कृष्णे र श्यामे

खगिन्द्रा खुसी · असार १४, २०८१ ९:५१ PM
Cover Image for News

जब बिहान हुन्छ
तब मलाई 
उनीहरूकै यादले
 सताउने गर्छ,
कतारमा गएको कृष्णे
 दुबइ बसेको श्यामे
 के गर्दा हुन् अहिले?
बिहानै खेताला जाँदा
 पर्म तिर्न 
पर्म लाउन
 बेसीतिर झर्दा
 देउरालीको चौतारीमा  पुगेर
सुसेली हान्दै  सबै खेताला डाक्थे
 असारे गाउँथे
 ख्याली र पालम भाकाको  सुर
र तालमा नाच्थे
 त..ल खायल खेतमा
 दमाहा, सनही र नर्सिङ्गा बोकेर
 धने र बिरेले
 ख्याली भाकामा  पञ्चै बजाउँदा
 सबैजना नाच्न थाल्थे
 हिलोमा  आलीमा
 खामारे गह्रामा  बिउको ब्याडमा 
आ-आफ्नै सुरमा  बेसुर देखिन्थे 
कला संस्कृति र  श्रमको त्रिबेणीमा 
गाउँ परिवेश मुस्कुराउँथ्यो।
 अचेल गाउँका  धेरै अल्लरेहरूकाे
 चहलपहल प्राय शून्य छ,
गाउँ छोडेर शहर
 शहर छोडेर बिदेश
 पलायन हुँदैछन् जवानीहरू,
एकान्तमा गाउँ परिवेश 

शून्य शून्य भएको छ
 चौतारी मुनिको अररीका काँडाघारीमा
 न्याउली बिरहले रुँदैछ
 अलि प.. र पाखमा
 पयुँको रुखमा बसेर
 कोयलीले भाका फेर्छ
 उराँठ लाग्दो पो छ त,
तुल्बुलाउँछ मन
 बिरहले दिन दिनै
 चिथोर्छ,  कोपर्छ,  दार्छ र पोल्छ 
गहिरो खत बसेकोछ मनमा ।
 बिचरा कृष्णे र श्यामे
 कहाँ नाच्दा हुन्?
त्यो मरुभूमिको
 तातो बालुमा त
 हल नार्नु पनि नपर्ला
 समाहा झार्नु पनि नपर्ला
 अर्म  पर्म पनि लाउनु पर्दैन होला
 रोपाई चल्दैन
 बेठी लाइदैन
 मर्चुङ्गा बज्दैन
 पञ्चैबाजा कसले बजाउला र ?
खमारे गह्रामा
 भकारी बाँधेर
 छमछमी कहाँ नाच्छस हौ कृष्णे?
बाउसे कहाँ गर्छस हौ श्यामे अब ?
चप्लेटी ढुङ्गामा बसेर
 दोपहरे पनि खान पाउँछस् र श्यामे ?
तेरो सिर्जनशील युवा श्रमशक्ति
 पराई भूमिको बालुवामा 
जवानी जति पोखेर
 सुन फलाइदिन्छस्
 यहाँ उर्वर माटोमा
 मृत्यु रोप्न मात्र आइपुग्छस् ,
बाँझोमा परिणत हुँदैछ
 तँ जवानी उतै मारेर
 देश समृद्धिको कामना गर्छस्
 समृद्धि ल्याउन त
 आफ्नै देशमा परिश्रम रोप्नुपर्छ
 सिर्जना छर्नुपर्छ
 बिकास उमार्नुपर्छ
 अनि पो आउँछ त हौ कृष्णे बिकास,
तिमी कृतिम सुखमा हराउछौ
 यहाँको प्राकृतिक आनन्द बिर्सिन्छौ  

अब  कसले भर्छ हौ ? 

कृष्णे आमाको सपना
 बा को तृष्णा
 परिवारको आशा र 
 देशको समृद्धि 
मलाई त याद आइरहन्छ
 तिनै कृष्णेहरुको
 उनै श्यामेहरूको ।

 

राम आचार्य पुषपप्रेमी

बुद्धशान्ति- झापा

ट्यागहरू:
सहित्य कविता literature
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
बुवाको पुकार
बुवाको पुकार
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार १८ अक्टोबर २०२४
दशैैं विशेष कविता
दशैैं विशेष कविता
पोष्ट खगिन्द्रा खुसी - शनिबार १२ अक्टोबर २०२४
नारीहरूप्रति
नारीहरूप्रति
खोलाघरे साहिँलो पोष्ट खगिन्द्रा खुसी - शुक्रबार ११ अक्टोबर २०२४
हुन्न ?
हुन्न ?
उद्धव न्यौपाने पोष्ट-दिलिप घिमिरे - मङ्गलबार ८ अक्टोबर २०२४