गण्डकीपुत्रको कविता - एउटी आमाको बयान !

गण्डकीपुत्र पोष्ट खगिन्द्रा खुसी · वैशाख २२, २०८२ ११:०० PM
Cover Image for News


  म जन्मेकै दिन
 घरमा जम्मा भएका
 काकीहरु , सानिमाहरु र फुपुहरुले
 हास्दै ऐलान गरिदिए अरे
 अर्काको घर जाने जात
 अब गाग्री किन्नु पर्छ
 खड्कुलाको जोहो गर्नु पर्छ
 आमा भन्नू हुन्थ्यो
 छोरी तिमी जन्मिएकै दिन
 तिम्रो बिदाइको कुरा चलेको थियो
 साल नालबाट छुट्याएर धोइएकी म
 मेरो शरिरको गर्भे चिसो सुक्न नपाउदै
 मलाई बेहुलीको रुपमा
 सिंगारिएको थियो अरे ।
 
 जब म बोल्न थाले
 आमाले भन्नू भो
 धेरै बोल्नु हुन्न छोरी
 अर्काको घर जाने जात
 मलाई लाग्यो
 मेरो नाम थर गोत्र
 अर्काको घर जाने जात भएछ
 म , म नभएर
 मानौ अर्कै केही हुँ
 देबि बनाएर बोल्न निषेध गरिएको
 ढुङ्गाको मुर्ती
 या भित्तामा टागिएको
 समय बताउने घडी
 जहाँ पेण्डुलम भएर हल्ली रहन्छ
 मेरा जिजिबिषा इच्छा र चाहनाहरु
 पेण्डुलम नै भएर चुपचाप ।
 
 समय फेरियो भन्छन
 तर उस्तै छ मेरि हजुर आमा र
 मेरो कथा ।
 अरुणा लामाले गाएको गित जस्तो
 बेदनाको सुस्केरा छ छातीमा
 उनकै स्वर सङ्गै रुन्छ
 म जस्ता आइमाईको मुटु
 मेरा रहरहरु , सपनाहरु
 उन्मुक्त भएर हास्ने कुरा
 सबै अरुबाटै निर्देशित हुन्छ
 म हिडेको , हासेको
 साथीहरु सङ्ग रमाइलो गरेको
 हरेकको परीक्षा लिइ रहन्छ
 परबाट एउटा पुरुष
 सिनेमा घर , कफि सप
 रेष्टुराँ या चिडियाखाना
 एक्लै हिड्न बर्जित छ मलाई
 बर्जित छ एक्लै बसेर खान
 चिसो बियर या तातो मम ।
 
 ब्यभिचारको पर्याय
 अर्धचेत भएको एउटा पुरुष
 उभिन्छ म हिड्ने बाटोमा
 उस्ले ठिक भने म ठिक हुन्छु
 उस्ले गलत भने म गलत हुन्छु
 मेरो जीवनको न्यायाधिष
 मेरो जीवनको अदालत
 मानौ उही हो
 उसैको फैसलाले
 मेरो न्याय अन्याय तोकिन्छ
 म मेरो मनको इजलासमा
 बयान दिन नपाई पटकपटक
 पराजित बनाइन्छु अपराध नगरी ।
 
 रगत बगाएर जन्मदिने म
 मुटु निचोरेर दुध ख्वाउने म
 मलाई नै बन्दी बनाउछ छोरो
 र भन्छ
 आमा तिमी केही जान्दिनौ
 आमा तिमी केही बुझ्दिनौ
 यस्तो लाग्छ
 मैले नजानेरै जन्माएको उस्लाई
 मैले नजानेरै हुर्काए उस्लाई
 किन जान्ने भएका
 यी लोग्ने मान्छेहरु
 के आईमाईलाई नजान्ने बनाएको यहि एकधर्को सिन्दुरले हो र ?

ट्यागहरू:
सहित्य कविता literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
प्रिय जेन्जी र आक्रोश!
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५
म तिम्रो बागी हुँ !
म तिम्रो बागी हुँ !
देशु वनेम - सोमबार १० नोभेम्बर २०२५
खरानीको आत्मकथा !
खरानीको आत्मकथा !
कवि डाक्टर नवराज लम्साल - आइतबार ९ नोभेम्बर २०२५
कोल्पुको कलकल तीरमा
कोल्पुको कलकल तीरमा
कलानिधि दाहाल पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार ४ नोभेम्बर २०२५