नारायणीको ‘पानीजहाज’मा काव्य उत्सव सम्पन्न
झापा२४चैत्र/गैँडाकोटमा´राष्ट्रिय पर्यटन काव्य उत्सव-२०८२` सोमबार सम्पन्न भएको छ ।
स्थानीय पर्यटन,संस्कृति र पहिचानबारे सशक्त सन्देश प्रवाह गर्दै नारायणी नदीमा सञ्चालित राइनो क्रुज (पानीजहाज)मा गैंडाकोट नगरपालिका र गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा दुई दिवसीय उत्सव सम्पन्न गरिएको हो ।
कार्यक्रमका सहभागीले आइतबार साँझ र सोमबार बिहान नारायणी नदीको पानीमाथि कविता वाचन गरेका थिए ।
गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले स्थानीय कला,साहित्य,संगीत र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु संस्थाको मूल लक्ष्य रहेको स्पष्ट पारे ।
उपप्रमुख शान्ति कोइरालाले नारायणी नदीमा गरिएको कार्यक्रमलाई नयाँ अभ्यासको रूपमा व्याख्या गर्दै यसले उच्च तहसम्म ध्यानाकर्षण गराउने विश्वास व्यक्त गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले साहित्य र पर्यटनलाई जोड्ने यो प्रयासले नवलपुर (नवलपरासीपूर्व) को पहिचानलाई थप उचाइ दिने धारणा राखे।कार्यक्रममा लेखक भूपिन खड्काले ‘नेपाली पर्यटन काव्य,सम्भावना र चुनौती’ विषयमा अवधारणापत्र प्रस्तुत गर्दै पर्यटन र काव्यबीचको सम्बन्धलाई उजागर गर्नुभएकाे थियाे।उहाँले पर्यटन काव्यलाई सम्भावनायुक्त नयाँ साहित्यिक विधाका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयाे।
उत्सवमा देश-विदेशका स्रष्टाहरूले आफ्ना सिर्जनामार्फत पर्यटन,प्रकृति र समसामयिक समाजलाई जोड्ने प्रयास गर्नुभएकाे थियाे।कार्यक्रममा गजलकार नारायण गाउँले,कवि शिव त्रिपाठी लगायतका स्रष्टाहरूले विशेष प्रस्तुति दिनुभएकाे थियाे ।
इतिहास स्मरण गर्दै प्राज्ञ सदस्य लेखराम सापकोटाले विसं २०२२ मा देवघाटमा डुङ्गामै गरिएको काव्यवाचन कार्यक्रमको उल्लेख गर्दै यस उत्सवलाई त्यसैको निरन्तरताका रूपमा व्याख्या गर्नुभयाे ।
उत्सवपछि सहभागी स्रष्टाहरूले मौलाकालिका मन्दिर,देवघाटधाम तथा आसपासका पर्यटकीय स्थलहरूको अवलोकनसमेत गर्नुभएकाे थियाे । साहित्य र पर्यटनलाई एकै मञ्चमा जोड्दै सम्पन्न भएको यस उत्सवले स्थानीय पहिचान प्रवर्द्धनसँगै नयाँ साहित्यिक अभ्यासको सुरुवात गरेको आयोजकले जनाएको छ ।