पेन्सिलभेनियामा गजलकार सबिन र त्रिविक्रमको ´गजल साँझ’ सम्पन्न
पेन्सिलभेनियामा गजलकार सबिन शर्मा र त्रिविक्रम नेउपानेको ‘द्वय गजल साँझ’ मंगलबार सम्पन्न गरिएको छ।
कार्यक्रम पण्डित हेम धितालको प्रमुख आतिथ्य र संगमका अध्यक्ष दिपेश चापागाईंको अध्यक्षतामा भएको थियो ।
साहित्य कला संगमको आयोजनामा सम्पन्न ‘गजल साँझ’मा प्रेम र बिछोडका भावसँगै माटोको माया, विस्थापन, श्रमजीवी जीवन र सामाजिक यथार्थका स्वर गुञ्जिए । गजलकार सबिन शर्मा र त्रिविक्रम नेउपानेको प्रस्तुतिले दर्शकहरूलाई व्यक्तिगत अनुभूतिदेखि साझा प्रवासी अनुभवसम्मको यात्रामा डोर्यायो ।
कार्यक्रममा बालकलाकार दिपशिका घिमिरेले त्रिविक्रम नेउपानेको र जेनिसा ढकालले सबिन शर्माको परिचय प्रस्तुत गरेका थिए।
प्रमुख अतिथि धितालले गजलकारद्वयलाई बधाई तथा शुभकामना दिँदै आफूले पनि एक गजल सुनाएका थिए ।कार्यक्रममा नेपाली गजल सिर्जनामा पुर्याएको योगदानको कदर गर्दै शर्मा र नेउपानेलाई सम्मान पत्र तथा दोसल्लासहित सम्मान गरिएको थियो । सम्मान साहित्य कला संगमका अध्यक्ष दिपेश चापागाईं र प्रमुख अतिथि धितालले गरेका थिए ।
शक्तिशाली गजलकार शर्मा र नेउपानेको प्रस्तुतिले दर्शक तथा श्रोताहरूलाई मन्त्रमुग्ध पार्न सफल भएको पत्रकार अर्जुन प्रधानले बताए ।
भूटानको गेलेफू, लोद्राईमा जन्मिएका सविन शर्मा (सविन धिमाल)प्रारम्भमा गोलधाप शरणार्थी शिविरमा बसेका थिए।उनले आफ्नो शैक्षिक यात्रा बिए, इङ्गलिस लिट्रेचरमा अध्ययन गर्दै विभिन्न व्यावसायिक शिक्षा हासिल गरेका छन्।। पेशाले एक आईटी नेटवर्क इन्जिनियर भए पनि नेपाली साहित्यमा गहिरो रुचि राख्ने उनी साहित्यिक क्षेत्रमा सक्रिय छन्।उनको ‘ऐनाअघि उभिएर’ गजल सङ्ग्रह प्रकाशित छ ।
त्यसैगरी भुटानको सुरेमा जन्मिएका नेउपानेले करिब १८ वर्ष गोलढाप शरणार्थी शिविरमा बिताएका थिए ।हाल पेन्सिलभेनियाको लेन्काष्टरमा बस्दै आएका उनी पेशाले लजिस्टिक्स म्यानेजर हुन्। नेउपाने विगत १५ वर्षभन्दा बढी समयदेखि साहित्यिक क्षेत्रमा सक्रिय छन्।
लेन्काष्टर तथा आसपासका क्षेत्रबाट कलाकार, साहित्यकार तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थित रहेको कार्यक्रममा बालबालिकाले नेपाली सांस्कृतिक नृत्यमार्फत अतिथिहरूलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन गजेन ढकालले गरेका थिए।