्र होइन
युग-युगदेखि निरन्तर बढ़्दै आएको
पूर्वजहरूको परम्परा बन्द भयो।
म मान्दछु... अमर ज्योति। (पृष्ठ १०)
आफ्नो ‘इच्छाको अवशेष’ नामक कविता सङ्ग्रहमा यही कवितामा हेरौं, इच्छा अर्थात् कुनै चीजको प्राप्ति, समृद्धि, यो गर्न पाऊँ, उस्तो होस् भन्ने मनका चाहनाहरूनै इच्छा हुन्। तर यस कवितामा कविका इच्छा, चाहनापश्चात् त्यसका अवशेष अर्थात् उपभोगमा आएर बाँचेको वस्तु अथवा सकिनु, शेष हुनु बुझिन्छ। यहाँ केको अवशेष भयो त? के इच्छा थियो कविको? आत्माको आत्मा शेष भएछ। वर्षौंदेखि सोंचेको, गर्व गरेको, मेरो हो, मेरो आफ्नो हो, मैले टेकेको धरती मेरो हो भन्ने इच्छाको महत्त्व रहेन। आफ्ना पूर्वज, आफ्नो वंश हराउने, परम्पराको हत्या गर्ने आफ्नै सन्तान हुन्। एउटै भएको सन्तानले वंश बन्द गरिदियो तिम्रो नामनिशान हटाइदियो, एक दिन तिमी शून्य हुनेछौ, यति दिनको तपस्यालाई तिलाञ्जली दियौ भन्ने गुनासो, आक्रोश पोखेकी छन्। सूक्ष्म परिवार, एक्लो सन्तान, पलायनवाद सबै मिलेर वंशमा बाधा आइपर्दैछ, गहन चिन्तन गर्नुपर्छ भन्ने विचार हो कविको।
पृष्ठ २७ मा राखिएको कविता ‘चौरास्ताको कवि’-मा यसरी लेख्छिन्-
‘बिहान बेलुकी, दिन रात देख्छु
सदा मौन, गम्भीर शान्त।
आउने जाने बीच
नयनमा अनन्त विनय गरेर
के सम्झन्छौ? के खोज्छौ?
दुनियाँले सम्झे झैं तिमी पनि सोंच
तिमी ढुंगा, तिम्रो मुटु ढुंगा।
सदा सुन विदेशी प्रश्न
के? किन यहाँ?
प्रत्युत्तरमा अन्कनाउँदै लजाउँदै
आएको आवाज हाम्रो कवि।
वाणीले विद्रोह गर्न सक्तैन
निर्विकार बनी निर्विकार हेर।’ (पृष्ठ २६/२८)
चौरास्तामा बिहान-बेलुकी हिँड़्दा देखिन्छन् ठिङ्ग उभिएका कवि। शान्त, गम्भीर, मौन प्रतिशोध, प्रतिरोध गर्दैनन् उनी। मानिसले सम्झन्छन् कवि अशक्त, अबोध छन्, विद्रोह गर्न सक्तैनन्। ढुङ्गाको मुटुहरूमा मन छैन। मन पत्थर भएकै दीन-दुःखीहरूको दुःख बाँड्न नसकेको हो। ढुङ्गाको मन भएको कविले सोच्दैनन्, गर्दैनन् भन्ने सोचाइ छ भनेकी छन्। कवितामा चौरास्ताको कविको आज हत्या भएको छ, बोल्ने मुखमा घोँचो हालिएको छ। आँखाअगाड़ि अन्याय, अत्याचार, असमानता, झूटो कुरोको खेती तर बोल्न सक्तैनन् कवि। चौरास्ताका कवि बैंशमा उन्मुक्त चाल हिँड़ेका नेपाल र भारत हुँदै भ्रमण भाषणहरू सुनेका, महाकाव्यमा कसम खाएका कथाहरूका सूचीहरू अनगन्ती छन्। तर कवि शान्त, चुपचाप छन्।
