कृष्ण शरण उपाध्याय पौडेलको कविता विभूति
छन्द : शार्दूलविक्रीडित
देखी स्वप्न अचम्म का जुन हिँडे , ती स्वप्न भेट्नेहरू
लेखी भाग्य निधार मा जुन भिडे , ती दु:ख मेट्नेहरू
आँखा मा जसको छ अग्नि मुटु मा , फुल्दो मरुद्यान छ
त्यस्ता भव्य विभूति का चरण मा , सर्वोच्च सम्मान छ १
अन्धा मानिस का निमित्त जसले , बत्ती र आँखा दिए
लाटा मानिस का निमित्त जसले , वाणी र भाका दिए
आफ्नो देश उचाल्न निम्ति जसमा,आँधी र तूफान छ
त्यस्ता भव्य विभूति का चरण मा , सर्वोच्च सम्मान छ २
दु:खी दीन र हीन निम्ति जसले , मायाँ र मेवा दिए
पुछ्दै आँशु अपाङ्ग निम्ति जसले , टेवा र सेवा दिए
खोजेमा जस भित्र शैल्पिक कला , जीवन्त विज्ञान छ
त्यस्ता भव्य विभूति का चरण मा , सर्वोच्च सम्मान छ ३
बल्दो ज्योति बनेर नित्य जसले , कालो अँध्यारो चिरे
धर्ती को सुख निम्ति मृत्युमुख मा , जो वीर बन्दै छिरे
बूढा भग्न र रुग्ण निम्ति जसमा , श्रद्धा दया दान छ
त्यस्ता भव्य विभूति का चरण मा , सर्वोच्च सम्मान छ ४
जो हुन् प्रेरक चेतना भुवन कै , जो कर्म गर्छन् महान्
जो हुन् साधक तेजिला सृजन कै,जो धर्म गर्छन् महान्
जो द्वारा धरणी अलङ्कृत भइन् , जो भित्र सन्धान छ
त्यस्ता भव्य विभूति का चरण मा , सर्वोच्च सम्मान छ ५
मूर्च्छा देखि जगाउँदै गति दिने , जो ज्ञान का मूर्ति हुन्
सारा भ्रान्ति भगाउँदै मति दिने,जो बुद्धि हुन् जुक्ति हुन्
रच्छन् जो रचना विचित्र जहिल्यै जो भित्र उत्थान छ
त्यस्ता भव्य विभूति का चरण मा , सर्वोच्च सम्मान छ ६