माईपोखरीको सेरोफेरो

डा.गोपीकृष्ण खतिवडा पोष्ट-दिलिप घिमिरे · साउन ३०, २०८१ ७:५२ PM
Cover Image for News

माईपोखरीको सेरोफेरो

                           -डा.गोपीकृष्ण खतिवडा 

इलाम पूर्वी नेपालको महत्वपूर्ण गन्तव्य हो। प्राकृतिक, धार्मिक, साँस्कृतिक एवम् सामाजिक दृष्टिले यस जिल्लाको निकै  महत्व रहेको छ। यहाँको  भौगोलिक बनोट र हावापानीमा पाइने विविधताले हरकसैको मन आकर्षित गर्छ। इलाम  पाँच  "अ"बाट पनि प्रसिद्ध छ। अदुवा, अम्लिसो, ओलन, अलैची र अकबरेको उत्पादनले इलाम कृषिप्रधान जिल्ला हो भन्ने कुरा प्रष्ट छ।

 मिति २०८१ साल साउन १६ गते  इलामको माइपोखरी र आसपासका क्षेत्रको भ्रमण गर्ने मौका मिल्यो।इलाम जिल्लाको एउटा महत्वपूर्ण गन्तव्यका रूपमा रहेको माइपोखरी पुग्दा प्राकृतिक एवम् आध्यात्मिक आनन्दको अनुभूति त पर्याप्त मात्रामा भयो नै, साथमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा यस क्षेत्रको योगदान बारे थप जानकारी समेत प्राप्त भयो।

 माइपोखरी नजिकै देउराली बजार रहेछ।त्यहाँ पुग्दा वाल्यकालको एउटा सानो घटना पनि याद आयो र मित्र सन्तोषजीबाट त्यस क्षेत्रको पुरानो अवस्थितिबारे जानकारी लिएँ। 
 २०४३ सालमा १२ वर्षको उमेरमा म इलामबाट  हिँडेर पाचथरको खुँगा गएको थिएँ ।ऊ बेला पाँचथरको फिदिम जाने मुख्य बाटो यही थियो।हाम्रो पुर्ख्यौली भुइँ खुँगामा धार्मिक यज्ञ लगाउने उद्देश्यका साथ हिंडेको भ्रमण दलको एउटा सदस्य म पनि थिएँ ।साथमा बुबाकाकाहरू, आमाभाउजूहरू, दाजुभाइहरू र साथीभाइहरूको जम्बो टोली थियो। इलामबाट अबेर हिडेको हाम्रो टोली माइपोखरी बास बसेको थियो।

एउटा  बडेमानको छाते ढुङामुनि हामी सुतेका थियौं ।छेउमा फाँटिलो टार थियो। त्यही टारमा एक- दुई गोठहरू थिए।हामीले त्यही टारमा भात पकाएर खाएका थियौँ ।बुबाहरू  झापा ओहोरदोहोर गर्दा धेरैपटक त्यो ढुङ्गामुनि बास बस्नु भएको थियो रे।ऊ बेला माइपोखरी आसपासमा बाघ भालुजस्ता जनावरहरू पनि देखिन्थे रे।

 अहिले त्यो क्षेत्रमा ठुलै बजार बसेछ, जसलाई देउराली भनिंदो रहेछ।त्यो ढुङ्गाको पनि अवशेषमात्र बाँकी रहेछ। बाटो बिस्तार गर्दा ढुङ्गो काटिएछ र सानो पहराजस्तो बनेछ।
 त्यस ठाउँको वर्तमान अवस्थितिमा मैले मानवको जीवनशैली र सुविधाको परिवर्तित रूप नियालेँ।कति परिवर्तन भएछ हाम्रो जीवनशैली।बटुवाहरू अनकन्टार जङ्गलका ओडारमै रात बिताइ दिन्थे।न कुनै त्रास, न कुनै सन्ताप, मात्र शान्ति र सत्यको बास थियो।

बटुवालाई पानी खुवाउन पाउँदा धर्मको अनुभूति गर्ने त्यो जीवनशैली एकादेशको कथा बनेछ।बटुवा र ढाक्रेहरूसँग ठाउँ ठाउँमा हुने जम्काभेट र देउरालीमा बसेर थकाई मार्दै गीत सुसेल्ने चलन सबै शून्य भएछ। एक घन्टाभन्दा बढी समय बिताउदा एउटै पनि ढाक्रे भेटिएन।

मैले सन्तोषलाई सोधेँ- आजभोलि यो बाटामा ढाक्रे हिड्दैनन? ढाक्रेजति सबै कतारमा छन् दाइ! ढाक्रेनी जति सबै छोराछोरी पढाउन सहर पसे। गाउँमा बूढाबूढीमात्र छन्, अनि ढाकर कसले बोक्ने? अहिलेको ढाक्रे ऊ त्यही हो त्यसले मान्छे र सामान दुबै बोक्छ भनेर सन्तोषले हाम्रै अगाडिबाट छिनछिनमा ओहोरदोहोर गर्ने ट्याक्सी देखाए। 

