नारी
मलाई दुखिरहेको छ
तर
भन्न सक्दिन कसैसँंग,
जोडले
ऐया ! भन्न मन छ
तर सक्दिन चिच्याउन पनि
म
विवश छु
लाचार छु
र छटपटाइरहेछु
न गुहार माग्न सक्छु
न कसैलाई मनका कुरा खोल्न सक्छु
समाज अबुझ छ
भनौं आफ्नो स्वाभिमान गुम्ने डर
नभनौं
ज्यानै जाला भन्ने डर
मलाई धेरै दुखिरहेको छ
गहिरो पीडामा छु म
न खान सक्छु, न पिउन सक्छु
न सुत्न, न निदाउन सक्छु
पीडाको सीमा छैन
बस् ! आशा यति छ
एकदिन
यो समय पनि बितेर जानेछ
समयको दुखाई
समयले निको पार्नेछ
पुनः दिन सहज आउनेछ
म त्यही दिनको आशामा छु
बिहानीको घामको पर्खाइमा
दु:ख बिर्सेर
खुलेर
घुम्ने, नाच्ने र खुसी हुने रहर पालेर
मरेको आशा ब्युँझाउँदै
म को हुँ भनेर
संसारलाई चिनाउनु छ
केही गरेर
केही बनेर
मनको घाउ पालेर बसेकाहरुका लागि
मल्हम बन्नु छ मैले ।
हजारौको आँशु पुछ्दै
आफू भएर
देखाउनु छ
म जस्ताको आवाज बन्नु छ
यतिखेर
म हारेपनि
मैले
मलाई नै जितेर देखाउनु छ
आजलाई
सहेर,
आजसँग लडेर,
चाँडो जीवनका समस्याहरुबाट
छुटकारा लिनु छ
त्यसैले दह्रो पारेकी छु मनलाई
दुनियाँले जे भनोस्
जे सोचोस्
अब पर्वाह छैन मलाई
म मजबुत छु
म सक्षम छु
अब
हरेक पीडालाई जित्न सक्ने
बनेकी छु
त्यसैले हजारौँ पीडा सहेर
संसार जित्न सक्ने
आत्मविश्वास बढेको छ
म असफल हुन सक्छु
तर
कहिल्यै हार्न सक्दिन
मसँग त्यस्तो शक्ति छ
जो,
हरेक नारीमा छ ।
नारी !
यही शब्द पर्याप्त छ
पीडा हुनसक्छ, असफलता हुनसक्छ
तर डर छैन
मात्र उत्साह छ र आशा छ
जोस् र सकरात्मक भावना छ
त्यसैले जित्नेछु म
हरेक पल
हरेक क्षण
यिनै दुःखलाई औजार बनाएर
यो युद्ध अवस्य जित्नेछु