इन्द्रेनी प्रकाशन असमको लाइब्रेरीमा 'चिया गफ'

दिलिप घिमिरे · फागुन १२, २०८२ ११:५० AM
Cover Image for News

इन्द्रेनी प्रकाशन असमको लाइब्रेरीमा 'चिया गफ'

✍️ समीक्षक - रुद्र बराल
"कविता अभ्यासमा आफूले यात्रा शुरू गरेको मैले गद्यमार्फत दोस्रोपल्ट तपाईँसमक्ष आइरहेको छु। गफ गर्दा तपाईँलाई कतै बोरिङ भने नलाग्ला यति विश्वास राखेको छ। 
 चिया हाम्रो जीवनको पर्याय हो त्यसैले मैले चिया पिउँदै गरिने गफजस्ता जिन्दगीका उकाली ओरालीमा भोगेका कुराहरू,राजनैतिक चेतहरू,राष्ट्रिय खेदहरू,चिनारी सङ्कटका प्रेतहरू,पढ़ेका किताबहरू,सुनेका गीतहरू, मन पराएका पात्र-पात्राहरू,मनपरेका ठाउँहरू,मनमा लागेका संवेदनाका छेस्काहरूलाई पाठका रूपमा छापिदिएको छु। यी नितान्त गफहरू हुन् तर गफ भएरै पनि हाम्रा समाज,देश जाति,मन र मस्तिष्कले अनुभूत गरेकै कुराहरू होइनन् भन्ने पक्कै ठाउँ राखिनँ विश्वास छ।" 

यो उद्धृतांश सिक्किमेली सर्जक प्रवीण खालिङको निबन्ध सँगालो 'चिया गफ' मा लेखिएको लेखकीयबाट लिइएको हो।  हुन त उनले लेखकीय भनेका छैनन्, ' चिया गफका गफ' भनेका छन्, परम्पराबाट अलिक पर उभ्याएर आफ्नो अभिव्यक्ति पोखेका छन्। उनलाई मैले जानेको पत्रकारका रूपमा।'पोखरा अन्तराष्ट्रिय काव्य सङ्गगम' को कार्यक्रममा सन् २०१७ को  सेप्तेम्बर ७-८ मा उनलाई भेट्ता त्यसबेलासम्म उनले पत्रकारबाट कविको औतार लिइसकेका रहेछन्। 'चिया गफ' उनको कविताको अड्डा थियो,मलाई लाग्छ। अहिले उनी निबन्धकारका रूपमा साहित्य मञ्चमा देखेपरेका छन्। प्रवीनका दुई कृति 'झरी' कविता सँगालो र 'चिया गफ' निबन्धकृति। सङ्ख्यात्मक हिसाबले यत्ति नै हो उनको अहिलेसम्मको सिर्जना। यस हिसाबले उनी प्रवीण होइनन्, नवीन हुन्। उमेरमा पनि, सिर्जनामा पनि। तर नवीन हुनु,थोरै लेख्नु नै कुनै सर्जकको मूल्याङ्कनको एकाइ हुन सक्तैन,कृतिको पाठले लेखकलाई साहित्यकारको कुन हाँचमा उभ्याउने पर्ने हो त्यसको ठहर गर्दछ। 

       देवकोटाले निबन्धलाई 'टेबुल गफ' भने,तर निकै दार्शनिक कुरा छाँटे। खालिङले 'चिया गफ' भने, झन्नै झनै देवकोटाकै सोरमा। यद्यपि आलोच्य पुस्तकको न्वारानको नाउँ 'चिया गफ' जुरेछ तथापि प्रचलित नाउँ भने अर्थोकै हुनुपर्थ्यो, मेरो सोचाइ। कारण चिया गफमा रमाइला, हल्का कुरा चल्छन्,यति गम्भीर कुरा चल्दैनन्। न त्यहाँ यति गहनता हुन्छ,न  यस्तो दार्शनिकता। एम. जी. मार्गको चिया पसल 'गोल्डेन टिप्स' को कुरा यहाँ पनि छ। त्यस पसलमा एक-दुईपटक प्रवीणसँग चियाको अड्डामा बस्ने मौका मेरो पनि जुरेको हो। तर मैले त्यस गफमा भेटेका प्रवीण र यस कृतिमा पढेका प्रवीण एकै हुन् त? शंका लाग्छ। निबन्ध लेख्ता उनी ति हँसिला-रसिला-फुर्तिला प्रवीण निकै गहिरिएर,घोत्लिएर,पढेर, गमेर लेख्छन् भन्ने कुरो कृतिले स्पष्ट पार्छ। सफल लेखकको खुबी यही हो,बारम्बर सम्बोधित विषयलाई नयाँ तरिकाले प्रस्तुत गर्ने,नयाँ विषयलाई चर्चामा ल्याउने,सबै विषयहरूलाई नयाँ चस्माले हेर्ने र पाठकलाई त्यसरी  हेर्न बाध्य गराउने। उनले यसै गरेका छन्। जम्माजम्मी १४० पृष्ठामा समेटिएका निबन्धहरू छवटा 'गफ'मा विभक्त छन् - अस्तित्व गफ, प्रेमिल गफ, सम्झना गफ, पर्यावरण गफ, विचार गफ र श्रद्धाञ्जली गफ। प्रत्येक विषयका निबन्धहरू जोड्दा मोठ १२+४+७+४+८+२=३७ वटा निबन्ध पाइन्छ। 