उनले  सहज ढङ्गले मेरो जिज्ञासा मेटिदिए।म हिँडेको त्यो बाटो "फिदिम जाने मुख्य बाटो थियो अरे"मा परिणत भएको कुरा  वर्तमान पुस्ताको प्रतिनिधि चरित्र सन्तोष भाइकै मुखबाट सुनेपछि त्यो बाटो हराएजस्तै हाम्रो जीवनशैली पनि हराउँदै गएको तीतो अनुभूतिले मन तरङ्गित भयो। 

परिवर्तन संसारको नियम रहेछ भन्ने स्वीकारेर अघि बढ्नु बाहेक अर्को विकल्प थिएन तर मनमा एउटा जिज्ञासाचाहिँ उब्जियो,  परिवर्तनका नाममा हामीले अवलम्बन गरिरहेको बाटो हाम्रो मौलिकताअनुकूल छ त?
 सन्तोष भाइले २०१९ सालको प्रजातान्त्रिक  जनआन्दोलनमा आफ्नो समाधि (खाल्टो) आफैँ खनेर प्रजातन्त्रको प्राप्तिका खातिर सहर्ष मृत्यु वरण गर्ने एकै परिवरका ७ जना सदस्यको सङ्घर्ष र योगदान बारे पनि जानकारी दिए।

 तत्कालीन राज्यसत्ताको निरङ्कुशताका विरूद्ध जीवन उत्सर्ग गर्ने महान सहिदहरूको सम्झनास्वरूप त्यहाँ सामूहिक समाधि स्तम्भ निर्माण गरिएको रहेछ र सानो पार्क पनि निर्माण गरेको पाइयो ।पार्कको अवस्थामा म वर्तमान गणतान्त्रिक व्यवस्थाको विकृत रूपको अनुभूति गर्न पुगेँछु।

सन्तोषलाई सोधेँ - यहाँ  कुनै विशेष कार्यक्रमहरू पनि हुन्छन्?यसको विकास र प्रचार किन हुन सकेन? केही पनि हुँदैन दाइ!कसैलाई केही मतलब छैन।यो यस्तै हो।हुनेखाने हैकमबाला परिवारका सदस्य भए हुन्थ्यो होला। यी बिचरा वर्षौंदेखि पाखो रुँगेर बसेका गरिब जनताको वलिदान कसले देख्ने?सन्तोषको उत्तरमा वर्तमान राज्य व्यवस्थाको उदाङ्गो चरित्र लुकेको थियो।शक्ति र सत्ताको प्राप्तिलाई नै जीवन आदर्श मान्ने आजको मानव चरित्र नेपाली राजनीतिमा हाबी हुँदा सहिदहरू उपेक्षित हुनु, ढाक्रेहरू विदेशिनु अनौठो विषय होइन भन्ने ठानेर चित्त बुझाएँ।

 बाटामा माइपोखरी संस्कृत मावि पनि रहेछ। अचानक ३० वर्ष अगाडि धरान पढ्दाका मित्र तुलसी खतिवडाजी भेटिनु भयो।मैले परैबाट चिनेर बोलाएँ, उहाँले चाहिँ  चिनाएपछि मात्र चिन्नुभयो। उहाँ त्यस विद्यालयमा  अध्यापकको रूपमा सेवारत हुनुहुँदो रहेछ।मित्रसँङ भेट्दाको आनन्दानुभूतिले मन हर्षित भयो।

 गज्जबको कुराचाहिँ संस्कृत  माविमा संस्कृत चाहिँ पढाइ हुँदो रहेनछ। मित्रले दिएको जानकारीअनुसार माओवादी द्वन्द्वका बेलादेखि संस्कृतको पठनपाठन बन्द भई उक्त विद्यालय साधारण माविमा परिणत भएको रहेछ। सन्तोषले आफ्नै शैलीमा मलाई ढाप मार्दै भने- दाइ!एल.बि लुङ्गेली र दीपक लुङ्गेलीले पढेको स्कुल यही हो।लुङ्गेली ब्रदर्सको प्राज्ञिक क्षमताबाट म पूर्व परिचित थिएँ ।मलाई लाग्यो- उहाँहरूको व्यक्तित्व निर्माणमा पूर्वीय वाङ्ग्मयको जननी संस्कृत भाषाको पनि योगदान रहेछ ।

