गाउँमा सहर पसेपछि

रीता पोख्रेल पोष्ट-दिलिप घिमिरे · भदौ २, २०८१ ६:०९ AM
Cover Image for News

गाउँमा सहर पसेपछि
                              -रीता पोख्रेल 

गाउँमा डोजर चलेपछि 
 फेरिएको हो गाउँको चलन
 बाटो खुल्यो 
 मोटर चल्यो
 मोटर चलेसँगै 
 पाइतालाहरूले लेक बेँसी धाउनै परेन
 चौतारीमा लैबरी गाउनै परेन ।

आधुनिकताले घेरिएपछि 
 फेरियो घरको शिर
 चलन कस्ता कस्ता आए
 सहरबाट जस्ता आए
 त्यसपछि त खर काट्न परेन
 फेरि बाबियो बाट्न परेन ।

विजुली आए पछि 
 फेरियो गाउँको शान
 चाडबाडमा पाला बालिन्थ्यो 
 पाला नभए दुनामा बाती 
 एक रोपनीको आगन, 
 आगनका डिलभरी बाबरी फुल्थे
 ओरीपरि  पिँडी हुन्थ्यो 
 र पो पिँँडीभरी सन्तति हुन्थे
 सन्तानका रहरले खुड्किला चढेपछि
 काठको भर्याङ् झिके, पिँँडी भत्काए
 सिमेन्ट मगाए ,सिँडी बनाए
 अचेल बिजुलीकै झिलिमिलिमा 
 छ घर आँगन
 अब पाला,दुना किन पो चाहियो ?
 न चाहियो धागो बत्ती
 बुढा, तिमीले सालको पात टिप्नै परेन
 मैले पिँडी लिप्नै परेन ।

गाउँमा रेडिमेड पसल खुलेपछि
 छोराछोरी भन्थे साह्रै सुख पाइयो 
 भन्थे जाँतो पिस्न परेन, 
 ढिकी कुट्न परेन, मकै भुट्न परेन
 न छड्काउनै परो खट्टे सिरौँला
 गुन्द्रुक भटमास साँध्न परेन 
 खरानीले भाँडा माझ्न परेन । 

 टारीखेत बन्डा भएसँगै 
 बन्डा भए सन्तानका मन 
 धुरी बढे जहान रित्तिए
 मेरो मनमा भने नरोकिने पहिरो गयो 
 पुरिए पहिरोभित्रै थुप्रै सपना र चाहनाहरू
 गाउँ र सहरको मतलव बुझियो
 सुखैले त त होला उमेर छँदै शरीर कुँजियो
 मोटर चढेर आएपछि सहरिया बतास 
 सन्तान उडायो 
 संगै उडे गाउँका रीति संस्कृति 
 अहिले गाउँमा पर्म चल्दैन पैँचौ चल्दैन
 पहिलेझैँ खेतभरी बाली फल्दैन
 मायाँ  हरायो, विश्वास हरायो
 बुढेसकालमा सन्तानको आस हरायो ।

मान्छेबाट मानवता मासिदै गएदेखि 
 मासिदै गएको हो बन 
 चराहरू खै कता बसाँई सरे कुन्नि?
 अवका सन्तानले कसरी छुट्याउलान्
 कोइली र कागको आवाज  
 मान्छे मात्रको सहरमा धुरी बिनाका घर
 परेवाले घुर्न पाउलान् न पाउलान्
 ढुक्कुरले चर्न पाउलान् न पाउलान् 
 नानीहरू पैसाले सबथोक किन्छौँ भन्छन् 
 गुगलबाटै संसार चिन्छौँ भन्छन् 
 किन्न त किन्लान् सुख सुविधा 
 चिन्न पनि चिन्लान् भर्चुअल संसार 
 तर पनि चिन्ता लाग्छ,
 त्यो सहरमा माया किनेर पाउलान् न पाउलान् ?
 विवेक खोजेर पाउलान् न पाउलान् 
 समाज र सम्बन्धहरूको किनबेच के कसो छ? 
 जन्ती त चाहिन्न क्यारे कागजी विहेमा।
 भोज खाइन्छ खाइन्न रत्यौली गाइन्छ गाइन्न
 दु:ख सुख साट्ने द्यौराली चौतारी छन् कि छैनन् 
 थाहा छैन संवेदना किन्न पाइन्छ पाइन्न ?
 मलामी चाहिन्छ चाहिन्न ?
                                  इलाम 

ट्यागहरू:
literature
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
रोहिणि रसिकको कविता समयको उद्गार
रोहिणि रसिकको कविता समयको उद्गार
रोहिणि रसिक पोष्ट - खगिन्द्रा खुसी - बिहिबार १४ नोभेम्बर २०२४
अभाव
अभाव
रोशन परियार - मङ्गलबार ५ नोभेम्बर २०२४
महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कविता - मृत्यु शैयाबाट
महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कविता - मृत्यु शैयाबाट
महाकवि लक्ष्मीप्रसाद देवकोटा पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार १ नोभेम्बर २०२४
आत्मकल्याण छिन्छिन
आत्मकल्याण छिन्छिन
कोषराज न्यौपाने पोष्ट- खगिन्द्रा खुसी - शुक्रबार १ नोभेम्बर २०२४