कविताको आँखामा सपनाहरूको बही

कविता शर्मा पौडेल पोष्ट-दिलिप घिमिरे · भदौ १८, २०८१ ९:१३ PM
Cover Image for News

कविताको आँखामा सपनाहरूको बही

                            -कविता शर्मा पौडेल 

आजको बसिबियाँलो कवि गजलकार मन बहादुर थेगुवाको सपनाहरूको बहीमा समर्पित गर्न जादैछु । उहाँ एक होनहार सचेत लेखक ।उपनाम अभागी  थेगुवा लिम्बू रहेछ तर किन होला आफैलाई अभागी ठानेको  त्यो चाहिँ बुझ्न अलि गार्‍हो  भयो ।जे होस्  उहाँ अति सरल सहज सहयोगी र साहित्यलाई माया गर्ने व्यक्तित्वका धनी जस्को प्रकाशित कृतिहरू हुन्-   सप्तकोशीको किनारमा (संयुक्त गजल संग्रह -२०५४), बुद्धले अस्त्र ... (कविता संग्रह-२०५८ ), म हर्के अनि युद्ध (गजल काव्य-२०६७ ) र जस्को रसले आज म रुझी रहेछु त्यो हो  सपनाहरूको बही (कविता संग्रह-२०८१ )।उहाँको लेखाइ अति सरल भाषा शैली र बिम्बको प्रयोगले कविताको मिठास अझै बढेको ज्ञात हुन्छ ।

जीवन र मृत्युको बीचको समय नै जिन्दगी रहेछ आस्थासँग सपना बोकी उहाँ भन्नुहुन्छ जीवन खोस्न आउनेहरू चारैतिर सलबलाई रहेछ्न् आफू भने उनीहरूसँगै  जीवनदान मागिरहेको भन्दै समाजमा घटिरहने घटनाहरूलाई यसरी कविताको माध्यमले छर्लङ्ग पार्नु हुन्छ। 

"त्यही आस्था भाकेर

आत्मादेखि  प्रार्थना गर्दै

अलिकति रहर र्साँचेर 

थोरै बाध्यता बाँधेर 

आँखै नखोली म

उनीहरूसँग जीवनदान माग्ने गर्छु ।"

उता फेरि काठमाडौंलाई खबर  लुङालाई छोड्नुहुन्छ भने सङ्कीर्णताको बर्काे फालेर वृहत् आकाश ओड्ने,एउटै नेपाल आमाको काखामा रमाउँने अभिलाषाको पोको  लुङाको हातमा थमाउदै,

"त्यो काठमाडौलाई 

प्रश्न राख्न मन लागेको छ 

हाउ लुङा 

यो खबर सुनाइदिनु होला ।

लखन थापा र काड्सोरेहरू

इतिहासको पानाभित्र किन नभेटिएको 

........                        ।"

उहाँ भने यतिबेला गणितको सुत्रप्रयोगद्वारा जीन्दगीको हर हिसाब निकाल्दै जिन्दगी टुंगिने कुरा आफ्नै कङ्कालले भित्तो सिगाँरेको कुराबाट प्रष्ट पार्नुहुन्छ। उहाँका कविताहरुमा  छुट्टै आकर्षण  छन्। जस्तै गणितको सुत्रमा कविताहरूको जोग वियोग, पुरण हरण हुँदै अन्त्यमा समाधानको बाटो पनि भेटिन्छ ।

साँढेको जुधाइ र बाछाको मिचाइको सुइँको आउने भूमिगत युद्ध कवितामा कवि थेगुवाले  सुन्यता पछिको कोलाहललाई अगाडि सारेर युद्धको परिणाम  लाचार गरीब कृषक मजदुरले ज्यान गुमाएको तितो यथार्थलाई अति सरल भाषामा पुष्टि गर्नु भएको छ  । 

उता फेरि आफुलाई घोडा र घोडालाई आफु जस्तै मुद्रामा राखेर स्वतन्त्रता छदाछदै पनि अरुको तबेलामा बाधिएको भन्दै दास प्रथाको सुन्दर चित्रण गर्दै आफू जिएको पनि अरुकै निम्ति रहेछ भन्दै वेदनाको हरफहरूले मन अमिलो पार्नु हुन्छ ।

"सदाएको घोडा न हुँ

आफ्नो भन्ने मौलिकता 

कै कहाँ नै पो हुन्छ ।

मेरो स्वतन्त्रता जङ्गल हो 

तर यतिखेर म 

तिम्रो तबेलामा बाँधिएको छु ।"

