बिर्तामोडमा लोकनाथ पौड्यालको ‘वायोपिक’ सार्वजनिक
झापा १२असोज / प्राध्यापक लोकनाथ पौड्यालको ´वायोपिक` आइतबार सार्वजनिक गरिएको छ।
झापामा पहिलोपटक व्यक्ति व्यक्तित्वको बहुआयामिक चरित्रलाई केलाउँदै अडियो भिज्युल माध्यमबाट चित्रण गर्ने विधा ‘वायोपिक’मा प्राध्यापक पौड्याललाई समेटिएको हो।
अध्यापनको क्षेत्रमा लामो समय खर्चेका पौड्यालको सामाजिक, साहित्यिक एवम् आध्यात्मिक क्षेत्रमा समेत विशेष योगदान छ ।
यिनै बहुआयामिक व्यक्तित्व पौड्यालको जीवन कथालाई पत्रकार दिपेन भेट्वालले वायोपिकमा उतारेका हुन् ।
‘प्रोफाइल डकुमेन्ट्री’ भनिएको उक्त सामग्री आइतबार बिर्तामोडस्थित होटल हिकोला हेरिटेजमा विशेष कार्यक्रमबीच सार्वजनिक गरियो ।
प्राध्यापक पौड्यालको कर्म, संघर्ष, पारिवारिक पृष्ठभूमि, उपलब्धि तथा सामाजिक, साहित्यिक र आध्यात्मिक क्षेत्रमा पुर्याएको योगदानलाई वृत्तचित्र मार्फत प्रस्तुत गरिएको हो । करिब ३५ मिनेट अवधिको डकुमेन्ट्री डिजिटल फर्म्याटमा तयार पारिएको छ ।
प्रविधिको विकाससँगै सञ्चारको दायरा फराकिलो हुँदै गएको सन्दर्भमा पौड्यालको जीवनका विभिन्न पक्षलाई डिजिटल माध्यमबाट अभिलेखीकरण गरी आम दर्शकमाझ पुर्याउने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको उत्पादक भेट्वालले बताएका छन् ।
वृत्तचित्रमा अर्जुनधारा , बिर्तामोड र सूर्योदय नगरपालिका लगायतका विभिन्न स्थानका दृश्यसमेत समावेश गरिएको छ।
छोरी साहित्यकार चित्रा पौड्यालले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै सहभागीलाई स्वागत गरेको कार्यक्रममा वायोपिकका मुख्य व्यक्तित्व पौड्यालले जीवनका आरोह अवरोहलाई शब्द, दृश्य र चित्रमार्फत् प्रस्तुत गरिदिएकोमा दिपेन भेट्वाललाई धन्यवाद दिइन्। ।
पत्रकार तिलक योन्जनले सञ्चालन गरेको उक्त कार्यक्रममा साहित्य चौतारीका संस्थापक देवीभक्त श्रेष्ठले आफ्ना धारणासहित समापन गरेका थिए ।
हार्दिक आभार स्थान र मूल्यांकन गरिदिनुभएकाेमा।