म मरेको दिन

चन्द्र भण्डारी पोष्ट - खगिन्द्रा खुसी · असोज २, २०८१ १२:४३ PM
Cover Image for News

म मरेको दिन्
जन्मेकै दिन जसरी                                          छेउको बाँस घारीमा
रुप्पीहरु कराइरहलान्
छेउको विद्यालयमा 
नानीहरु गट्टी खेलिरहलान्
रगतको साइनोले बाँधिएर आएकाहरु
कोहि मूर्च्छा परेर रोइरहलान त,
कोहि खुच्चिङ्ग मच्चाएर 
काखी बजाउलान्
टाढा रहेका सन्तान्
ची पखालेको दुईदिन पछाडी आइपुग्लान्
 तुल्सीको मोठमा सुताए देखि 
ब्रम्हनालमा अन्तिम विश्राम लिंदासम्म                                    अन्तरे चापागाईंले फुकेको 
एकोहोरो शंखको आवाजले
मलाई ब्युँझाउन कोशिश भइरहला
आमाले बीस बर्ष अगाडि कातेर सञ्चित गरेको बातिले
दागबत्ती दिदै  जिब्रो डढिरहँदा
कपाल जलेर गनाउन थालेपछि
छोरा बुहारीका आँखा सुन्निएर 
भुक्भुक्ती  भैरहलान् ।

म मरेका दिन्
अघिल्ला दिन जसरी नै घाम चड्की रहला
चिता सल्केपछि  मलाई छोडेर भाग्ने बाहेक
घाट नजिकै सिंयालमा बसेर झोक्राइरहेका केही मलामीहरु
मेरो बिगत सम्झेर कोहि खित्का छोडेर हाँस्ताहून्
कोहि भावुक भएर बोल्न नसक्ता हून्
नदीका माछा र गढेराहरु 
नजलेका हड्डी छाला र बोसो चुस्न
आतुर भैरहलान् ।

म मरेको दिन् 
नदीमा खरानी भएर बगिसकेकी मेरी आमाले
खरानीरुपी मेरो स्वरुपलाई देखेर 
नदीको पानी भन्दा बढी आँसु बगाउलिन्
रामघाटमा बिसर्जन भइसक्नु भएका बा ले 
प्रश्न गर्नु होला,
जन्म स्थानको हाल खबर कस्तो छ कान्छा ? भनेर
सबैको खबर सुनाइसकेपछि
मलाई समातेर आफ्नो वासस्थानमा लैजानुहोला ।

म मरेको दिन्
मेरा गोठमा गाईले बाछो चाटिरहला
आमाले रोपेर हुर्काएको लिचिको बोट
हावामा हल्लि रहला
घर छेउमा बाले रोपेका कुट्मिराका नाम्ले रुखहरु,
हरिया हरिया सुरिला सुपारीका बोटहरु
सम्वेदनशील भएर उभिइरहलान्
प्यारी छोरी आरती
मेरो पार्थिव शरीर छेउमा बसेर
धुप सल्काइरहलिन्
झिंगा धपाइरहलिन् कुटको पंखाले
पारी पाखामा
शिवालयको घण्ट बजिरहला सदा झैं
म जन्मने बित्तिकै भाउजुहरुले नुहाइदिएको पँधेराको पानी
उसैगरी बगिरहला बाघमुखे धाराबाट 
बराल बाले रोपेका वर पिपलका पातहरु
बिदाइमा हल्लाइने हातहरु झैं 
हल्लिरहलान मलाई हेरेर
मेरो प्यारो टिमाई खोलो सुसाईरहला सदाझैं ।

म मरेका दिन्
नेपाली भूगोल भन्दा बाहिर
अर्थात सिमाना पारि निवासी मित्रहरुपनि
आउलान् मलामी भएर
दार्जीलिङ देखि कलकत्तासम्म 
सिक्किमदेखी मिजोरमसम्म
थिम्पु चिराङ्ग देखि बर्मासम्म सूचना पुगेपछी
आउन नसके पनि 
स्मृतिका पन्नाहरु पल्टेलान् बिगतका
टाढा टाढाहुने तर उपस्थित हुन नस्क्नेले भन्लान्
रेडियोबाट खोजी खोजी मलामी जाने सूचना प्रशारण गर्थ्यो
उसकै सूचना पनि पो  बज्दैछ त हौ आज ए अचम्म नि ! 
शिरो सान्दाइले रेडियो कार्यक्रम समवेदनाबाट
न्वारन देखिकै कहिरन कहिरहनु होला
बिरहका धुन बजाएर मैले पनि सुनोस भनेझैं गरि
भावुक हुँदै कार्यक्रम प्रशारण गर्नुहोला
त्यही रेडियोबाट,
मेरा असंख्य कार्यक्रम सँगै
मेरा शब्द संगीत पनि बजिरहलान्
रेडियोमा संलग्न मेरा सहयात्रीहरु पनि
स्तब्ध भएर झोक्राउलान्
मेरो खरानी तरेली परेर सागरमा नपुगुन्जेलसम्म
 ची पखालेर मलामी घर पुगेपछी पनि
ब्रम्हनाल तातिएर  तातो वाफ फ्याँकिरहला
घाटबाट फर्केका मलामी मध्ये
कतिपय मिठाई खरिद गरेर घर पुग्लान
कतिले खल्को दिएर सिदे नून हालेको 
दाल सब्जी खाएर 
मलामी हुनुको धर्म निभाउलान र,
म प्रति श्रद्धा भाव प्रकट गर्लान् ।

