कविता शर्माका कलममा 'समयको बारुद'
श्वमा कुनैपनि विधाको साहित्य रचना काव्यशैलीमै गर्ने कालदेखि आजसम्म अथवा कवितालाई छुट्टै विधाको रूपमा हेर्न थालेको कालदेखि आजसम्ममा अरू विधाका रचनाभन्दा कविता नै धेर लेखिए । अवश्य, पत्र-पत्रिका, पाठ्यपुस्तक, दैनिक समाचार पत्र, अन्यान्य पुस्तक आदिमा छापिएका निबन्धका सङ्ख्याले कविताको सङ्ख्यालाई अतिक्रमण गरेको अनुमान होला, तर छापिनुको सङ्ख्या नभएर लेखिनुको सङ्ख्याको कुरा गर्दा निश्चय नै कविताको सङ्ख्या ठुलो हुन्छ । अझ, लेखिएका नभनेर रचिएका कविता भन्नु हो भने यो सङ्ख्या अझै ठुलो हुन्छ । लेख्नै नजान्नेहरूले पनि धेरै कविता रचे होलान् । मान्छेले रचेजति सबै कविता लेखिएनन् र लेखेजति सबै कविता छापिएनन् । कुनै कुराको सोझो वर्णन भन्दा काव्यिक लयको उपस्थापनले मान्छेलाई अधिक आकर्षित गर्छ । विभिन्न विज्ञापन अथवा जुलुसका नाराहरू विश्वभरि नै लयवद्ध काव्यिक शैलीमा हुनु यसको ठोस उदाहरण हो ।
कविताको यो आकर्षणबाट नेपाली साहित्य र सँगसँगै, असमेली नेपाली साहित्य पनि मुक्त छैन । पूर्वोत्तर भारतको नेपाली कविताको एकसय तीस वर्षे इतिहासमा विगत केही वर्षदेखि नयाँ उत्साह र जाँगरले कविताहरू लेखिएका छन्, कवितामा स्तरीयता रहेको पनि अनुभूति भएको छ र अहिलेको कालखण्डलाई असमेली नेपाली कविताको सुनौलो अध्यायका रूपमा मानिने छ । यस अवधिमा नारी कविहरूको योगदान फराकिलो रहेको छ यस्तै एकजना असमेलो नारी कवि हुन् कविता शर्मा, जसलाई हामी कविता पूर्ण पौडेल भनेर पनि चिन्दछौँ । १८ फेब्रुअरी, १९८६ सन्मा शोणितपुर, असममा जन्मेर वर्तमान चिराङ, असम निवासी कविता शर्माकृत कविता सङ्ग्रह 'समयको बारुद' उनका प्रकाशित कृतिका सूचीक्रमको सुरुआत भए पनि उन्लाई नवीन सर्जक भन्न मिल्दैन । कविताहरूमा रहेको परिपक्वताले पनि उन्लाई नयाँ कवि भन्न दिँदैन । इतिपूर्व र वर्तमान विभिन्न साहित्यिक संस्थासँग जोडिएकी कविताले साङ्गठनिक कार्यहरूका सँगसँगै लेखन कार्य पनि पहिल्यैदेखि नै चलाइआएकी हुन् । नेपालीका साथै असमिया भाषामा पनि मनका भावनाहरू पोखेका कविता शर्माका मुक्तक, गजल, कविता, निबन्ध आदि भारत र नेपालका पत्रपत्रिकामा बग्रेल्तै छापिएका र प्रशंसित भएका छन् र अझ सामाजिक सञ्जालमा त उनी झन् सक्रिय र अत्यन्त लोकप्रिय सर्जकका रूपमा जानिन्छिन् । कविता शर्माको सम्वेदनशील मनका भावहरूले सम्तृप्त कविताहरूको सँगालो अर्थयुक्त र सुन्दर आवरण पृष्ठले सजिँदै "समयको बारुद" नाउँले पुस्तकको आकार पाएको छ । सन् 2028 को जुलाई महिनामा प्रकाशित यस कृतिको प्रकाशक 'इन्द्रेनी प्रकाशन, असम' हो र यसको मूद्रण 'पूर्वायण प्रकाशन, गुवाहटी' ले गरेको छ ।