जातीय चेत र अधिकारका प्रसङहरूलाई विषय बनाएर थालेको यो निबन्धकृति संस्मरण र श्रद्धाञ्जलीमा गएर टुङ्गिन्छ। तर उनको जातीय समस्या, पीडा,भोगाइ,व्यर्थ भएको माटाको आन्दोलन यावत कुराहरू फगत वर्णनमा टुङ्गिएका छैनन्,रोचक तरिकाले विषयको उठान गरेर यसभित्रका चोट र घाउहरूको एक्सरे गरेका छन्। उनी भन्छन्," मेरा पुर्खाहरूका हरिनाथ फुटेका कुरकुच्चामा हेर्‍यो भने ठ्याक्कै दक्षिण एशियाको हिन्द महासागर मास्तिरको माटोका टुक्राजस्तै रेखाचित्र भेट्नेछन्।अब यो गुराँसको बोटमुन्तिर धुलाम्मे सडकमा पुस्तौँदेखि मेरो ल्याण्डरोभरको टायरको दाग पनि त छ। त्यतिले पनि दसी र प्रमाण पुग्दैन होला त?''भारतीय गोर्खाहरूको जातीयबोधको मूलाधार यही हो - चिन्हारीको प्रश्न। यही चिन्हारीको प्रश्नको समाधान खोज्छ भारतीय गोर्खा जातीयताबोध। प्रवीणको जातीयताबोध पनि यसैको सेरोफेरोभित्र विविध प्रसङ्गहरूद्वारा सम्बोधित भएको छ। तर उनको विश्लेषण एकपक्षीय होइन, तार्किक र आलोचनात्मक निष्कर्षको खोजी छ यसमा। साँचो भन्दा यस निर्दिष्ट भागमा परेका मात्र होइन सारा किताबका अन्य विषयका निबन्धहरूमा समेत उनको जातीय चेतको आत्माको सघन उपस्थिति पाइन्छ।
      प्रवीण सिक्किमेली सर्जक हुन्। माटाको आन्दोलन चल्यो छिमेकी राज्यमा। यसका छिटाहरू सिक्किममा पनि परे। एक त छिमेकी मुलुक,अर्को एउटै जाति हुनु र त्यही चिन्हारीसँग हाम्रो पनि अस्तित्वको प्रश्न जोडिनु। त्यसैले उनले जातीय भावनामा सिक्किमको आन्तरिक पीडा र दार्जिलिङ्को सामग्रिक पीडा दुवै छ। हाराहारी। 

      प्रेमिल कुराहरू पनि जातीय समस्यासँग जोडिएका छन्। उनको प्रेम प्रसङ्गले मानिसलाई रोमान्टिक भन्दा भावुक बनाउँछ। प्रेम सन्दर्भका निबन्धहरू शृङ्खला कथाझैँ लाग्छन्। उनको प्रेमभित्र नागर जीवनको रुमानी उत्साह र ग्रामीण जीवनको अर्ग्यानिक सन्तुष्टिको द्वन्द्व र सन्तुलनले लुकामारी खेल्छ। हिजोको गाउँले अर्ग्यानिक प्रेम आजको भर्चुवल प्रेममा रूपान्तरित भएको उनी स्वीकार्न सक्तैनन्। उनी नोस्टाल्जिक बन्छन्। उनी मात्र कहाँ हो र! हिजोको युगका प्रोडाक्ट तपाईं-हामीलाई पनि नोस्टाल्जिक बनाउँछन्।
       उनको संस्मरण लेखाइको तरिका अझ गजब छ। उनका संस्मरणहरूमा अरूलाई प्राकृतिक सौन्दर्य पान गराएर जीवन सार्थक तुल्याउनेहरूको जीवन भोगाइ र उनीहरूको जीवन हेराइलाई आलोचनात्मक दृष्टिले हेरेका छन्।
       उनी पर्यावरण सचेत छन्। यो पर्याचेत उनको रुखपात, फुलफल, चराचुरुङ्गीले भरिएको सिक्किमको प्राकृतिक सम्पदा र प्राकृतिक सुन्दरताको महत्व र यसको संरक्षणको आवश्यकता केन्द्रीत हो। तर यसलाई बुझ्न निकै मानसिक कसरत गर्नु पर्छ।