म मरेको दिन्
मेरो गाउँका स्कुल कलेजमा छुट्टी हुनेछैन
हुन पर्ने पनि होइन
तर,
स्कूलमा नाच्ने छैनन् मेरा नाति नातिनी
अनुपम र भव्यान्सीहरु
नगर प्रदेशमा बिदाको घोषणा हुनेछैन
सस्तो छ्ट्टी दिने प्रथाको म बोल्न सक्थेंभनें
तुलसीको मोठबाटै बिरोध गर्नेथिएँ
त्यो माग पनि छैन
किनभने म एक सत्ताहीन आम नागरिक मर्दा
बिदाको रत्तिभर अर्थ हुनेछैन
मरेका दिन त ती मान्छेको महत्व हुन्छ,
जसले देश प्रति गद्धारी गरेकाछन्
शक्तिकेन्द्रहरुको आशिर्वाद पाएका छन्
देशघाती, भ्रष्टाचारी र दुराचारीहरुको संज्ञाले
जो देशभर डुङ्डुङ्ती गनाएकाछन्
तिनका सम्झनामा राष्ट्रिय  झण्डा समेतले 
झुक्नु पर्नेछ
मेची महाकाली छुट्टी हुनेछ ।

म मरेका दिन्
सबैभन्दा बढी मेरी लिना रुनेछिन्
चितामा सुतिरहँदासम्म
उनलाई हेरिरहनेछु म
नरुनू भनेर सम्झाउने अवस्थामा म हुने छुइन
भक्कानिएर रुँदै चिच्याउँदै बिलौना गर्दै
बिवाहमा पहिरिएको 
रातो सिंदुर र गलाको पोते अनि हातका चुरा
सबै सबै फुकालेर 
मेरो छातीमा चडाउने छिन्
ग्रहणगर्न त म सक्ने छुइन
तरपनि मलाई जिम्मा दिनेछिन्
बिदा भएँ ल बाबा ! भनेर 
भन्नसक्ने अवस्थामा म हुनेछुइन
म देखिरहेको हुनेछु तर,
बोल्न सक्ने छुइन                                                                   नत अन्तिमबिदाइको  अंकमाल नै गर्न सकौंला
उनी मेरो फुङ्ग उडेको अनुहार सुम्सुम्याउँदै
मेरो पार्थिब शरीरलाई अन्तिमपटक स्पर्श गर्नेछिन्
पानी भित्रै लर्बरिंदै 
राज्यप्रकाशहरुको सहारामा
अन्तिम पल्ट हेर्नेछिन्
चलन हो,परम्परा हो
मलाई अन्तिम पल्ट दाउरा पन्छाएर ढोग्नेछिन्
ढोग्दा उनका नूनिला तातो आँसु 
मेरा खुट्टामा रसाएपछि     
 पुरोहितले घीउ तिलमा मुछेको 
प्रेत नाम पिण्ड अर्पण गर्नुका खातिर
मेरो दाहिने हातको मुठ्ठी खोल्नेछन् र,
मलाई अन्तिम बिदाइ गर्नेछन्
म हाँसी हाँसी चिताको धुवाँ भएर 
हावाको वेगमा
सन्सारभर फैलिरहने छु 
मर्दा मर्दै, जल्दा जल्दै भनिरहनेछु 
मेरो देश कहिले नमरोस्
मेरो संस्कृति अमर रहोस्
चराचुरुङ्गीले उडान भर्ने पवित्र आकाशमा
शक्ति राष्ट्रका युद्धक बिमानहरु
नउडून अमिलो र पिरो धुवाँ फ्याँक्तै
नखसालियून् बम बारुद, रकेट र मिसाइलहरु
र,
बिधर्मीहरुको प्रकोप र प्रपञ्चमा परेर
नकुल्चिइयोस मेरो देशका जाति, भाषा, कला र साधना
सुगा र मैनाले पनि धुरीमाथि चढेर 
आमा,आमा भनेर कराउन पाइरहून् 
मलाई माया गर्ने मेरा छिमेकीहरुले
मेरो घर दलानमा आएर
जीवन गीत गाइरहून्
यद्यपि,
एकसय पच्चिस बर्षसम्म बाँच्ने अभ्यास गर्दैछु म
सक्रीय साधनामा रमाउने
जीवनको खोजी गर्दै छु म ।

चन्द्र भण्डारी

ट्यागहरू:
सहित्य literature sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
तिर्खालु रहर
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६
सुन्ने संसार, नबुझ्ने समय
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
कविता -'खस्छ'
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
गहनता  ‎
गहनता ‎
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५