आगो, हतियार र म कवितामा कवि थेगुवा आँफै बाल पात्र  रुपमा प्रस्तुत हुँदै  बोजुले दिएको ज्ञान आगोसँग खेल्न र  हतियारसँग चल्न हुदैन भन्ने सन्देश छोड्नुहुन्छ भने  युद्ध रगत र रङ्गहरू कवितामा कवि अति मार्मिक हुँदै युद्धले सर्वनास मात्रै गर्छ जसले जहाँ बगाए पनि जति नै बगाए पनि रगत रगत नै हो अनि रगत रातै हुन्छ भनेर अन्त्यमा आफुचाहीँ निलो रगत बाचेको कुरा बताउदै  कवि थेगुवाले समाजमा दिनहुँ घटेका देखेका र भोगेका घटनाहरूलाई साक्षी बनाएर  सामाजिक विकृति पन्छाउने हिम्मत जुटाउनु भएको छ ।

शिक्षक कविताममा कविले शिक्षकको पीडा कतै शिक्षक हुनुको गर्वबोध भइ ढक्क फुलेको छातीको बयान गर्दै यसो भन्नु भएको छ । मास्टर हुनुमा गर्व गरिरहेको छ ।

किनभने ऊ देशका खाबाहरू ठड्याइरहेछ । यसरी शिक्षकको सम्मान गर्दै कविले शिक्षकको दु:ख पीर मर्काको पनि सुन्दर तरिकाले प्रस्तुत गर्नु भएको छ ।

"भरजीवनको घोटाइ

खिएर खरीसँगै

बाँकी छ मात्र हाड्छाला 

बाडीएर ज्ञानसँगै

बाकी छ मात्र नमूना मानव 

तै पनि गर्व गरिरहेछ 

किनभने ऊ देशका पर्खालहरू चिल्याइरहेछ ।"

 एउटा सत्य बोल्दा पनि सयौंपल्ट झस्किदै जिएको छु भन्दै कवि थेगुवा पिएको क्षण कवितामा मातेको मान्छे सत्य र निडर हुने सत्यको उद्घाटन गर्दै  यसरी भावनामा बग्दै-बग्दै कहिले बुद्धसँग त कहिले रामसँग अनि फेरि कहिले एउटा ईच्छा आस्थासँग राख्दै मनका बहहरू बिस्तारै फुकाउदै कत्तै भोकमाथि धावा त कत्तै अभावसँग मित्रता गाँसेको कुरा  सुनाउनुहुन्छ ।

कविले नयाँ नेपाल कवितामा नेपालको अहिलेको परिस्थितिलाई मध्य नजर गरेर भोलि कस्तो हुन्छ भन्ने कुरा सानो नातिलाई सुनाउदै हाम्रो परिवर्तनको माग राखेको बुझ्न सकिन्छ । उसैगरी वर्तमानमा म कवितामा कविले अति सहज तरिकाले वर्णन गर्नु भएको छ। भोलिको पर्खाइमा आजको दिन पनि स्वाहा गरिएको छ। यसैगरि चलिरहेको छ जीवन प्रणाली कस्ले देखेको छ र भोलि ? उहाँका हरेक कविताले केही न केही सन्देश बोकेको देखिन्छ। यसरी नै बाध्याता कवितामा जसरी सूर्यको आगमनपछि अन्धकारको अन्त्य हुन्छ उसैगरी समय एउटै रहन्न गतिशील छ। आज दु:ख छ त भोलि अवश्य सुख आउँछ भन्ने कुरा खुलस्त गरेको  पाइन्छ। यथार्थ सपनामा कवि अरुको भएर बाँची दिनुहुन्छ भने  बाजेको कथामा सिङ्गो महाभारत अटाउनु हुन्छ फेरि अन्त्यमा  बाजेलाई नै उल्टो  पारी दिनुहुन्छ समयको तराजुमा हालेर,यस्तै नै छ अहिलेको परिस्थिति । सबैले बुझ्ने भाव,भाषा र शैलीको संयोजन साथै सुन्दर आवरण पृष्ठ भएको यो कृति भित्र ५१ वटा कविता र ५वटा ओटा कोरोना सम्बन्धि कविता सहित ६१वटा कविताहरु समेटिएकाछन्।सबै कविता आफैमा उत्कृष्ट छन् भने कुनै कविताले अरुको एउटा कवितालाई समर्थन गरि रहेको पनि पाइन्छ ।कतै उहाँको कवितामा माटोको सुगन्ध छ भने  कतै देश प्रेमको भवनाले लतपल भएको थाहा हुन्छ।