कविताहरूकी कवि कविताका बारेमा यो थोरै चर्चा गरेपछि अबको चर्चा कविका कविताका बारेमा हुनेछ ।
"मेरा नसा नसामा बग्छौ तिमी रगत बनेर, छातीभित्र फुट्छौ तिमी धड्कन बनेर
कविता ! तिमी को हौ भन न
किन तिम्रो आजन्म प्रेमी बन्न मन लाग्छ"
भन्दै कविताप्रतिको प्रेमको उद्गार पोख्ने कविता शर्माले 'समयको बारुद' भित्र लामा छोटा गरी ४३ थान कविता राखेकी छन् । आकारका दृष्टिमा लामा, छोटा र मझौले आकार - यी तीनवटा भागमा छुट्याउन सकिने कविताहरू संरचनागत दृष्टिमा भने छुट्याउन मिल्दैन । विचार अथवा भावपक्ष केलाएर हेर्दा प्रस्तुत पुस्तकका कवितालाई यसरी वर्गीकरण गर्न सकिन्छ - १. आक्रोश भाव, विद्रोह भाव अथवा मुक्तिकामी कविता, २. सन्दर्भ अथवा स्थिति वर्णन ३. अभिशप्तका व्यथा बोकेका कविता ४. लिङ्गभेदको गुनासो बोकेका कविता (नारीवादी) ५. प्रेमका कविता ६. समाज-व्यवस्थालाई विषय बनाइएका कविता ७. जीवन-दर्शन बोकेका कविता ८. जातीय अस्मिता चिन्तन ९. प्रकृतिलाई विषय बनाइएका कविता ।
यी नौ प्रकारले विभाजन गर्न सकिने केही कवितामा कवि स्वयम् चरित्र बनेर विषयवस्तुको उठान गरेको पाइन्छ भने रहल तीनवटा कवितामा उपरोक्त कुनै विषयवस्तु नरहेर कविको स्व-अनुभूति नै अभिव्यक्त भएको पाइन्छ ।
प्रस्तुत पुस्तकका कविताहरूमा माथि उल्लेख गरिएका नौवटा गोत्रका कविताबाट सगोत्री कविताहरू छुट्याएर सजाउँदा हामी आक्रोश र विद्रोह भावका आठओटा कविता पाउँछौँ । विद्रोह भावकै कविताले सुरु गरिएको कविताक्रमको पहिलो कविता 'शब्द समानताको'मा कविको मनलाई झक्झक्याएको आक्रोश काव्यिक अभिव्यक्तिद्वारा पारखी ढङ्गले उपस्थापन गरिएको छ र त्यो आक्रोशको भाव पाठकको मनमा पनि सजिलै सङ्क्रमित हुन्छ ।
परिमित र अचूक बिम्ब, प्रयोग गर्दै कवि भन्छिन् -
"जाँच्नुछ अझ अदालतमा न्यायाधीशले बोलेका शब्दहरू
कतिले सत्य बोलेका छन्
अथवा ओढेका छन् कि पछ्यौरी"
यसै कवितामा फेरि कविता शर्मा भन्छिन् -
"गान्धीको स्वरमा स्वर मिलाएका
लादेनका शब्दहरू छुट्याउनु छ ...."
