गणेशराम लाछीका चार कृति लोकार्पण
झापा पुस १५ गते । काठमाडौँमा एकै दिन एकै स्रष्टाका चार कृति लोकार्पण भएका छन् । कार्यक्रममा संस्कृतिविद् गणेशराम लाछीका चार कृति सार्वजनिक भएको छ । मध्यपुर थिमिमा शनिबार लाछीका ‘सिक्किम यात्राका सेरोफेरो’, ‘अमूर्त सम्पदाभित्र’, ‘हेंग्वाः जूम्ह मनू’ र कय्ता तंम्ह नेवाः’को सार्वजनिक भएको हो । कृतिहरुको मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, नेपाल भाषा एकेडेमीका कुलपति मल्ल के सुन्दर तथा भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
नेपालीमा लिखित ‘सिक्किम यात्राका सेरोफेरो’ र ‘अमूर्त सम्पदाभित्र’ गैरआख्यान कृति हुन् भने नेपाल भाषामा लिखित हेंग्वाः जूम्ह मनू (खाक भइसकेको मान्छे) उपन्यास र कय्ता तंम्ह नेवाः (लङ्गौटी हराएको नेवार) प्रहसन सङ्ग्रह हो । कार्यक्रममा दबुली नेपालले नेपाली भाषामा लेख्ने नेवार समुदायका चार लेखकलाई तेजकृष्ण–नानीमाया लुमना हना (स्मृति सम्मान) प्रदान गर्यो । संस्कृतिविद् लाछीले आफ्ना पिता र माताको स्मृतिमा स्थापना गरेको उक्त सम्मान कास्कीका तीर्थ श्रेष्ठ, भक्तपुरका अभय श्रेष्ठ तथा रत्न प्रजापति र काभ्रेका सूर्य लाकोजूलाई प्रदान गरिएको हो । मेयर श्रेष्ठले उहाँहरूलाई सम्मानपत्र प्रदान गर्नुभयो ।