कवि युगको लाञ्छना, तिरस्कार, अपमान सहँदै युग युग बाँचिरहेछन्। लेख्न, भन्न, सिकाउन चाहने आज मौन छन्। एक दिन सहन शक्तिको घड़ा भरिएर पोखिएको दिन चौरास्ताको छेउको शहरले थाहा पाउनेछ प्रलय। कवि कायर हुनु हुन्न, तिमीले बोल्नुपर्छ, लेख्नुपर्छ, सत्यता उजागर गरिदिनुपर्छ तर आज तिमी किन कमजोर छौ, तिम्रा ओठ पत्थर भएका छन्। त्यो तिम्रो पाषण नेत्र फोरेर मनको आँशु बाहिर निस्कनै सक्तैन। वाणीले विद्रोह गर्न नछोड़। अब सहनु हुन्न, बिकुल फुक विद्रोहको भनेर कवि सावित्री सुन्दास भन्छिन्। कविको मूर्तिलाई प्रतीक बनाई बिम्बात्मक कविताले समाज, परिवेश, नागरिक, समूह सबैलाई व्यङ्ग्य कसेका छन्। गहन शैली, गहन शब्दहरूको मिश्रणले लेखिएको सिर्जनाले उनी एक वरिष्ठ कविको रूपमा उभिन सकेकी छन्।
कवि सुन्दासका अन्य कविताहरूमा ‘मलाई बाँच्न कर लागेको छ’, ‘कल्पनासित केही क्षण’, ‘झरेको कोपिला’, ‘गऱ्यो स्वयं अर्पित’, ‘एक रुख दुइ गुँड़’, ‘आँखा नरूझाउनु’, ‘शिशु शव’, ‘शैशव बात’, ‘केही नदिईगयौ’ आदि ८० वटा कविताहरू एक-सा-एक छन्। खारिएकी, अनुभवी, शब्द भण्डार र भाव भण्डाकी धनी, भारतीय नेपाली साहित्य समाजले मूल्याङ्कन गर्न भुलेको कवि हुन् सावित्री सुन्दास। वीरपूजा सभ्यताको अङ्ग हो भनेर लेख्दालेख्दै के हुन् सावित्री सुन्दास? के योगदान छ साहित्यमा सुन्दासको बुझौं। यीमध्ये एउटा कविताको कुरा गर्दा ‘मलाई बाँच्न कर लागेको छ’-मा यसरी लेख्छिन् –
‘मेरो मृत्युसँग कसैको जीवन बाँधिएको छ।
त्यसैले मलाई बाँच्न कर लागेको छ।
मार्मिक आघातले रोगिएको हृदय
जीवनको पराकाष्ठा नाघिसक्दा
नैराश्यको कालो छायामा
सुनौलो प्रभात पर्खेर
निर्मल आत्मीयता सुम्पेर
लुकीलुकी सधैँ मेरो निम्ति
आँशु बगाएको छ
त्यसैले मलाई बाँच्न कर लगाएको छ
व्यथाको असह्य यत्रंणामा छाती दुख्दा
आराम पाउनलाई...।’ (पृष्ठ ६६)
कवि यहाँ बाँच्न चाहन्छिन् उनैको लागि जो उनीसँग नजीक छन्। बाँच्न कर लागेको छ आफू हृदयको रोगीनै भएपनि। निराश मन, रोगी मन लिएरै पनि हाँस्नै पर्ने बाध्यता छ। हुनपनि जीवन यस्तै हो, मन रोए पनि हाँसोको प्रदर्शन गर्नुपर्छ। कविको सुनौलो जीवनमा साथ दिनकै लागि आफू झरिलो भई बाँच्नैपर्छ भन्ने लाग्छ।
जब आफू असत्य पीड़ामा पौडँदै गर्दा, छाती दुखेर आरामको निम्ति छटपटिँदा साथ दिने उनैको निम्ति बाँच्नैपर्ने बाध्यता छ। बाँच्न करै लागेका कारणहरूमा मध्य यौवनमा अधकल्चो भई पिल्सिरहँदा, जीवनका तरङ्गहरू नमिल्दा, जीवनको अप्ठ्यारो बाटोमा जोगिँदै हिँड़्ने समयमा प्रेमको सहारामा साथ दिने उनैको निम्ति तटस्थ रहनुपरेको छ भन्ने मनका भाव पोखेकी छन्। गहन भावमा नजानिँदो प्रकारले आफ्नो प्रियको निम्ति बाँच्छु भनेर कसम खाएकी छन् कवितामा। सङ्केत, बिम्बहरू पाइने उनका सिर्जनाहरूमा सन्देशमूलक कहीं कतै विरोधाभास, कतै निराशा छ त कतै जिउने आशाहरू देखिन्छन्।
