कृष्ण धरावासीको उपन्यास ‘भ्रान्ति पर्व’ लोकार्पित
२१ असोज, झापा । मदन पुरस्कार विजेता साहित्यकार, लीलालेखनका सफल हस्ताक्षर कृष्ण धरावासीको उपन्यास ‘भ्रान्ति पर्व’ विमोचित भएको छ । शरणार्थी, राधा, आधाबाटो जस्ता चर्चित उपन्यास, झोला कथा सङ्ग्रह सहित विभिन्न विधाका बत्तीसवटा कृतिहरु प्रकाशित गरिसक्नुभएका धराबासीको तेत्तिसौँ कृतिका रूपमा भ्रान्तिपर्व आएको हो । काठमाडौंको पुतलीसडकस्थित ग्रिनलिफ्टको सभाकक्षमा सम्पन्न संक्षिप्त कार्यक्रममा चर्चित समीक्षक तथा लेखक प्रा.डा.रत्नमणि नेपाल र अनलाइन खवरका सम्पादक तथा आख्यानकार वसन्त बस्नेत र स्वयं लेखकले उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।
प्रा.नेपाल र बस्नेतले धरावासीसँगको सान्निध्यताले अनेक लेखकहरूलाई ऊर्जा मिलेको उल्लेख गर्दै प्रस्तुत कृतिले पाठकलाई पढुन्जेल कथावस्तुमा चुर्लुम्म पार्ने बताउनुभयो । कृति पैरवी बुकहाउसले प्रकाशित गरेको उक्त कृति लोकार्पण कार्यक्रम पैरवी बुक हाउस प्रालिका अध्यक्ष अधिवक्ता चन्द्र शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा आफ्ना धारणा राख्तै उपन्यासकार धरावासीले 'प्रस्तुत कृति महाभारतलाई केन्द्रमा राखेर अठार पर्वमा थप हुनेजस्तो गरी एक पर्वका रूपमा शीर्षक चयन गरिएको' भन्ने धारणा राख्नुभएको थियो ।