इन्द्रेनी प्रकाशन, असमले तारापति उपाध्यायको नाउँमा राष्ट्रिय निबन्ध पुरस्कार प्रदान गर्ने

हिजो भएको एक अनलाइन कार्यक्रममा आगामी वर्ष २०२६ देखि असमका विशिष्ठ निबन्धकार, भाषाविद, शिक्षाविद, उदालगुडी उच्चतर माध्यमिक विद्यालयका पूर्व अध्यक्ष, साहित्य अकादमी अनुवाद पुरस्कारप्रापक तथा नेपाली भाषा मान्यता आन्दोलनका नेता प्रयात तारापति उपाध्यायको नाउँमा इन्द्रेनी प्रकाशन, असमले राष्ट्रिय पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। इन्द्रेनी प्रकाशनको हिजोको कार्यक्रम तारापति उपाध्यायको साहित्यिक र सामाजिक योगदानको स्मरण गर्न राखिएको थियो र उहाँको साहित्यिक योगदानमाथि असमका विशिष्ठ कवि-समालोचक रुद्र बरालले उपाध्यायको साहित्यिक योगदान तथा गुवाहाटी विश्वविद्यालयका आधुनिक भारतीय भाषा विभागका अध्यापक डा. खगेन शर्माले उनको सामाजिक योगदानमाथि आलोकपात गरेका थिए। त्यस कार्यक्रमको उद्घाटन असम नेपाली साहित्य सभा बिटिआर क्षेत्रका पूर्व अध्यक्ष गायत्री भट्टराईले गरेका थिए भने उपाध्यायको प्रतिकृतिमा उहाँकी बुहारी तथा कवि दुलुमणि उपाध्यायले माल्यार्पण गरेकी थिइन। कवि-कथाकार इन्दिरा गौतमले कार्यक्रममा तारापति उपाध्यायमाथि लेखेको एउटा कविता वाचन गरेकी थिइनँ।
तारापति उपाध्यायको साहित्यिक योगदान हेर्दा उनले २५ वटा साहित्यकृतिको रचना र अनुवाद गरेको पाइन्छ। उनी बहुभाषी साहित्यकार थिए र नेपालीका अतिरिक्त असमिया र अङ्ग्रेजी भाषामा पनि साहित्य कृति रचना गरेका थिए। सन् २०१० मा बङ्किम चन्द्र चट्टोपाध्यायको 'आनन्दमठ' उपन्यास अनुवाद गरेवापत उनलाई साहित्य अकादमी अनुवाद पुरस्कारले सम्मानित गरिएको हो। उनका प्रकाशित कृतिहरूले उपाध्यायलाई एक अब्बल दर्जाका निबन्धकारका रूपमा परिचित गराउँदछन्। यसैले उनका नाउँमा दिने पुरस्कार पनि निबन्धकृतिका लागि प्रदान गरिने छ भनेर घोषणा गरिएको छ। यो पुरस्कार हरेक साल १४ जुन उनको जन्म जयन्तीका दिन घोषणा गरिने छ र जुलाई महिनाको कुनै एक दिन एक भव्य कार्यक्रममा प्रदान गरिने छ। हरेक सालको कार्यक्रममा उपाध्यायको साहित्यिक र सामाजिक योगदानको कुनै एक पक्षमाथि एउटा व्याख्यान पनि राखिने छ भनेर इन्द्रेनी प्रकाशनको तर्फबाट घोषणा गरिएको छ।
'तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कार' प्रापकलाई एक स्मारक, अङ्गवस्त्र, यातायत खर्च मिलाएर २५,००० को पुरस्कार र यसका अतिरिक्त पाँच हजारभन्दा ज्यादा मूल्यका पुस्तक रहेको एउटा ब्याग पनि उपहार दिइने छ भन्ने प्रकाशनको तर्फबाट थप जानकारी दिइएको छ।




