दक्षिणकालीमा लघुकथा वाचन कार्यक्रम सम्पन्न
२१ मंसिर, झापा, मङ्सिर २० गते दक्षिणकाली नगरपालिकामा एक विशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । हाम्रो लघुकथा केन्द्रको आयोजनामा सम्पन्न सो कार्र्यक्रममा लघुकथा वाचन तथा निवर्तमान कार्यसमितिका पदाधिकारीहरूको बिदाइ समेत गरेको छ ।
हाम्रो लघुकथा केन्द्रका अध्यक्ष डा.शेखरकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्य रहेको थियो । स्रष्टा किशोर पहाडी, केन्द्रकी निवर्तमान अध्यक्ष लता केसी, सुभाषचन्द्र पौडेल’भीमफेदीया’, सेती माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकुमार बस्नेत, दामोदर अधिकारी तथा सुसेली साहित्यिक प्रतिष्ठानका अध्यक्ष रामराजा केसी लगायतको विशेष उपस्थितिमा सम्पन्न सो कार्यक्रममा मन्तव्य दिँदै प्रमुख आमन्त्रित व्यक्तित्व मोहनबहादुर बस्नेतले दक्षिणकाली नगरपालिकाभित्र वर्षको ५–६ वटा साहित्यिक कार्यक्रम हुँदै आएकोमा खुशी व्यक्त गर्दै धार्मिक, सांस्कृतिक तथा कृषि क्षेत्रमा दक्षिणकाली नगरपालिका अगाडि रहेको बताए ।
विशिष्ट आमन्त्रित व्यक्तित्व किशोर पहाडीले कवि हरिभक्त कटुवालको स्मरण गर्दै बान्की गोजी पत्रिकामा छापिने गरेको लघुकथा, हवाईपत्र र पोष्टकार्डमा छापिने लघुकथाको आफ्नै महत्व थियो भनेर इतिहास कोट्याएका थिए ।
कार्यक्रमका सभापति हाम्रो लघुकथा केन्द्रका अध्यक्ष डा. शेखरकुमार श्रेष्ठले निवर्तमान पदाधिकारीहरूलाई भावपूर्ण बिदाइको मन्तव्य राख्दै लघुकथाको उन्ननयनमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
कार्यक्रममा २३ जना कथाकारहरूबाट लघुकथा वाचन गरेर चिसो मौसमलाई साहित्यमय र न्यानो बनाएका थिए । प्राप्त जानकारी अनुसार हाम्रो लघुकथा केन्द्रमा १०८ जना आजीवन सदस्य रहेका छन् भने हाम्रो लघुकथा फेसबुक पेजमा ११००० भन्दा बढी सदस्यहरू जोडिएका छन् । हाम्रो लघुकथा केन्द्रको फेसबुक पेजमा हप्ताको सातै दिन साँझ साढे आठ बजे लघुकथा वाचन र वाचन गरिएका लघुकथाहरूको समीक्षा हुने गर्दछ । संस्थागत हिसाबले हाम्रो लघुकथा केन्द्र हाल तेस्रो वर्षमा हिंडिरहेको छ ।
कार्यक्रममा रीता बलामीले ‘भोगाइ’, मन्दिरा मधुश्रीले ‘भोको ईश्वर’, उमा सिजापतीले’चुडेल’, सीता आस्था ढुङ्गेलले’फरक कथा’, शेखर अर्यालले’ ‘अन्तिम उज्यालो’, कात्यायनले ‘गर्त दाहा’, जुमन किरणले ‘आफन्त’, किशोर पहाडीले ‘अतिरिक्त’ लघुकथा वाचन गरेका थिए भने डा.हिमलाल श्रेष्ठले, दीपक लोहनीले, ध्रुवराज थापा लगायत डेढ दर्जन कथाकारले लघुकथा वाचन गरेका थिए
कार्यक्रममा सुसेली साहित्यिक प्रतिष्ठानको तर्फबाट पनि नयाँ कार्यसमितिको स्वागत र निवर्तमान कार्यसमितिलाई बिदाइ गरिएको थियोे । प्रतिष्ठानका कोषाध्यक्ष चन्द्रलाल तामाङले सुसेली साहित्यिक प्रतिष्ठान र हाम्रो लघुकथा केन्द्र दाहिने र देब्रे हात भएको बताउँदै यी दुबै संस्था एक अर्काका पूरक भएको बताए । कार्यक्रममा केन्द्रकी वर्तमान उपाध्यक्ष सत्या अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन तथा सहजीकरण कार्यसमितिका सह–सचिव मिसु श्रेष्ठले गरको समाचार स्रस्टा मन्दिरा मधुश्रीबाट प्राप्त भएको छ .