यसैगरी 'बहिरो कानुन' कवितामा कविमनका आक्रोशित भावनाका झिल्काहरू लयवद्ध स्फुरित भएका छन् भने छोटो कविता 'आशा'मा भित्री विद्रोहका साथै प्रकट आशावाद झल्किएको छ । नयाँ वसन्त आउने आशा बोकेको कविताको संरचना सरल छ, आभूषणको भारले थिचिएको छैन । 'पिडाहरूले साँघुरिएको जीवन' कवितामा कविको आक्रोश र विद्रोहले प्रकट रूप लिएको छैन, बरु मुक्तिकामी मन छर्लङ्ग भएको छ । कविको भाव वर्णण गर्ने कुशलताले कवितालाई स्तरीयता प्रदान गरेको छ ।
यसै भावको अर्को कविता 'मिहिनेतको मैदानमा' मा पनि सुन्दर काव्यिक अभिव्यक्तिले विद्रोही भावना पोखिएको छ र यो छोटो कवितामा कविता शर्माको आशावादी मन उज्यालो भविष्य र अनुकुल स्थितिको सन्धान गर्दछ । उनको मन आफ्ना लागि मात्र नभएर समाजकै लागि व्याकुल देखिन्छ ।
पुस्तकको नाउँ बनेर आवरण पृष्ठमै आफ्नो नाउँ दर्ता गरेको विप्लवी भावको अर्को कविता 'समयको बारुद' कविता शर्माका उत्कृष्ट कविता मध्ये एउटा हो । आलङ्कारिक सौन्दर्यले चिटिक्क परेको यो मझौले आकारको कविता असमेली नेपाली कविताको अग्लिँदै गरेको स्तरलाई केही हदसम्म प्रतिनिधित्व गर्न सक्षम छ । कवि लेख्छिन्-
'भावनामा पिल्सिँदै मसी खोज्न छाड्यो मनले
बारुदसँग माया साटेको छ अचेल
बारुद बोल्छ
ठोक्न खोज्छ मादल कुम्भकर्णका कानमा"...
अलिक पर्तिर फेरि लेख्छिन्-
'प्रतिकूलताका उल्झन्पारि
एक खेत मकै फलाउनुअघि
हरेक प्रतिकूलताका आँगनमा बारुद सल्काउनु छ .."
यसरी नै पूरै कवितामा बिम्ब प्रतीकादिको बाक्लो प्रयोग गर्दै र मिथकीय बिम्बहरूको समेत प्रासङगिक प्रयोग गर्दै एउटा स्तरीय कविता पस्केकी छन् ।
'मर्यादा को मर्यादा' नाउँको लामो कविताले पनि योग्यताको अनुचित मुल्यायन भइरहेको आक्रोश बोलेको छ । योग्यजनले उचित मर्यादा पाओस् भन्ने आह्वान गर्दै टुङ्ग्याइएको यो कवितामा वर्तमानको समाज र साहित्य क्षेत्रमा खुट्टा पसारेको पक्षपात नीतिले कवि मनलाई टर्रो पारेको अनुभूति छचल्किएको छ।
यसै गोत्रको अर्को कविता 'रहरका फुलबुट्टाहरू' मा कवि आफै चरित्र भई उभिएर अर्थहीन तथाकथित बन्धनबाट मुक्तिको कामना गर्दै समाजलाई घच्घच्याएकी छिन् ।
सन्दर्भ अथवा स्थिति वर्णण गरेका कविता बटुल्दा प्रस्तुत पुस्तकमा यस्ता तिनवटा कविता पाइन्छन् । 'अभिशप्त ट्वेन्टी-ट्वान्टी', 'चम्चा' र 'यात्रा' यी तीन कवितालाई यस् श्रेणीमा राख्न सकिन्छ । विगत कोरोनाको कालखण्ड विश्वभरिकै मानिसको आतङ्कको समय भनेर गनिए पनि काव्यसृष्टिका लागि भने यो स्वर्णकाल सरह भएको थियो ।
यस समयावधिमा धेरै कविता समयावधिमा
