खगिन्द्रा खुसीको `खुसीको गाउँ´उपन्यासमाथि बिमर्श

२१असार /उपन्यासकार खगिन्द्रा खुसीको `खुसीको गाउँ´उपन्यासको बिमर्श आज उपन्यासकै परिवेश स्थल खुदुनाबारी शिविर कैदले पार्कमा भव्य कार्यक्रमका बीच गरिएको छ।
प्रमुख अतिथि अर्जुनधारा नगरपालिका उपमेयर खड्गमाया पराजुली,विशेष अतिथि प्राज्ञ सुमित्रा वाङदेल चेली,प्रमुख जिल्ला अधिकारी र कार्यक्रमका सभापति साहित्यकार विवश बलीभद्र कोइरालाले भूटानी शरणार्थीको जीवन संघर्षमा आधारित ‘खुशीको गाउँ’ उपन्यासको गृह विमोचन समेत गरेका थिए ।
विश्व भूटानी साहित्यिक संगठन (जिबिएलओ) ले प्रकाशन गरेको यो उपन्यास २९७ पृष्ठमा सरल भाषाशैलीको प्रयोग गरि लेखिएको उत्कृष्ट उपन्यास रहेको कृति बिमर्शका क्रममा समालोचकहरुले जानकारी गराएका थिए।
विश्व भूटानी साहित्यिक संगठनले करिव एक महिना अघि नेदरल्यान्डमा आयोजना गरेको कार्यक्रममा साहित्यकार खगिन्द्रा खुशीको उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरिएको थियो ।
सन् १९९० को दशकमा भूटानबाट नेपालीभाषी लखेटिएपछि झापा र मोरङमा आएर शरणार्थी शिविरमा बसोबास गरेको कालखण्ड र पुनर्बासपछि तेस्रो मुलुक पुग्दासम्मका कारुणिक यथार्थ र वास्तविक संघर्षलाई समेटेर ‘खुशीको गाउँ’ उपन्यास तयार पारिएको हो।
चर्चित साहित्य स्रष्टा र छन्द गायिकाको रुपमा आफुलाई परिचित बनाइ सकेकी खगिन्द्रा खुसीको आमाको डायरी कथा सङ्ग्रह प्रकाशित भइसकेको भने उनको खुशीको गाउँ पहिलो उपन्यास हो।
कार्यक्रमको सञ्चालन स्रष्टा केशव भट्टराईले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य दिलिप घिमिरेले गरेका थिए ।




