मधु गुरुङको ‘जीवनको गीत’उपन्यास सार्वजनिक
स्रष्टा मधु गुरुङद्वारा लिखित उपन्यास‘जीवनको गीत’ एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ।
बेलबारी साहित्य विकास समितिको आयोजनामा शनिबार बेलबारी नगरपालिकाको सभाहलमा कृतिको औपचारिक लोकार्पण गरिएको हो।
प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष प्रा.डा. देवी क्षेत्री दुलालको प्रमुख अतिथ्यमा भएको कार्यक्रम बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो।
कृतिको समीक्षात्मक प्रस्तुतिकरण प्रा.डा. बद्रीविशाल पोखरेलले गर्दै उपन्यासमा उठाइएका जीवन–संघर्ष, पात्रको प्रस्तुति र सामाजिक पृष्ठभूमिको कलात्मक अभिव्यक्तिलाई प्रशंसा गर्नुभएकाे थियाे ।
अग्रज स्रष्टा तथा राजनीतिकर्मी इरान राईले कृतिकार मधु गुरुङको परिचय प्रस्तुत गर्नुभएकाे थियाे ।
आमा दुर्गामाया गोदार थापा क्षेत्री र बुबा डम्बरबहादुर गुरुङको सुपुत्री मधु गुरुङ बेलवारी-२,मोरङ निवासी पूर्व संविधानसभा सदस्य समेत हुन्।उनका प्रकाशित कृतिहरूमा कर्णालीमा हाम्रो सांस्कृतिक पाइला (यात्रा संस्मरण २०५६)
बाटो रोजें (गीतिसङ्ग्रह २०६४)छन्।
बेलबारी साहित्य विकास समितिको प्रकाशनमा आएको यो कृति उनको उपन्यास यात्राको पहिलो औपचारिक कृति हो।
उपन्यासमा जीवनका संघर्ष, अनुभूति र मानवीय संवेदनाका विविध आयामलाई साहित्यिक ढङ्गले प्रस्तुत गरिएको छ। समाजसेवीका रूपमा पनि सक्रिय रहँदै आएकी गुरुङले यस कृतिमार्फत आफ्नो जीवनबोधलाई पाठकमाझ नयाँ ढङ्गले राखेकी छन्। 
कार्यक्रममा उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने सञ्चालन संगीतकर्मी जेबी थुलुङले गर्नुभएको थियो।