लेखिए र कविता शर्माका कलमबाट पनि कविताको खोलो बगिरह्यो । उन्ले त सम्पूर्ण कोरोना कालको चित्र नै पानामा उतार्दै 'अभिशप्त ट्वेन्टी- ट्वान्टी' लेखिन् । यस कवितामा उतिबेलाको स्थिति काव्यिक लयमा उतारिएको छ। यही वर्गको अर्को वर्णणात्मक कविता 'चम्चा' केही फरक अन्दाजको छ। चम्चाको चारित्रिक विशेषता वर्णणमा सामाजिक चित्रण पनि नियाल्न सकिन्छ र प्रतीकात्मक रूपमा यस कविताले मानिसको चारित्रिक व्यङ्ग्य बोकेको बोध हुन्छ । यसमा भावपक्ष दह्रो हुँदाहुँदै पनि कलापक्ष भने केही दुर्वल देखिन्छ ।
स्व-अनुभूतिमा लेखिएको वर्णणात्मक अर्को कविता हो यात्रा। यस कवितामा कविले आफ्नो जीवनको कठिनाइलाई साहसले पन्साउँदै काव्यिक वर्णन गर्छिन् । यो प्ररेणादायी कविता हो ।
समाज व्यवस्था, राजनीति, निर्यात, अथवा अर्थव्यवस्थाले सताइएका अभागीको पीडा बयान गरेका कविता को खोजी गर्दा यस पुस्तकमा यसखाले पाँचवटा कविता भेटिन्छन् । अभिशप्तजनका व्यथाले बिथोलेको कविका मनको भाव 'टुहुरो' कवितामा उपमादिले अलङ्कृत भएर निस्कन्छ यसरी-
"अनि उसका धमिला रहरहरू
च्यात्तिएको झोला कहिल्यै नभरिएझैँ.."
उसै गरी 'भिखारी' कवितामा पनि कविको कमलो अनुभूति बिम्बित गएको छ ।
'एउटा सिङ्गो आकाश ओढेर
हिमाललाई सिरान बनाउँदै
बसुमतीको काखमा निर्धक्क निदाइदिन्छ
न त लाज
न कसैको डर'।
यसै श्रेणीको अर्को कविता 'सृष्टिको फुल' अभिशप्त नारी जीवनको बिम्बात्मक चित्रणले जीवन्त छ, जसलाई नारीवादी कविताको श्रेणीमा पनि राख्न मिल्थ्यो । यहाँ जीवनका भोगाइहरू यसप्रकार पोखिन्छन्-
'समयलाई पर्खन्छे आउँछ भन्दै
यसैबीच समयले बिदाइको अँगालो कस्छ - उसलाई गिज्याउँछ...'
यसै गरी
'उसको मौन चित्कारले हुङ्कार मच्याउँछ एकान्तमा
उ पर अनकन्टारमा राखिन्छन् उसका टुहुरा रहरहरू
उसका पसिनाको बास्नाले मग्मगाउनु पर्छ घर
इच्छा र अभिलाषा प्वाँख बिनाको जटायु जस्तै भएका छन्...
अनि फेरि -
पैतालाले करेसा नाघ्दैन
संस्कारको बिगुल थर्कमान छ
घोक्नुपर्छ परम्पराका अध्याय अझैसम्म उसले..
'श्रमिक दिवस' कवितामा शोषित वर्गको व्यथा र आफ्नो गुनासो बिम्बको सटिक प्रयोग गर्दै उतारेकी छन् कविले -
'भुँडीले रेटेको सारङ्गीको धुनमा
उसले नाचेका नृत्यहरू
अभावका चोइटाहरू बालेर
चिसो चुल्हो सेकाउँदा बसेका नीलडामहरू एकमुस्लो शुभकामना भित्रिँदैमा सक्छ र बिर्सन ?"
कुनै ठोस शब्दमात्र नभएर पुरै वाक्य अथवा अन्तरा नै प्रतीकात्मक रहेको गजबको शैली छ यस कवितामा ।
'झुल्के घामसँगै चालेका पाइला
घाम धपाएर भित्रन्छन् घर
पसिनाले मात्रै नपुगेर मुछ्ने गर्छ तातो रगत
अनि बल्ल एकछाक सुखको मानो जुर्छ...