म र  जागिर कवितामा भोक र अभावसँगै रहरलाई ताल्चा मारेर शून्य बोकी हिडेको कविलाई  देख्न  पाइन्छ। उसैगरी मृत्युको लीला कवितामा कवि मृत्युबाट आफैलाई कसैले बिउँझाइ देउ भन्दै आफ्नो संघर्षलाई मृत्युसँग दाँज्न पुग्नुभएको छ ।भाले कवितामा कविले कसैले खुशीयाली मनाई रहेको बेला कसैले ज्यान गुमाइरहेको कथा बस्तुलाई समेटेर सुन्दर तरिकाले पोख्नु भएको छ। 

सन्तानको खाचो एउटा शक्तिशाली कविता हो जहाँ एउटी आमाले सन्तान मार्न सक्दिन तर मार्ने जन्माउन सक्छु भन्दै मलाई बिज देउ एउटा गर्भ राख्नु छ रक्षाकवज जनमाउने इच्छा व्यक्त गरेको देखिन्छ।

 कविको यस संग्रहमा गाउघरबाट संख्या १, २, ३, ४, बुद्धले अस्त्र १, २, क्रान्ति १, २, शिक्षक १, २, यसरी एउटा कविताले अर्कोलाई समर्थन गर्दै अघि बढेको पाइन्छ ।आँखाले छामेका कविताहरूमा कविले कतै आशामा बाँचेको देखिन्छ भने कतै  निरासाको सिरानमा पल्टेर आफैलाई बिर्सेको बोध हुन्छ । कतै उत्तर आफै  प्रश्न बनेर तेर्सिदिन्छ्न् त कतै क्रान्तिले शान्ति भङ्ग गर्दै गरेको प्रमाण पोखिन्छ ।

अन्त्यमा उहाँले कोरोनाकालीन समयको सदुपयोग गरि रचेका रचनाहरूले कोरोनाको महामारी फैलिएको बेला हामीले भोगेका दिनहरूको एक एक हर हिसाब ती कविताहरूमा पाइन्छ।  एउटा अनागरिक सिमाना भित्रको शनिदेव भनेर सम्बोधन गर्दै लकडाउनमा घरभित्र थुनिएर सोचेका कुराहरू कविता मार्फत सुन्दर ढङ्गले  पस्किनु भएको छ भने उता बिदेशमा कमाउन हिडेकाहरू उतै कोठा भित्र थुनिएर भोक अनि प्यासमा छट्पटिदै ज्यान गुमाएको कुरा छोरा अनि शनिदेव कवितामा कवि थेगुवाले प्रष्ट पार्नु भएको छ। 

आज उहाँको कविता सङ्ग्रहमा आँखा डुलाउदै गर्दा यस्तो लाग्छ यो पुस्तक चाहिँ  सबैले पढ्नै पर्ने पुस्तक हो।यहाँ कवि आफै पात्र भएर उभिदै विकृति हटाउने प्रयास त कतै समाज व्यवस्था परिवर्तनको माग गर्दै अघि बढेको देख्न सकिन्छ । यी कविताहरूले उहाँलाई एक अब्बल कविको दर्जामा पुर्याउन हिच्किचाउदैनन् भन्ने मेरो विश्वास छ ।

अन्त्यमा  उहाँलाई धेरै-धेरै शुभकामना अझै पनि यस्ता  रसिला स्वादिला बान्की परेका कविताको प्रेमसागरमा पौड्ने अवसर मिलोस् भन्दै एउटा पाठक हुनुको प्रतिक्रिया यसरी राखेकी छु ।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
भुवनेश्वरी शोककाव्यको काव्यात्मक समीक्षा
भुवनेश्वरी शोककाव्यको काव्यात्मक समीक्षा
बिन्दु दहाल मूकदर्शक पोष्ट - खगिन्द्रा खुसी - बिहिबार १४ नोभेम्बर २०२४
पूर्ण बहादुरको सारङ्गीले बगाएको आँसुको कथा
पूर्ण बहादुरको सारङ्गीले बगाएको आँसुको कथा
मुनाराज शेर्मा पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १२ नोभेम्बर २०२४
सावित्री सुन्दास र उनको ‘इच्छाको अवशेष’
सावित्री सुन्दास र उनको ‘इच्छाको अवशेष’
देविका मंग्राती राई पोष्ट दिलिप घिमिरे - बुधबार २३ अक्टोबर २०२४
सप्तसरोवर नवीनताको खोजी कि इलामको उत्खनन्
सप्तसरोवर नवीनताको खोजी कि इलामको उत्खनन्
हेम अधिकारी पोष्ट-दिलिप घिमिरे - शुक्रबार ११ अक्टोबर २०२४