नारीहरूप्रति

खोलाघरे साहिँलो पोष्ट खगिन्द्रा खुसी · असोज २५, २०८१ १०:१५ AM
Cover Image for News

तिम्रा वाक्य मिठासले हृदयमा सद्भाव नारा भरून्
तिम्रा काेकिलकण्ठले मधुरता सङ्गीतजस्तै छरून्
लेखाेस् दूर भविष्यले विगतका उम्दा सुनाैला कुरा
बेलीझैं यश मग्मगाउन सकाेस् चुम्दै उचा टाकुरा  ।१।

 साँच्चै प्यास हटाउने छङछङे झर्ना हिमाली बन
चाेखाे प्यार सबै सबै हृदयमा गर्दैरहू सिञ्चन
नारीका मनमा रहन्छ जहिल्यै सद्भाव,सङ्लाेपन
देखाेस् शुक्लप्रभाव वास्तविक नै याे विश्वले कञ्चन  ।२।

नारी हाै जल,व्याप्त भूमिभरिका खाेला नदी निर्मल
नारी ताल,कुवा,इनार सब हाै ,हाै सिन्धुव्यापी जल
उड्नू वाफ भई ,झरेर अवनी पार्नू तिमी ऊर्बर
बन्नू प्राणप्रदायिनी जगतकी झन् सत्यमा सुन्दर  ।३।
                                                       
ईर्ष्या आपसमा नहोस्,रिस नहोस्,नारीत्व,सम्मान होस्
छोरी-भ्रूण चिनेर मार्न सुरिने निष्ठूर आमा नहोस्
पुस्ता-द्वन्द्व ,दहेज,निन्द्य करणी,हत्या बलात्कारका 
हिंसाजन्य निकृष्ट कार्य सकिऊन्,सारा कलङ्की टीका  ।४।

बन्दै क्रूर भयङ्करी विकृतिमा दुर्गा र चण्डी बनी
जाईलाग, नियाँ दिने युगजयी उद्देश्य राखी तिमी
तिम्रै साथ लिएर मात्र युगले गन्तव्य पैल्याउँछ
देऊ वत्सल प्यार विश्वभरि नै,मातृत्व माैलाउँछ ।५।

ट्यागहरू:
सहित्य कविता sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
एक्लो बाटोको गीत
एक्लो बाटोको गीत
रिमेन आलोक - मङ्गलबार १ सेप्टेम्बर २०२६
म मरेको दिन…
म मरेको दिन…
कर्ण गुरुङ - मङ्गलबार १ सेप्टेम्बर २०२६
मूर्तिको आँखाभित्रको देश
मूर्तिको आँखाभित्रको देश
दिलिप घिमिरे - सोमबार ३१ अगष्ट २०२६
रातसँगै पलाएको सपना
रातसँगै पलाएको सपना
कवि -हाङओजा थेगिम पोष्ट-दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६