'विस्थापित बालापन' अर्को एउटा व्यथा गाथा हो जसमा एउटा अनाथ बालकको पिडा साह्रै मार्मिक ढङ्गले पस्किन कविता शर्मा सफल भएकी छन् ।
"सोच्दछ
कसैले मेरो कसौँडीमा भात उमारी दिए
म पनि दगुर्थेँ होला भकुन्डाका पछि पछि
कसैले म ननिदाएको कारण सोधिदिए
हर्षले झार्थेँ होला वेदनाका कयौँ थोपा..."
अनि फेरि -
"आमाको सम्झनाले असाध्य सताएपछि
एउटा कविते पत्र लेख्छ ऊ
अनि माथि आकाशतर्फ फ्याँक्छ
विद्यालय नजाँदा पनि त टेकेको छु नि खुट्टा
तर अन्नबिना सक्दिनँ उभिन म
आमा तिमी नै बुझाइदेऊ न यो समाजलाई ..
नारीवादी विचारका कविता नै सर्वाधिक रहेको पुस्तक 'समयको बारुद' भित्र यसखाले दसवटा कविता अँटाएका छन् । लिङ्गभेद र नारी निर्यातनको आक्रोश 'असुरक्षित' नाउँको कवितामा काव्यिक लयमा पाठकका सम्मुख प्रश्नचिह्न
भएर तेर्सिन्छ यसरी-
"सियोको टुप्पोमा इज्जत हुन्छ रे नारीको
अनि पुरुष ?
पुरुष चाहिँ कसरी धारोमै ओतिन्छ?"
'सत्य' शीर्षकको कवितामा पनि त्यही आक्रोश मिथकीय बिम्ब प्रतीकले प्रखर हुँदै समाजलाई औँलो ठड्याउँछ
"चोखो भई निस्कन्छ ऊ
हिलोबाट
कमल सरी.."
यसरी कटाक्ष गर्दै कविता प्रश्न गर्छिन् -
'सत्य के हो ?
त्रेता युगमा फर्किएर सीतालाई सोध
सत्यताको मूल्यको कति हेरफेर भयो ?"
कथात्मक वर्णण र केही ठाउँ काव्यमयताको कमी रहे तापनि बिच बिचमा बिम्बहरूले अलङ्कृत कविता 'तेजाब' ले लिङ्गभेद र नारी उत्पीडनको व्यथा नै बोलेको छ ।
"एउटा सिङ्गो घाम बोतलमा भराएर
प्रतिशोधको अग्निमा भत्भती जल्दैछ कुनै अतृप्त आत्मा
उज्यालो अनुहारमा औँसीको अँध्यारो घोप्टिन्छ "
लिङ्गभेदकै दुखेसो बोकेको अर्को कविता 'दोबाटोमा पोखिएको सपना'मा कविले अरू नै कसैको अन्तर्द्वन्द्व आत्मसात् गर्दै, त्यो भोगाइलाई आफ्नो बनाउँदै अभिव्यक्ति दिएकी छन् । प्रेममा धोका पाएकी युवतीको मातृममताको हाहाकार गुञ्जिएको छ कवितामा-
मेरो निश्छल मुटुको अपार माया
मभित्रै हुर्केको थाहा पाएर
मलाई मेरो जात र औकात सम्झाएर गयो..
