मिरिकमा आरबि खड्काको ‘फर्केर हेर्दा’ गीतसङ्ग्रह विमोचन
झापा १३ असोज /मिरिकमा स्रष्टा आरबि खड्काको ‘फर्केर हेर्दा’ गीतसङ्ग्रहको विमोचन गरिएको छ।
लामो समयदेखि सपरिवार अमेरिकामा बस्दै आउनुभएका खड्काको गीतसङ्ग्रह वरिष्ठ सङ्गीतकार स्वर्गीय अम्बर गुरुङको स्मृतिमा आयोजित विशेष समारोहबीच विमोचन गरिएको हो।
लभ एण्ड सपोर्ट फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सङ्गीत साधक, साहित्य अनुरागी, स्रष्टा–सर्जक, विभिन्न क्षेत्रका व्यक्तित्व तथा सञ्चारकर्मीहरूको उपस्थितिमा कृति विमोचन गरिएको लेखक खड्काले बताउनुभएको छ।
कृति लोकार्पणपछि धारणा राख्दै खड्काले ‘फर्केर हेर्दा’ आफ्नो सिर्जनात्मक यात्राको महत्वपूर्ण र भावपूर्ण अध्याय भएको बताउनुभयो। जीवनका विभिन्न मोडमा आफूले भोगेका सुख–दुःख, प्रेम–वियोग, प्राप्ति–अप्राप्ति, संघर्ष, आशा तथा मनमा सञ्चित अनुभूति शब्दमा पोखिँदै कृतिका रूपमा आएको उहाँको भनाइ छ। उहाँले ‘फर्केर हेर्दा’ केवल गीतहरूको सङ्ग्रह नभई आफूले बाँचेको समय, भोगेका अनुभूति, देखेका सपना र जीवनका विभिन्न रङहरूको सानो अभिलेख भएको बताउनुभयो।
खड्काले कृतिप्रति पाठक, श्रोता, स्रष्टा तथा गीत–साहित्यप्रेमीको माया, सुझाव र स्वस्थ आलोचनालाई आगामी सिर्जनाका लागि प्रेरणाको स्रोतका रूपमा लिने बताउनुभएको छ। उहाँले जीवनका उज्याला–अँध्यारा, मिलन–बिछोड, हाँसो–आँसुजस्ता अनुभूतिका अनेकौँ रङलाई शब्दमा समेटिएको आफ्नो सिर्जनात्मक प्रयासका रूपमा ‘फर्केर हेर्दा’लाई पाठक तथा श्रोतामाझ समर्पण गर्नुभएको छ।