म
छन्द -- पञ्चचामर
म दिन्न झुक्न माथ यो म राख्छु उच्च शैल झैँ
म आस राख्छु कर्ममा अखण्ड दीप्त दीप झैँ
म त्याज्य ठान्छु भावना स्वस्वार्थ्य ओतप्रोतका
म जाग्छु लाग्छु हर्षले भलाइमा समाजका ।।१।।
म बाँड्छु ज्ञानका कुरा र उठ्छु चेतना बनी
म बन्छु हौसला र बन्छु नित्य प्रेरणा धनी
म त्याग्छु फाल्छु भावमा निरासता भए कतै
म बाँध्छु, बेर्छु कर्मका भँडार भर्छु लौ जतै ।।२।।
म भस्म पार्छु शोचमा कुभावका कुरा उठे
म हात झिक्छु भूलले कुकर्ममा कतै जुटे
म होसमा रहन्छु नै बिगार चैँ नहोस् कतै
म आस गर्छु कर्मले सुधा मिलोस् जहाँ जतै ।।३।।
म रोजरोज दौडिंदै सुमार्ग तर्फ बढ्दछु
म लक्ष्य राख्छु माथिको र नित्य माथि चढ्दछु
म अन्त्य गर्छु भ्रष्टता र छर्छु शुद्ध भावना
म जुट्छु एक गर्न लाग्छु राख्छु नित्य चाहना ।।४।।
म क्रोध त्याग्छु संझिई र शान्तिभित्र डुब्दछु
म सत्य राख्छु माथमा र सत्यसंग झुक्दछु
म काँध थाप्छु काँधले म देश बोक्न सक्तछु
म प्रेम बाँड्छु प्रेमले म विश्व जित्न सक्तछु ।।५।।
झापा
राम्रो कविता