नारीवादी चेतनाको अर्को कविता 'फैसला' मा निसन्तान नारीको मर्म झल्काउने प्रयास गरिएको छ 'विस्थापित बालापन' कवितामा अनाथ शिशुको व्यथा जुन हदसम्म झल्किएको छ, त्यहाँसम्म यो कविता पुग्न नसके पनि यसमा निसन्तान नारीको पिडा अवश्य महसुस गर्न सकिन्छ । अवश्य यो कविता दुखान्त्य नभएर सुखान्त्य रहेको छ ।
पिडित नारीकै डरको अनुभूति प्रकट गरिएको कविता 'डर'मा भने काव्यिकताको थोरै कमी महसुस हुन्छ। केही व्यङ्यात्मक हरफले नारीवादी गीत लेख्तै युग बदलिएको छैन' कवितामा कवि गाउँछिन् -
"आमाको सम्मान गरौं"
नारा लागिरहेको छ ।
देश सुतिरहेको छ---
-- तर नारा भने रोकिनु हुँदैन
चाहे रोकियोस् घामको किरण
अनि बिर्सियोस झुल्किन उसले
तर बिर्सिनु हुँदैन नारा ठोक्न "
फेरि मिथकीय बिम्बको आडमा कवि आक्रोश पोख्छिन्-
"कहिले राधा बनेर छुट्पटिनु पर्छ
कहिले सीता बनेर सतीत्वको प्रमाण दिनु पर्छ "
यसरी नै 'विधवा' कवितामा विधवा स्त्रीको मनस्थिति अन्वेषण गर्दै उनीहरूको दुइटा मनको अन्तर्द्वन्द्व कविले नियालेकी छन् भने आलङ्कारिक शृङ्गार नगरिएको सरल कविता 'अबला' मा नारीको सहनशीलताको सोझो वर्णन छ ।
'एउटा सानो घर बनाउनु छ'- यो नारी चेतना कै कवितामा कुनै गन्गन छैन सोझै आत्मनिर्भरशीलताको पाठ पढाउँदै नारी जागृतिको आह्वान गरिएको छ यसप्रकार -
"चुलो चौकामा सीमित नरही
कुर्सी र टेबुल पनि सम्हाल्नु छ
डाडु-पनिउँ सँगै अब धारिलो कलम चलाउनु छ"....
यसरी नै अरू धेरै पङ्क्तिहरूले समाजका सबै कर्मक्षेत्रमा नारीलाई आफ्नो उपस्थिति दर्शाउने आह्वान छ।
यस सङ्कलनमा दुईटा कविता "प्रकृतिको काखमा' र 'केवल तिम्रा लागि' ले प्रेम-प्रणय को अनुभूति पोखेका छन् ।
सङ्ग्रहका पाँचवटा कविताले भने व्यवहारिक सोच र समाज संस्कारका कुरा बोलेका छन् ।
'विसङ्गति' कवितामा व्यवहारिक सोचलाई विषय बनाएर कविले काव्यिक अभिव्यक्ति कोरेकी छन् । संस्कार चिन्तनले रुझेको अर्को वर्णणात्मक कविता 'संस्कार' भने काव्यमयताको दृष्टिमा केही कमजोर देखिन्छ । समाज व्यवस्थाले उब्ज्याएको पिडा उजागर गर्ने छोटो कविता 'भय' कता कता सुन्दर बिम्बले सिँगारिएर असरदार बनेको
छ । कविताले भन्छ-
'मस्तिष्कले गर्भधारण गर्न छोडेदेखि
कविता जन्मने आश हराउँदै गयो
आशाका खुड्किलाहरू बन्द छन्...'
'भोकको चौरासी व्यञ्जन' समाजवादी सोच भएको उत्कृष्ट कविता हो। गान्धीलाई प्रतीकात्मक पैसाको अर्थमा राख्दै कविता शर्माले यो कवितामा केही बान्की परेका हरफ- कोरेर आफ्नो सिर्जना कुशलता दर्शाएकी छन् ।
'कसैलाई भोक बेच्न भ्याइ नभ्याइ छ
कोही लाखौँ दिएर भोक किन्दै छन्
कसैले भोक धितो राखेका छन्
कतै अन्यायले मेटाउँछ न्यायको भोक
फगत एक गान्धीको आड
अनि एक हुल दलाल.."
