मासिक कथावाचन अभियान कार्यक्रमको २४औँ शृंखला सम्पन्न
झापा । कथा साहित्यको पुनर्जागरण अभियानलाई निरन्तरता दिन लागि परेको मासिक कथावाचन अभियानले कार्यक्रमको २४औँ शृंखला सम्पन्न गरेको छ । हरेक महिनाको अन्तिम शुक्रबार आयोजना हुने कार्यक्रममा यसपटक दिवंगत स्रष्टाको कथावाचनअन्तर्गत शारदा पत्रिकाको १९९७ सालको अंकबाट स्रष्टा विश्वेश्वरप्रसाद कोइराला र सुशीला कोइरालाको संयुक्त लेखनको कथा ‘द्वन्द्वप्रेम’ वाचन गरियो । शारदाको वर्ष ६ संख्या १ मा प्रकाशित यो कथा पवित्रा अधिकारीले वाचन गरिन् । उक्त कथावाचनपछि कथाकार इस्मालीले ‘घर’, धीरकुमार श्रेष्ठले ‘मर्ने एउटा कोठा’, गंगा कर्माचार्य पौडेलले ‘छोराको कमाइ’ र बिन्दु अधिकारी ढकालले ‘बुहार्तन’ शीर्षकको आआफ्ना कथा वाचन गरे । वाचन गरिएका कथाहरूमाथि मोहन चापागाईं र ज्ञाननिष्ठ ज्ञवालीले टिप्पणी गरेका थिए । कार्यक्रममा अभियानका परिकल्पनाकारहरू पुष्कर लोहनी तथा चन्द्रप्रसाद भट्टराईले मासिक रूपमा आयोजना हुने कार्यक्रममा कथासाहित्यमा रुचि राख्ने लेखक, पाठक, पत्रकार र समालोचकहरूको सहभागिता बढ्दै गएकोमा खुसी व्यक्त गरे ।