कवि रोशन परियारको “पाख्रीबास” कविताको शिलालेखीकरण
झापा,८ मंसिर । धनकुटाको पाख्रीवासमा प्रखर कवि रोशन परियारको “पाख्रीबास” कविताको शिलालेखीकरण भएको छ । धनकुटाको पर्यटकीय नगर पाख्रिबास नगरपालिका –४ मा नवनिर्मित पाख्रीपार्कमा ‘पाख्रीबास’ शीर्षकको उक्त कविताको गत मंसिर ५ गते सम्पन्न कार्यक्रमका बीच नगर प्रमुख ज्ञान बहादुर गुरुंगले अनावरण गरेका हुन् ।
पाख्रीबासको नामाकरणका बारेमा खोज अनुसन्धानलाई आधार बनाएर कविताको रचना गरिएको कविले बताए । पाख्रीबासका ऐतिहासिक व्यक्तित्वहरूले विभिन्न क्षेत्रमा दिएका अतुलनीय योगदानलाई जीवित तुल्याउने हेतुले कवितामा स्मरण गरिएको कुरा कविले बताएका छन् ।
प्राकृतिक सुन्दरता , भौगोलिक परिवेश , बदलिदो हावापानी , आर्थिक तथा सामाजिक जनजीवन , कृषि , रोजगारी एवम् स्थानीय सांस्कृतिक मूल्यमान्यतालाई केन्द्रमा राखेर कवितालाई चित्रण गरेको कुरा उनले बताए । विविधतामा एकताको सन्दर्भलाई समेत कविताको विषय बनाएर अनेकौँ भाषाभाषी , धर्म , परम्परा साथै बहुजातीय समाजको समान पहिचानलाई पनि कवितामा आएको कुरा कविले बताए ।