समाज निर्माण र संस्कारका कुरा गर्दै लेखेको अर्को कविता 'प्रतीक्षामा' मा कविले भानुभक्तलाई सम्झेकी छन्
"उसै गरी तिमीले पनि ... एउटा राम खोज्नु छ । नयाँ युगको रामायण रच्न
जहाँ हरिने छैनन कुनै सीता रावणबाट
वनवास बस्नु पर्दैने राम
पुत्रशोकमा मर्नु पर्दैन कुनै दशरथ
यस्तो एउटा महाकाव्य लेख्ने प्रतीक्षा छ
आउँछौ नि होइन एकपटक पुनः भानु तिमी ?" मानव समाज र सभ्यताका धेरै पाटाहरूलाई आफ्ना कविताका विषयवस्तु बनाउने कविता जीवन दर्शनलाई पनि काव्यरसले भिजाएर प्रस्तुत गर्छिन् सङ्कलनका चारवटा कवितामा । आफूसँगै र छेउछाउमै रहेका सुखका साधनलाई उपेक्षा गर्दै दूर अन्यन्त्र भौतिक सुखका सामग्री खोज्दै भौँतारिने मनुस्य प्रवृत्तिलाई 'शान्तिको खोजीमा' कवितामा पारखी ढङ्गले उतारेकी छन् । यस कविताले प्रख्यात असमिया कवि आनन्द चन्द्र आगरवालाको 'सुख सुख बुलि मानुह बलिया' भन्ने कविताको स्मरण गराउँछ । प्रेम र जीवन दर्शन ले रुझेको अर्को कविता 'क्षितिज पारि' ले जापानी हाइकुहरूको जस्तै भावको मिठास बोकेको छ । जीवन दर्शनलाई विषय बनाउँदै र अहङ्कारको पतन निश्चित छ भन्दै 'समय' कवितामा कवि अहङ्कारीहरूलाई यसरी सावधान गर्दछिन् -
"छाकै प्रति बिरियानी र पुलाउ खाने बिचरो एकमुठी जाउलोसँग सम्झौता गर्दै छट्पटाएको छ अभिमानका सबै पोकाहरू
झ्यालबाट बाहिर हुत्याएर
जिउनुको ताडनामा
फगत जिउनुको ताडनामा
समयसँग एक चिम्टी समय माग्दै लम्पसार छ.." यसै श्रेणीको अर्को कविता 'खाँचो' ले मान्छेको भोगवादी मानसिकतामा दुखेसो व्यक्त गरेको छ ।
जातीय चेतना र देशभक्तिको आवेगले जन्माएका दुइटा कविता यस पुस्तकमा रहेका छन् । 'सक्कली परिचय' कवितामा जातीय अस्मिताको चिन्तन कविका कलमले अभिव्यक्त गर्दा यस्ता हरफहरू निस्कन्छन् -
शब्दकोश पल्टाउँदा पल्टाउँदै
दिन र राति पनि अचेल
एउटै एउटै लाग्न थालेको छ
एउटा राष्ट्रको खोजीमा
जसले हामीलाई भुइँफचुट्टा भनेर चिनाउँछ...
फेरि आफूलाई चिनाउने अन्योल स्थिति बिम्बित गर्दै कवि भन्दछिन् -
'कालो बादलले ढाकेको छ
मेरा सन्तानको अनुहार
ऐना बदल्नु कि आफ्नै अनुहार....'
अर्को कविता 'खरानी नबेच शत्रुलाई' मा जातीय चिन्तनका साथै देशभक्तिको चेतना पनि मार्मिक ढङ्गले छचल्किएको छ ।
प्रस्तुत पुस्तकमा प्रकृतिको वर्णन गरिएको पनि एउटा कविता रहेको छ । 'फागुन' शीर्षकको यस कवितामा सिङ्गो फागुन महिनालाई बिम्ब बनाउँदै रुखो मौसमपछि रस आगमनको भावलाई कलात्मक ढङ्गले-अलङ्कृत गरिएको छ ।
