गायिका सृष्टि हिङमाङ मनमाया स्मृति संगीत पुरस्कारबाट पुरस्कृत
झापा १६ जेठ /गायिका सृष्टि हिङमाङलाई´मनमाया स्मृति संगीत पुरस्कार २०८३´ प्रदान गरिएको छ।
शनिबार मनमाया बान्तवा स्मृति प्रतिष्ठानका अध्यक्ष गजलकार निहाङ किराँती,कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार केशव आचार्य,विशिष्ट अतिथि प्राज्ञ मुनाराज शेर्मा,युद्ध कवि नरेश काङमाङ ,आख्यानकार श्याम सिंघक कवि विराट किराती लगायतले गायिका सृष्टि हिङ्माङलाई सम्मान पत्र,दोसल्ला सहित २० हजार ५ रूपैयाँ नगद राशीको ‘मनमाया स्मृति संगीत पुरस्कार २०८३’ बाट पुरस्कृत गरिएको हो।
कार्यक्रममा पुरस्कृत स्रष्टाको परिचय कवि तेजेन्द्र घिमिरेले गरेका थिए भने मनमाया बान्तवा स्मृति प्रतिष्ठानको परिचय र योगदानको बिषयमा विशिष्ट अतिथि प्राज्ञ मुनाराज शेर्माले बोलेका थिए ।
लामो समयदेखि संगीतको विकास र उन्नयनका निम्ति अमूल्य योगदान गर्नुहुने सृष्टि हिङमाङले बहुचर्चित गीत पूर्वै रमाइलो, मनमा माया,तिमीले छाड्यौ,अरुकै हातले,तिम्रो छातिभित्र मुटु चल्छ मेरो तिम्रै माया लाग्दछ साईला जस्ता चर्चित गीतहरूमा आफ्नो स्वर दिइसकेकी छिन् ।
उर्लाबारी नगरपालिका मोरङ निवासी हिङमाङले संगीतकार तथा गायक मिथुन शिवासँगको वैवाहिक जीवनमा बाँधिएर धेरै गीतमा सहकार्य गर्नुभएको छ।
`कला,साहित्य र संगीतमा समर्पित´मनमाया बान्तावा स्मृति प्रतिष्ठान शिवसताक्षी नपा.-१, धरमपुर,झापामा२०७५ सालमा स्थापित संस्था हो।छोराहरू साहित्य स्रष्टा विराट किराँती,शिव किराँती र निहाङ किरातीले ममतामयी आमा मनमाया बान्तावा “रुछेङबुङ" को स्मृतिमा मनमाया बान्तावा स्मृति प्रतिष्ठान स्थापना गरी प्रतिष्ठानद्वारा हरेक वर्ष साहित्य / कला / संगीत मध्ये एकजना विशिष्ट व्यक्तिलाई मनमाया
बान्तावा स्मृति पुरस्कार २०७५ सालदेखि प्रदान गरिदै आएको छ।
यस अघि कविता नेपाल (कला),प्रकाश थाम्सुहाङ (साहित्य), रोहित खपाङ्गी (संगीत),कविता राई गाउँले(साहित्य),बिमला तुम्खेवा(साहित्य), काङमाङ नरेश राई (साहित्य) श्याम सिंघक (साहित्य) पुरस्कृत भइसकेका छन् ।
कार्यक्रममा कविहरु अभागी थेगुवा,सेलिङ केसी,राजकुमार सुब्बा अनिश्चित,रुमानी कुलुङ,युग युगी राई,समाजसेवी चन्दवीर नेम्वाङ,निर्मला प्रधान,गजलकार कृष्ण कास्यप लगायतका स्रष्टाहरुको उपस्थिति रहेको थियो।
युद्ध कवि नरेश काङमाङले शुभकामना मन्तव्य राखेको कार्यक्रममा शिव किरातीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन दिलिप घिमिरेले गरेका थिए।