     वैचारिक निबन्धहरूले आजको अखवाह र लहैलहैमा कुदेको दुनियाँलाई खिल्ली उडाएका छन्, अलिखित इतिहासको बिडम्बना, अभिव्यक्ति स्वतन्त्रताको महत्व, राजनीतिक पक्षधरताले पिसेको सामाजिक भाइचारा, कला र जीवनको आत्म सम्बन्ध, शब्द शक्तिको महत्व र सत्ताको डर, समाजको उत्तरणको लागि काँध थापिदिने भुइँमान्छेको परिणाम र क्रान्तिचेत, राजनीतिका चम्चाहरूको लक्ष्मण रेखापारिको अन्तिम परिणाम आदिलाई कतै सोधाहरण उजागर गरेका छन्, कतै तिखो व्यङ्ग्य प्रहार। 
     अन्तिमका दुई निबन्ध दुई विख्यात पुरुषका श्रद्धाञ्जली स्वरूप लेखिएका हुन्। एक गोर्खाल्यान्ड आन्दोलनका पितृपुरुष सुभास घिसिङ र अर्की बहुमुखी प्रतिभाकी धनी अमेरिकी सर्जक माया एञ्जोलाव। यी निबन्धहरूमा जीवनको सार्थकता र जीवन भोगाइको सही अर्थको अनुसन्धान गरिएको छ।

      उनको भाषा छ काव्यिक। आलङ्कारिक छ। अभिधार्थ भन्दा लक्ष्यार्थ छ। बिम्बात्मकता र प्रतीकात्मकताले निबन्धको साध-सीमा तोडेर चिया गफलाई कविताकै समीप लगेर उभ्याइएको छ। यतिमात्र होइन, धेरै ठाउँ कविता जस्तै स्थायीको पुनरावृत्ति गराएका छन्। विषयको गहिराइतिर पाठकलाई फेरि फर्काउने मोह उनको कविको जत्तिको छ।
      
      होइन। होइन, निबन्धको गुम्फन औपन्यासिक छ। कता कता कथा कथा लाग्छ। पात्रहरू छन्, संवाद गर्छन्, पीर पोख्छन् निबन्धकारको भएर। उनले प्राकृतिक चिजलाई मानवीकरण गरेका छन्। कहाँनीको बुईँ चढाएर निबन्धको कथावस्तु अघि बढाएका छ्न्। आख्यानकै कौतूहन निर्वहन गरेका छन् निबन्धहरूले। यो त कविता, कथा र निबन्धका थुँगा भेला पारेर उनेको गद्य रचनाको बहुरङ्गी माला हो।
      भाषा आञ्चलिक छ। विषयवस्तुमा पनि आञ्चलिकताको बोलबाला हुँदाहुँदै पनि घरी घरी वैश्विक चेतनाको ढोका ढकढक्याउन पुगेको छ। अङ्ग्रेजी शब्द भरमार छन्, वाक्य पनि। ठिक आजका छिमलका नानीहरूले जसरी बोल्छन्।
       मोठमाठमा खालिङले आफूलाई निबन्ध लेख्ने पारम्परिक भाषा, पारम्परिक ढाँचा, पट्यारलाग्दो वर्णन, पाण्डित्य प्रकाश गर्ने अत्याधिक मोहबाट केही पर उभ्याएर आफ्नै ढङ्गले निबन्ध गुथेका छन्। निबन्धलाई विभिन्न गीत, कविता, युक्ति र सूक्तिले सजाउनु उनको लेखन शैली हो।नेपाली निबन्धमा देवकोटा,शङ्कर लामिछाने,रामलाल अधिकारी,चन्द्र शर्माहरूले थालेको आत्मपरक निबन्ध लेखनको धारावाहिक श्रोत निकै प्रतिबन्धित भएको समयमा खालिङको यो प्रयास सराहनीय मात्र होइन, अनुकरणीय छ। बाँकी कुरा पाठकले पढेर आफै बुझून्।

ट्यागहरू:
आख्यान साहित्य #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
कवि गणेश निराैलाकाे "कनाटा कैरन" पढेपछि
कवि गणेश निराैलाकाे "कनाटा कैरन" पढेपछि
समीक्षक प्रकाश न्यौपाने पोष्ट-दिलिप घिमिरे - बिहिबार १५ जनवरी २०२६
सीमा आभासको `महायुग´उपन्यास पढेपछि .......
सीमा आभासको `महायुग´उपन्यास पढेपछि .......
समीक्षा-रीता पोखरेल,पोष्ट-दिलिप घिमिरे - शुक्रबार ९ जनवरी २०२६
एन.बी. दाहालको गीति काव्य  ‘म भित्रका गीतहरू’ – मा रसमय लयान्तरहरू   - विमला प्रधान जोशी
एन.बी. दाहालको गीति काव्य ‘म भित्रका गीतहरू’ – मा रसमय लयान्तरहरू - विमला प्रधान जोशी
समीक्षक-प्रधान जोशी,पोष्ट-दिलिप घिमिरे - शुक्रबार २८ नोभेम्बर २०२५