लेखक उमा सुवेदी ‘यस वर्षका ५० प्रतिभाशाली महिला’ सूचीमा
झापा २४ चैत्र/आख्यानकार उमा सुवेदी ‘यस वर्षका ५० प्रतिभाशाली महिला’ सूचीमा पर्नुभएकाे छ ।
पाँचथरमा जन्मिएर झापामा हुर्किनुभएकाे सुवेदीको जीवनयात्रा संघर्ष,आत्मविश्वास र निरन्तर सिर्जनशीलताको प्रेरक उदाहरणका रूपमा लिइन्छ।बाल्यकालमै रेडियो किन्न ढुंगा बोकेर पैसा कमाएको प्रसंगदेखि लिएर विदेश बसाइ,संगीत, रंगमञ्च र अन्ततः साहित्यमा स्थापित हुने यात्राले उहाँलाई विशिष्ट बनाएको हो।समर्पण,सिर्जनात्मकता र सामाजिक चेतनालाई मूल्यांकन गर्दै अनलाइन खबरकाे सर्वेक्षणले उत्कृष्ट ‘५० प्रतिभाशाली महिला’ सूचीमा समावेश गरिएको आयोजकले जनाएको छ ।
सुवेदीले ‘तोदा’, ‘इति’, ‘सयौं पुतली’ र पछिल्लो कृति ‘परिधि’मार्फत नेपाली आख्यानमा नयाँ संवेदनात्मक भूगोल निर्माण गर्नुभएकाे छ।उहाँका कृतिहरूमा स्मृति,अनुभूति र भित्री जीवनको गहिरो प्रस्तुति पाइन्छ,जसले पाठकलाई फरक स्वाद दिन सफल भएको समीक्षकहरू बताउँछन् ।
सिर्जनशीलतासँगै सामाजिक क्षेत्रमा पनि सक्रिय सुवेदी ‘आह्वान’ समूहकी सहसंस्थापक हुनुहुन्छ।उक्त संस्थामार्फत महिला,लैंगिक समानता, हिंसा र सामाजिक न्यायका विषयमा बहस तथा संवाद सञ्चालन हुँदै आएको छ ।
इजरायल बसाइका क्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसँग आवद्ध हुँदै साहित्यिक गतिविधिमा सक्रिय रहनुभएकाे सुवेदीले गीत–गजलदेखि आख्यानसम्म विविध विधामा कलम चलाउनुभएकाे छ ।
साहित्य,समाज र सिर्जनशीलताको त्रिवेणीमार्फत योगदान पुर्याउँदै आउनुभएकाे सुवेदीलाई उक्त सूचीमा समावेश गरिएको हो।यस सूचीमा नेपाली राजनीति,समाज,कला/साहित्य,संस्कृति,युवा तथा खेलकुद,ज्ञान-विज्ञान,उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० जना सङ्घर्षशील र कर्मशील महिलाहरू समेटिएका छन्।