'संस्कृत शिक्षामा डटपेनदेखि डटकम पुस्तासम्मको आकर्षण','संस्कृत शिक्षणसम्बद्ध त्रिदिवसीय कार्यशाला गोष्ठी सम्पन्न
झापा १६ जेठ/नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ अन्तर्गतको अनुसन्धान व्यवस्थापन एकाइ (RMC) द्वारा विश्वविद्यालय अनुदान आयोग(UGC)को तत्त्वावधानमा संस्कृत शिक्षामा पुस्तागत भिन्नता विषयक त्रिदिवसीय कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ।
जेठ १२-१३ र १४ गते आयोजित उक्त गोष्ठीको उद्घाटन सत्रमा RMC, वाल्मीकिका संयोजक तथा वाल्मीकि विद्यापीठका पूर्वप्राचार्य डा.गणेशप्रसाद घिमिरेको सभाध्यक्षता, विश्वविद्यालय अनुदान आयोग, नेपालका निर्देशक डा. केदारप्रसाद आचार्यको प्रमुख आतिथ्य, नेपाल संस्कृत विश्वविद्यालयका परीक्षानियन्त्रक सहप्रा. मुरलीधर दाहालको विशिष्ट आतिथ्य, वाल्मीकि विद्यापीठका प्राचार्य प्राध्यापक अच्युतप्रसाद लामिछानेको विशेष आतिथ्य रहेको थियो भने उक्त उद्घाटन सत्रको सहजीकरण RMC का सहसचिव तथा उपप्राध्यापक डा. शेखर दाहालद्वारा गरिएको थियो । त्यसैगरी उक्त कार्यशाला गोष्ठीमा वाल्मीकि विद्यापीठका सबै विभागका विभागाध्यक्ष तथा विद्यापीठमा अध्ययनरत विद्यार्थीहरूमध्ये सबै विभागका प्रतिनिधिमूलक छात्रछात्राहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
गोष्ठीमा संस्कृत शिक्षासम्बद्ध प्राज्ञिक तथा अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत गरिएको थियो भने उद्घाटन सत्रका प्रमुख अतिथि डा. केदारप्रसाद आचार्य (निर्देशक-यूजीसी) द्वारा शुभकामना मन्तव्यका क्रममा संस्कृत विश्वविद्यालयलाई पौरस्त्य संस्कृतिको संरक्षणपूर्वक स्थापनागत उद्देश्य परिपूर्तिका लागि पुनःसंरचना गर्नुपर्ने, विश्वस्तरीय विश्वविद्यालय बनाउन आयुर्वेद, योग तथा वास्तु-इन्जिनियरिङजस्ता विश्व/समाजले खोजेको पाठ्यक्रम निर्माण, संस्कृत विश्वविद्यालयले आफ्नो उपादेयता पुष्टिका लागि पठनपाठनलगायत अनुसन्धानकार्यमा अघि बढ्नु पर्ने, पढ़ने पढाउने कार्यमा प्रविधिमैत्री हुनु पर्ने र जेन्जी आन्दोलनका पुस्ता, त्यसपछिका पुस्तालाई कसरी संस्कृत विद्याप्रति आकर्षण गर्ने ? नयाँ पुस्ताले के खोजिरहेका छन् ? त्यसलाई अध्ययन गर्दै नयाँ पुस्ताको रोजाइमा संस्कृतलाई स्थापित गर्नु पर्ने, विद्यालयतहदेखि नै नयाँपुस्तालाई संस्कारशिक्षा प्रदान गर्न संस्कृतविश्वविद्यालयका प्राध्यापकले योगदान पुर्याउनु पर्ने, प्राध्यापक तथा कर्मचारी सबै नैतिकरूपमा उत्तरदायी बन्नुपर्नेतर्फ ध्यानाकर्षण गराइएको थियो । 
जेठ १२ गते उद्घाटन सत्रसमाप्तिपश्चात् वाल्मीकि विद्यापीठ, नेपाली विभागका प्राध्यापक डा. देवी नेपालद्वारा ‘पुस्तागत भिन्नता र शिक्षण पद्धति’ शीर्षक कार्यपत्रको प्रस्तुति गरिएको थियो । प्रस्तुत कार्यपत्र एउटै कक्षामा विभिन्न उमेर समूहका विद्यार्थीहरू छन् भने तिनका लागि गरिने सिकाइ सहजीकरणमा के कस्ता विधि वा पद्धति प्रयोग हुन सक्छन् ? भन्ने मूल समस्या-समाधानमा केन्द्रित रहेको थियो । नेपालमा संस्कृत शिक्षाप्रति आकर्षण बढेसँगै नेपाल संस्कृत विश्वविद्यालयका शास्त्री र आचार्य कक्षामा अहिले एउटै कक्षामा २० वर्ष भन्दा मुनि(१८वर्ष) देखि र ६० वर्षभन्दा माथि (८४ वर्षसम्म) का विद्यार्थीहरूलाई एकै ठाउँमा राखेर सिकाउनु पर्ने अवस्था सिर्जना भएको, दुई पुस्तालाई सिकाइ र प्रविधिसँग जोडेर हेर्दा ‘डटपेन पुस्ता’ र ‘डट कम पुस्ता’का बीचमा पुस्तागत सम्बन्ध र दूरी स्पष्ट देखिने अनि सोच्ने र काम गर्ने तरिकामा समेत पुस्तागत भिन्नता भएका कक्षामा प्रयोग गर्न सकिने व्यावहारिक एवम् उपयोगी शिक्षण विधिहरू (आत्मनिर्देशित पद्धति, अनुभवमा आधारित पद्धति, उद्देश्यपूर्ण पद्धति, समस्या समाधानमुखि पद्धति, तत्काल उपयोगिता पद्धति, मिश्रित सिकाइ पद्धति आदि ) को खोजी र विश्लेषण गरी तिनको प्रयोगका लागि डा. नेपालको कार्यपत्रले दिग्दर्शन प्रस्ताव गरेको छ ।