कविता ‘मूक दया’ -मा लेउनी लेख्छिन् –
‘म करुणा चाहन्न, आँखा चिम्म गर,
छोप परेलाले वा फर्काऊ मुख म तिरबाट
तिम्रो मुहारमा झल्केको वेदना
आँखाबाट छल्केको करुणा
गहिरो समवेदनाको सुस्केरा
छातीमै दबाऊ म चिन्छु
उपेक्षा र घृणालाई
लाञ्छना र तिरस्कारलाई
यिनीहरूकै कटकमय काखमा
म हुर्केकी हूँ
यसकै विषयछालामा
म बाँचिरहेकी छु...।’ (पृष्ठ १२८)
‘म करूणा चाहन्न, मृत्युपछि पनि बाँच्नेछु
नत्र त मेरी पुलपुलाएकी पीड़ा
एक्लो र टुहुरी हुन्छे
मृत्युपछि पनि मलाई बाँच्नपर्छ
तिमी मन अमिलो नपार, म करुणा चाहन्न।’ (पृष्ठ १२९)
निडर, निर्भीक कविले जीवनको अन्तिम अवस्थातिर आइपर्ने वृद्धावस्था, रोग, लाचारी र मृत्यु आदि स्विकार्न चाहेकी छैनन्, कारण जीवनभरि माया गरेको आफ्नै आत्मा, आफ्नै जीवन, आफूले पुलपुलाएका पीड़ाहरू, दुःख, सुखहरू एक्लो हुनेछन्। आफ्नो मृत्युपश्चात् ती पीड़ा, खुशी, उतार-चढ़ाव, असन्तुष्टि, सफलता-असफलता भोगेर सबै टुहुरो हुनेछन् भन्ने डर लाग्छ कविलाई।
यौवनकालको सुन्दरता, बल, ताकत, प्रेम कहिल्यै अन्त हुँदैन भन्ने लाग्छ। वयस्क हुँदै जाँदाका कमजोरीपनहरू स्वीकार गर्न चाहेकी छैनन्। आफू त्यही तरुण अवस्थामै रहिरहूँ मेरा प्रियहरू यतै कतै मेरै वरिपरि रहिरहून् भन्ने इच्छा, चाहना राख्छिन्। जीवनमा कुनै लाञ्छना, कलङ्क, अपगाल लिन छैन, यी लाञ्छनाहरूदेखि टाढ़ै रहेर आत्मीययुक्त प्यार र सम्झनाहरू छन्, यसैले म बाँच्नैपर्छ, तिम्रो करुणा, चाहन्नँ म, म स्वयं निश्चित बाँचिरहन चाहन्छु, मूक दया चाहिँदैन, म परिपक्व छु भन्ने सन्देश दिएकी छन्।
जीवनको यथार्थलाई बुझ्ने कवि ‘बाटोमा’ शीर्षक कवितामा भन्छिन् –
‘क्षणभरको साथमा
बाटोको लम्बाई, चौड़ाई ननाप
अज्ञातलाई धन्यवाद दिएर
यस क्षणलाई स्वीकार गर
यसले दुई अपरिचितलाई...
परिचित बनाएको छ,
लक्ष्य बेग्लै छ
तर सँगै जुटेको छ।
विचित्र मिलनमा
अनौठो प्रश्न किन गऱ्यो?
बाटोमा फेरि भेट होला
अनायास मिलनको अनायास विछोड़
यसमा वचनको के महत्व?
म तिमीलाई चिन्दिनँ
तिमी मलाई जान्दैनौ
यो बाटो हो
जहाँ हजारौं भेटिन्छ
हजारौं छुट्टिन्छ
अज्ञातलाई धन्यवाद दिएर
यस क्षणलाई स्वीकार गर
प्रकृतिको कठोर तत्व
पाएर किन
आँखामा पीड़ाको गहिरो छाया?
