रहेनन् जनकवि दुर्गालाल श्रेष्ठ
फूलको आँखामा फूलै संसार
काडाको आँखामा काडै संसार.........
झापा १ भाद्र/प्रस्तुत गीतका गीतकार तथा जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ ।९३ वर्षका उनको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको साहित्यकार तथा चलचित्र समीक्षक प्रकाश सायमीले जानकारी दिए ।
केही समयदेखि बिरामी रहेका उनी पछिल्लो ६ दशकदेखि लगातार साहित्य सिर्जनामा सक्रिय थिए । उनले नेपाल भाषासहित नेपालीमा पनि कविता र गीतसँग अन्य विधामा पनि कलम चलाएका छन् । नेपाल भाषा परिषद्ले दुई दशक अगाडि उनलाई जनकविको उपाधिबाट सम्मानित गरेको थियो । उनका नेपाल भाषाका एक दर्जन भन्दा बढी कृति प्रकाशित छन् ।
श्रेष्ठको जन्म एक निम्न–मध्यमवर्गीय नेवार परिवारमा सन् १९३५ (१९९२) मा काठमाडौँमै भएको थियो । उनले पद्मोदय माध्यमिक विद्यालयबाट विद्यालय तहको शिक्षा हासिल गरेका थिए । उनले सन् १९४९ मा आफ्नो लेखन करियर सुरु गरेका थिए ।
उनको पहिलो कविता दुई थोपा सन् १९५२ मा सुस्केरा पत्रिकामा प्रकाशित भएको थियो । उनले नरोत्तमदास–इन्दिरा पुरस्कार, अभियान पुरस्कार, नूर–गंगा पुरस्कार, राष्ट्रिय बाल साहित्य पुरस्कार, जेएए सर्वश्रेष्ठ नाटककार पदक (१९९१), हरिहर शास्त्री–सावित्री देवी साहित्य पुरस्कार (२००६) आदि जस्ता धेरै पुरस्कारहरू प्राप्त गरेका छन् । उनी सन् १९९५ मा नेपाल प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्यमा पनि नियुक्त भएका थिए । उनलाई २०१० मा जगदम्बा श्री पुरस्कार प्रदान गरिएको थियो ।
गायिका आनि छोइङ डोल्माको चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ उनले नै लेखेका थिए ।
परिवारका सदस्य विदेशबाट आउनुपर्ने भएकोले श्रेष्ठको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोली मङ्गलवार मात्र सार्वजनिक स्थानमा राखिने भएको छ । त्यसपछि श्रेष्ठको अन्तिम संस्कार हुने सायमीले बताए ।