हेर्ने भए आउनु
सारा भूतलको अलौकिक कला हेर्ने भए आउनु
मेरा पश्चिममा रमाइ तिमीले फेर्ने भए आउनु
खोड्पेबाट हिमाल हेर्नु सहजै तान्नेछ तिम्रो मन
धर्तीको अति सौम्य वाग हरियो हो बैतडी पाटन
ठूलो ताल कमालको शिखरमा पत्तालभुमेश्वर
पाली बह्मपुरी छ वेद अथवा हो सारदाको घर
काली कोमल बालुवा बगरमा जान्छिन् बिछायी कन
चौलानी पनि चाँदनी चमकले तान्छिन् वसन्ती मन
मानौ द्वार बनेर स्वर्गतिरको सत्बाँझले बस्दछ
नौगेडीवन मल्ली दे भगवती खेल्छिन् हिङालो पर
पढ्छिन् वेद वसन्तमा कुहँुकुहूँ ग्वाल्लेकमा कोकिला
हाम्रा फाग धुमारि चैत सगुना छन् देउडा चोटिला
आधा जून लजाउँछिन् शिखरकी शोभा बनी माथमा
खेल्छन् शावक मृगका निडर भै त्यो चाँदनी रातमा
राता फूल गुराँस मस्त वनमै माला बनी फुल्दछन
नाना राग अलापी मस्त भमरा ती फूलमा चुम्दछन
इन्द्रेणी नवरङ्गमा वनविशे झर्छिन् दुपट्टा बनी
उड्छन् मन्द वतासमा गजबले बेला हरिया पनि
यस्तो सुन्दर वागमा हरिणका पाठाहरू डुल्दछन
बस्छन् बाघ समेत शान्त वनमा हिंसा सबै भुल्दछन
केरा मौसमी सुन्तला गलगलै लिखू खुदो दाडिम
चोतोमा नुन चूख मस्त धनिया चाखी अघाऊ मन
तित्मल्या, तिमुला र ओखर तथा आरु घङारुहरू
पाक्छन् काफल जेठमा वनवनै खाएर जानु बरु
साली धान भुटी कुटेर त्यसमा थोरै भमीरो मिसी
दाते ओखरको गुदी गजबले मिस्री त्यसैमा पिसी
डुब्का तौड गिठा लिचे गुड पिणौ माणा मिठा रोट यी
खाँदै फाग सुनेर आत्मदिलका भाग्लान् सबै चोट ती
नाँच्छन् नाँच बराँतमा बिजुलका घुम्दै छलियाहरू
पुर्खाको इतिहासका सबकुरा खोल्छन् गीदारा अरु
यो आफै कविता छ मुर्ख कविमै सङ्गीत खै के रचुँ
यस्तो सुन्दर बैतडी नगरमा जन्मेर नै धन्य छु
ए यात्री म हुँ बैतडी नगरकै जोगी भनौ या ऋषी
आऊ जाऊ लगेर आत्म दिलको माया त्यसैमा मिसी
मेरा बैतडीको मनोरम कला देख्ने भए आउनु
भर्दै भाव मिठा कथा र कविता लेख्ने भए आउनु
कविराज भट्ट
द.न.पा. ०२ देहिमाण्डौँ, बैतडी
हाल महेन्द्रनगर, कञ्चनपुर
धेरै राम्रो कविता।পঢ়ি ভাল লাগিছে।সুন্দৰ।