यो दुनियाँ हो
पाङ्ग्रा झैं घुम्ने
कतिलाई व्यथा सुनाउँछौ
छातीको घाउ देखाउँछौ?’ (पृष्ठ ६३/६४)
कविलाई लाग्छ प्रत्येक क्षण दिनको एक शुरूवात हो। जीवन-यात्रामा क्षण क्षणमा आगन्तुकहरूसँग भेट होइन्छ। त्यो भेटलाई हृदयले नै स्वीकार गर्नपर्छ। अज्ञात व्यक्तिसँगको परिचयलाई सकारात्मक ढङ्गमा लिएर स्वीकार्नुपर्छ। मानिसको आ-आफ्नै लक्ष्य र उद्देश्य हुँदछ, आ-आफ्नै कार्यक्रम र यात्रा हुँदछ, यसैले क्षणिक परिचयलाई अविस्मरणीय बनाउन सक्नुपर्छ। भेटिनु छुटिनु नै जीवन हो। पृथ्वीको परिक्रमाले परिवर्तन ल्याउँछ, दिन र रात छुट्टिने सत्य जस्तै आगन्तुकसँगको भेटले त्यही सत्यलाई स्वीकार्नुपर्छ। पृथ्वी सूर्यको वरिपरि घुमेकैले ऋतु परिवर्तन हुँदछ। यसैले मानिसको सङ्गमले धेरै परिवर्तन ल्याउने गर्छ। स्वीकार्दै अघि बढ़्नपर्छ। आफ्नो व्यथा अरूलाई नसुनाऊ, छातीको घाव नदेखाऊ। कदापि कायर नबन, बरु त्यो मनको पीड़ा, घाउलाई सुमसुम्याएर मुस्कुराऊने प्रयास गर भनेर सकारात्मक भई जीवन जिउने सुझाउ दिएकी छन्।
बेजोड़, उच्च स्तरीय कविता लेखेरै त्यसताक खड़ेरी परेको साहित्यमा नारी हस्ताक्षरको बलियो झण्डा गाड़ेकी हुन् कवि सावित्री सुन्दासले। उनको यस सङ्ग्रहका ८० वटा कविताहरू सबै गहन छन्। ‘केही नदिईगयौ’, ‘गर्मीको रात’, ‘तिमी टाढ़ो नभएको भए’, ‘नगर पूजा पत्थरको’, ‘रातको काखमा जुत्ताको आवाज’, ‘अल्झो’ आदि शीर्षकहरूका विभिन्न विषय-वस्तुहरूमाथि लेखिएका कविताहरू सबै उदाहरणीय छन्। पृष्ठ सङ्ख्या ८१ मा कविता ‘वृद्धा’ शीर्षकमा चार पृष्ठको लामो कविता लेखेकी छन्। वृद्धावस्थाको भयले पिरेको छ कविलाई, यसैले भन्छिन् –
आज त्यहाँ चारैतिर केवल पतझड़ छ
बहार ठुस्केर टाढ़ा-टाढ़ा
कल्पनादेखि पनि दूर दूर
सुदूर अतीतको स्वप्निल
छाया झैं झझल्को मात्र छोड़ेर
रूखो सेताम्मे भएर डल्लो परेको केश
पानी र साबुनमाथि अट्टहास गर्दै
जमिएको हिउँझै स्थिर र निस्पन्द छ।
धर्कैधर्का परेर खुम्चिएको निधारमा
कुनै दिन पुष्ट छालाले पनि छोप्यो होला
त्यहाँ सिन्दुरको रातो गोलो टीकाले
भर्खर भर्खर उदाएको सूर्यको
अरुणछटा फिजाएर कतिलाई देखायो होला।
धमिलो तुवाँलो...।
अन्तका लहरहरूमा यसरी लेखेकी छन् –
...तर आज घर घर घस्रेर
एक मुट्ठीको निम्ति
आफू सम्पूर्ण अस्तित्व गुमाइरहेछ।। (पृष्ठ ८४)
सन् १९४० मा जन्मेकी अनि हाल ८४ वर्ष पुगेकी कविले आफू ५६ वर्षको उमेरकी छँदा यो सिर्जनासँगै कविता सङ्ग्रह प्रकाशित गरेकी हुन्। त्यस समयदेखिनै उनमा आइपर्ने वृद्धावस्थाका कटु सत्य र सम्भावनाहरू देखेकी थिइन्। बुढ़ेसकालका विभिन्न समस्याहरूसँग हामी जुझ्नैपर्छ भन्ने सन्त्रास उनको मनमा देखिन्छ। टाढ़िन नसकिने कटु सत्य हो वृद्ध अवस्था।
हिमाल चढ़्ने सामर्थ्य राख्ने व्यक्ति, आकाशको तारा लिएर आउने बाचा गर्ने प्रत्येक प्रत्येकले नै उमेरकोअगाड़ि घुँड़ा टेक्नै पर्ने अवस्था र दिन आइपर्छ भन्ने सन्देश दिने कविलाई के हामीले राम्ररी चिन्यौं? के उचित मूल्याङ्कन भएको छ वरिष्ठ नारी हस्ताक्षरको? हाल कहाँ कसरी कुन अवस्थामा जीवन व्यतित गरिरहेकी छन् होला के हामीले खोजेका छौ? अनेकन् प्रश्नहरू छन्। वीरहरूको पूजा गर्ने समाजले साहित्यवीरहरूलाई कतिको सम्झन्छन्? समयमा नै सोच्नुपर्छ भन्ने लाग्छ। हामीले नबिर्सौं वरिष्ठ कवि सावित्री सुन्दासलाई पनि।
***
खरसाङ (हालः सिलगढ़ी)