यस उप्रान्त पुस्तकमा भएको 'कविताले सताएको बेला' कवितामा कविका आफ्नै भाव तरङ्गहरू प्रतिध्वनित भएका छन् भने 'त्रास' कविता चाहिँ कुनै केन्द्रिय भावका वरिपरी नघुमी विभिन्न विषयको चर्चा गर्दछ । प्रकृति, मानवता, प्रेम आदिको युगसापेक्ष चिन्तन बोकेको सशक्त काव्यिक उद्गार छ यस कवितामा । प्रयोगवाद लाई पछ्याउँदै कविले 'कवि र कविता' नाउँले एउटा फरक शैलीको कविताको सिर्जना गरेकी छन् जसमा आफो नाउँ कविता भए पनि 'कविता' भन्ने परिचयभन्दा पनि 'कवि' भन्ने परिचयको आशा पालेकी छन् ।
असमेली नेपाली साहित्यमा कविता शर्मा अहिलेको कालखण्डकी एकजना सिपालु काव्यसर्जक भनेर समयको बारुद पुस्तकका हर पानाले बताउँछन् । उनको सिर्जना विशेषता हो दर्बिलो र गहिरो विचार पक्ष । उनका विचारहरूको फराकिलो आयाम छ र बिचारहरूका बिचमा कुनै द्वन्द्व छैन । विचारहरू एक अर्कामा परिपूरक छन् र व्यक्त गर्ने शैली पनि उस्तै छ, गद्य कविताका रूपमा छ ।
आफ्ना भावहरू कविताद्वारा पाठकमा सम्प्रेषण गर्ने कुशली कला प्राप्त गर्नु उन्को निरन्तर काव्यसाधनाको परिणाम हो । कविता शर्माका मनमा मथिङ्गल गर्ने विषयहरूमा विभिन्नता छ र ती भावहरूले भिन्न भिन्न कविता मार्फत मूर्त रूप पाउँछन् । कविताका भावहरू कहिले प्रकृतिसँग रमाउन पुग्छन्, कहिले जीवन दर्शनको अनुसन्धान गर्छन त कहिले अभागी, शोषितजनको पिडामा रुँदै हुन्छन् । अङ्ग्रेजी प्रीतिको अब्जस लगाएर कसैले उन्लाई औँलो ठड्याउन सक्दैन। यसबाट उनी मुक्त छिन् । बोझ, औकात, तेजाब आदि थौरै शब्दलाई छाडेर उनी उर्दू शब्दको प्रयोगमा पनि
कन्जुस नै देखिन्छिन्। यो उनको सबल पक्ष हो ।
अवश्य, थोरै केही कमी-कमजोरी पनि नभएको होइन । कविताहरूमा भाव र विचारपक्ष यथेष्ट दर्बिलो हुँदा हुँदै पनि कला पक्ष भने केही कवितामा अलिक दुर्बल देखिन्छ । मनमा आएका भावको चाप तिव्र भएर होला, कविताका रूपमा ती भाव पोख्न अलिक हतार गरेझैँ लाग्छ । भाव सम्प्रेषण गर्ने त्यही व्यग्रताले गर्दा सायद कुनै कुनै कवितामा शिल्प पक्षको सामान्य क्षति भएको हो । तर केही कविता भने दुवै पक्षको उत्कृष्ट सामञ्जस्यले उच्चस्तरीय छन् ।
समग्रमा भन्नुपर्दा प्रस्तुत पुस्तक 'समयको बारुद' का कविताहरू सरल, बोधगम्य र रसिला छन् । उच्चारण गर्दा दाँत उच्छिटिने कठिन शब्द कवितामा खाँदेर आफ्नो पण्डित्याइँ प्रदर्शन गर्ने मानसिकता कविता शर्मामा छैन । उचित स्थान र परिमित मात्रामा बिम्ब प्रतीकको प्रयोगमा कविको सिप प्रशंसनीय छ । जथाभावी र बग्रेल्तै बिम्बको प्रयोग गरेर कवितालाई अलङ्कारले निस्सासिने गरी थिच्नु सफल कविको लक्षण होइन र त्यो दोषले कविता शर्मालाई कतै पनि छोएको छैन ।
'समयको बारुद' नेपाली साहित्य जगतलाई कविता शर्माले दिएको अमूल्य उपहार हो र यो कविता कृतिलाई काव्यरसिक पाठकवर्गले अवश्य रुचाउनेछन्।
-०-
अर्जुन निरौला विश्वनाथ, असम, भारत। Ph-918473807646
nepallisahitya.comका साथै khagindrakhusi मा आभार...