 संस्कृत विश्व भाषा हो र यो संसारकै सबैभन्दा बढी वैज्ञानिक  भाषा हो।यस भाषाको प्रारम्भिक ज्ञान जनस्तरसम्म पुर्याउने उद्देश्यका साथ निर्माण गरिएको उक्त विद्यालयमा संस्कृतको पठनपाठन बन्द हुनुको मुख्य कारण माओवादी जनयुद्ध रहेछ।
 माओवादी जनयुद्ध नेपालको राजनीतिक इतिहासको एउटा उल्लेख्य घटना हो। यसका आफ्नै वैशिष्ठ्य हुँदाहुँदै पनि थुप्रै नकारात्मक पक्षहरू पनि छन् । संस्कृत भाषामाथिको आक्रमण माओवादी जनयुद्धले निम्त्याएको नेपाली राजनीतिको कुरूप चरित्र हो, जसको सिकार माइपोखरीको त्यो संस्कृत मावि पनि भएको रहेछ।

 मैले आगामी दिनमा संस्कृतको पठनपाठन आरम्भ गर्न र त्यसको अगुवाइका लागि मित्र तुलसीजीलाई आग्रह गरेँ। उहाँले यहाँको जातीय अवस्थिति र संस्कृत भाषाप्रतिको बुझाइका कारण त्यो सम्भव नहुने तर्क दिनुभयो।म त्यस तर्कसँग सहमत हुन सकिन। 

 सोचेँ - कसरी त्यस्तो हुन्छ? हिजो जुन संस्थाले स्थानीय सबै समुदायका बालबालिकालाई संस्कृतको प्रारम्भिक ज्ञान दियो।लुङ्गेली ब्रदर्सजस्ता विद्द्वान प्राध्यापकहरूको ज्ञानको प्रारम्भिक आधार निर्माण गरिदियो,आजचाहिँ त्यो किन सम्भव नहोला र? 
 जातीय अवस्थितिका कारण सम्भव नहुने कुरा मेरो ब्रह्मले स्वीकारेन किनभने जातीय अवस्थिति हिजो पनि उस्तै थियो।संस्कृत भाषाप्रतिको बुझाइका कारण असम्भव देख्नुलाई मैले अन्यथा मानिन।

पछिल्लो चरणमा नेपाली समाजमा संस्कृत  भाषाप्रति चरम घृणा फैलाएर यसको अस्तित्व समाप्त पार्ने प्रयासहरू भएकै हुन् ।विषेषत: जनजातीय समुदाय यस्ता प्रयासहरूबाट बढी प्रभावित देखिएका हुन् ।संस्कृतलाई ब्राह्मण जातिको मात्र भाषाका रूपमा गलत भाष्य सिर्जना गरेर ब्राह्मण र संस्कृतको विरोध गर्ने  एवम् जनजातीय समुदायलाई आफूप्रति आकर्षित गर्ने तत्कालीन माओवादी राजनीतिक रणनीतिको सिकार भएको मनोविज्ञानलाई पुन:संस्कृतको महत्व बुझाउनु चुनौतिको विषय नै हो ।

यही चुनौति बुझेर नै मित्र तुलसीजीले त्यसो भन्नुभएको रहेछ।यसतर्फ ब्राह्मण समुदायको भन्दा संस्कृतको महत्व बुझ्ने जनजातीय पृष्ठभूमिका विद्वानहरूबाट पहल हुन सके त्यो लोककल्याणकारी कार्य हुने निष्कर्षमा म पुगेँ ।

 समग्रमा आजको भ्रमण ज्ञानवर्धक एवम्  उपलब्धिमूलक रह्यो।भ्रमणमा साथ र जानकारी दिने मेर प्रिय भाइमित्र इलाम क्याम्पसका उपप्राध्यापक सन्तोष पराजुलीप्रति विशेष आभारी छु।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
तुलसीप्रसाद भट्टराई
४ महिना अगाडि

अत्यन्तै प्रेरणादायी लेख गुरु प्रति हार्दिक नमन

सम्बन्धित पोस्टहरू
मोही पारेको ज्याला नौनी घिउ
मोही पारेको ज्याला नौनी घिउ
खगिन्द्रा खुसी - मङ्गलबार २९ अक्टोबर २०२४
शुभस्मृति-सुखस्मृति !
शुभस्मृति-सुखस्मृति !
खोलाघरे साहिँलो पोष्ट खगिन्द्रा खुसी - सोमबार १४ अक्टोबर २०२४
रेडियो बजाउने लाइसिन
रेडियो बजाउने लाइसिन
प्रा.डा.गङ्गाप्रसाद अधिकारी पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
बिफरको तोबातोबा र थारमुङ्ग्राको कमाल
बिफरको तोबातोबा र थारमुङ्ग्राको कमाल
हेम अधिकारी पोष्ट - खगिन्द्रा खुसी - शनिबार ७ सेप्टेम्बर २०२४